१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जुम्ला विमानस्थलको डिपिआर अलपत्र

जुम्ला विमानस्थलको स्तरवृद्धिका लागि बनेको डिपिआर अलपत्र परेको छ। दुई वर्षपहिले नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्न डिपिआर बनाएका थिए।  

डिपिआरमा स्तरोन्नति गर्न करोडभन्दा बढी लाग्ने अनुमान छ। विमानस्थल स्तरोन्नतिमा नेपाल नागरिक उड्डयन प्राधिकरणले चासो नदिएको सरोकारवाला बताउँछन्। तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीले जुम्लामा ४० सिटको जहाज अवतरण गर्न मिल्ने विमानस्थल बनाउने वचन दिएका थिए। उनको निधन भएपछि यसबारे कसैको ध्यान पुगेको छैन।  

साँघुरो धावनमार्गका कारण विमानस्थल जहाज अवतरणमा समस्या हुने चालक बताउँछन्। २०७५ जेठ २६ मा तारा एयरको जहाज धावनमार्गमै दुर्घटनामा परेको थियो। त्यो दुर्घटनामा मानवीय क्षति भने भएन। उक्त दुर्घटनापछि विमानस्थल स्तरोन्नतिको पहल सुरु भएको थियो। प्राधिकरणको टोली स्तरोन्नतिको लागि पटकपटक जुम्ला पुगेर फर्किएको छ। डिपिआर समेत बनेको छ। तर काम अघि बढेको छैन। जुम्ला विमानस्थलमा दैनिक ३ देखि ५ उडान हुन्छ।

साँघुरो धावनमार्गमा जोखिम मोलेरै भए पनि उडान भर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ। तारा एयरका पाइलट प्रभाकर घिमिरे धावनमार्ग जति लामो भयो उति नै सुरक्षित र भरपर्दो हुने बताउँछन्। जोमिखबीच उडान–अवरतण गर्नुपर्ने बाध्यता रहेको उनले बताए।  

‘जस्तो सुकै छोटो धावनमार्ग भए पनि विभिन्न तरिकाले उडान अवतरण गर्छौं,’ पाइलट घिमिरेले भने, ‘फराकिलो र लामो धावनमार्ग हुँदा ढुक्क हुन्छ।’ जुम्ला विमानस्थलका प्रमुख प्रकाश शर्मा चाप हेर्दा यहाँ ठूलो जहाज उडाउन सकिने बताउँछन्। ‘त्यसका लागि विमानस्थलको स्तरवृद्धि आवश्यक छ,’ उनले भने, ‘डिपिआर बनिसकेको छ। कार्यान्वयन आवश्यक छ।’ हाल यो विमानसथलमा १८ सिटे जहाजले उडान भर्छन्।

कर्णालीका जिल्लामध्ये जुम्लामा हवाई यात्रुको चाप बढी भएकोले टिकट नपाउने समस्या छ। त्यसैले विमानस्थल स्तरोन्नति गरेर ठूला जहाज उडाउन सकिने शर्माले बताए। जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा दुई वर्षपहिले नै डिपिआर तयार भए पनि नागरिक सम्बद्ध निकायले चासो नदिएको बताउँछन्। उनले भने, ‘नागरिक तहबाट विमानस्थल स्तरवृद्धि हुनुपर्ने माग भइरहेकोले प्राधिरकणले ढिला नगरी काम सुरु गर्नुपर्छ।’

प्रकाशित: ६ भाद्र २०७८ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App