८ वैशाख २०८१ शनिबार
अर्थ

गोसाइँकुण्डमा ५ हजार तीर्थयात्रीले मेला भरे

गोसाइँकुण्ड । तस्बिरः हिमनाथ/नागरिक

रसुवामा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले मेला भरेका छन्। नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लागेको मेलामा करिब ५ हजार जना तीर्थयात्रीले मेला भरेका हुन्।  

हरेक वर्ष गोसाइँकुण्ड मेलाको व्यवस्थापन गर्दै आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले यसपटक कोभिड–१९ कारण मेला स्थगित गरेको थियो। मेला स्थगित गरिएतापनि सवारी साधनहरू सञ्चालन भएका कारण तीर्थयात्री आएका हुन्। दुई वर्षयता समितिले मेला व्यवस्थापनको काम गरेको छैन। मेला सञ्चालन नगर्ने निर्णय गरिएकाले मेला व्यवस्थापन नगरिएको समितिले जनाएको छ। गत वर्ष पनि करिब १ हजार तीर्थयात्रीले मेला भरेका थिए।  

जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा १० दिनसम्म मेला लाग्छ। गोसाइँकुण्डमा तीर्थ भर्न तथा सूर्यकुण्ड भञ्ज्याङसहितको साहसिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी नागरिक आउने गरेका छन्। जैविक विविधता र भूगर्भशास्त्रको अध्ययनका लागि समेत गोसाइँकुण्डमा पर्यटक आउने गरेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। केही वर्षअघिसम्म मेलाको समयमा मात्रै तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय अन्य समयमा समेत आउने गरेका छन्।  

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन्। त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटाे छ।  

काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो। काठमाडौँबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ।  

त्यसैगरी काठमाण्डौँ–सुन्दरीजल/हेलम्बु–ठाडेपाटी बाटो आउँछ। धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन्। तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइँदैन।  

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्सेनी हजारौँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन्।  

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँबाबा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ।  

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन्।

प्रकाशित: ६ भाद्र २०७८ ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App