१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बजेट खर्चको प्रतिशत बढ्ने गरी काम गर्नू’

गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ। समितिले शुक्रबार अर्थमन्त्री रामजीप्रसाद बरालसँगको छलफलमा अघिल्ला वर्षहरूमा खर्च प्रतिशत कम देखिएकाले चालु वर्षमा बजेटको खर्च प्रतिशत बढाउने गरी काम गर्न निर्देशन दिएको हो।  

समितिका सभापति दीपक कोइरालाले भने, ‘पहिलो वर्षभन्दा दोस्रो वर्ष खर्चको प्रतिशत केही बढेको देखिन्छ, तर अझै सन्तोष मान्ने अवस्था छैन, त्यसैले चालु वर्षमा बजेटको खर्च प्रतिशत बढाउने गरी काम गर्न समिति निर्देशन दिन्छ।’  

उनले असारमा खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नसमेत निर्देशन दिए। ‘प्रायः खर्च अन्तिम चौमासिकमा गर्ने प्रवृत्ति छ, त्यसमा पनि अधिकांश बजेट असारमा नै खर्च गर्ने गरिन्छ, यसले गर्दा कामको गुणस्तर पनि हुँदैन अनि खर्च पारदर्शी पनि हुँदैन, त्यसैले समयमै काम गर्ने वातावरण बनाउनुस्।’

समितिले संस्थागत र नीतिगत रूपमा हुने भ्रष्टाचार अन्त्य गर्न पनि निर्देशन दिएको छ। ‘अरू भ्रष्टाचार कम हुँदै गएको छ, तर नीतिगत रूपमा र संस्थागत भ्रष्टाचारले गाँजेको छ, त्यस्तालाई कारबाही गर्ने स्थिति पनि बन्दैन, त्यसैले यसको अन्त्य गर्न समिति निर्देशन दिन्छ,’ उनले भने।  

समितिले प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउने योजना बनाउन निर्देशन दिएको छ। समितिका सभापति कोइरालाले भने, ‘प्रदेश आर्थिक रूपमा बलियो नभएको र गाडी लगायतका सुविधा लिँदा संघीयता महँगो भयो भन्ने आवाज आइरहेको छ। त्यसैले प्रदेशलाई आर्थिक रूपमा सबल बनाउन जरुरी छ। त्यसका लागि करको दायरा कसरी बढाउन सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन समिति सुझाव तथा निर्देशन दिन्छ।’ समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री बरालले संघीयताको मूल मर्म अनुसार काम गर्ने प्रतिबद्धता जनाए। 

प्रकाशित: ७ भाद्र २०७८ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App