१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने

मनाङका बाढीपीडितलाई गण्डकी प्रदेश सरकारले विशेष राहत दिने भएको छ। प्रदेश सरकारले बाढीले पूर्ण रूपमा क्षति भएको घर निर्माणका लागि प्रतिघर २ लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।

बाढीले पुर्‍याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बरालले सोमबार मनाङको नासों गाउँपालिकाका दुई ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन गरेका छन् । स्थानीय बाढीपीडितसँगको अन्तरक्रियाका क्रममा मुख्यमन्त्री पोखरेलले बाढीले पूर्ण क्षति  पुर्‍याएका घर निर्माणका लागि प्रतिघर २ लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरे।

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए। मुख्यमन्त्री पोखरेलले लम्जुङको बेसीसहरदेखि मनाङको चामेसम्मको सडक खुलाउन संघ सरकारले काम थालिसकेको र तालसम्म गाडी चल्न थालिसकेको बताए । त्योभन्दा माथि पनि अहिले धमाधम काम भइरहेको छ।

मुख्यमन्त्री पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर संघ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता जनाए । संघीय सरकारले यसअघि नै मनाङलाई विपद संकटग्रस्त घोषणा गरिसकेको छ। जिल्लामा विभिन्न बस्तीको पुनर्निमाणका लागि आफूले केन्द्रसँग समन्वय गरिरहेको पोखरेलको भनाई छ ।

यसअघि नै मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयमा सोलार जडान गरिसकेको छ। 

प्रकाशित: ४ भाद्र २०७८ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App