३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

लगानीको प्रतिफल आवश्यक

अर्थमन्त्री जनार्दन शर्माले राज्यले गर्ने लगानीको प्रतिफल गरिब जनताको मुहारमा झल्किए मात्र त्यसको अर्थ हुने बताएका छन्। देशको अहिलेको आवश्यकता उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु रहेको भन्दै उनले सो अनुरूपको नीति र कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

गत आर्थिक वर्षको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै शर्माले वैदेशिक रोजगारीबाट आर्जन गरेको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्ने गरी नीति बनाउनुपर्ने बताए ।

उत्पादन क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्ने र गरिबी घटाउने कार्यक्रम तय गरी कार्यान्वयमा ल्याउनुपर्ने उनको भनाइ छ। शर्माले घाटामा रहेका सार्वजनिक संस्थानको कुरा अब धेरै सुन्न नसकिने भन्दै तिनलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना माग गरे। ‘सार्वजनिक संस्थानको घाटाको कुरा कति वर्षसम्म उच्चारण गरिरहने हो ? कति वर्षसम्म घाटाको रिपोर्ट देखाएर बस्ने हो ?’ उनले प्रश्न गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले अर्थतन्त्रको दिगो स्रोत व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। जलविद्युत् र सिमेन्ट उद्योगलाई व्यवस्थित गरेको तिनले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन स्रोतको काम गर्ने विचार उनले व्यक्त गरे। पौडेलले समाजमा भएको असमानता घटाउने र सुशासन प्रवद्र्धन हुने खालको कार्यक्रम बनाउनुपर्ने सुझाव दिए। उनले भन्सार बिन्दुमा आयातकर्ताले धेरै दिन कुर्नुपर्ने र ‘वेटिङ चार्ज’ धेरै तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहुलियतपूर्ण कर्जा कार्यविधि, व्यावसायिक ऋण कार्यविधि, नवप्रवर्तनसम्बन्धी कार्यविधि संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले सुधारको लागि गर्नुपर्ने कामहरू संकटको बेला पनि गर्नुपर्ने भन्दै मौद्रिक नीतिमार्फत कर्जा–पुँजी–निक्षेप अनुपात  (सिसिडी रेसियो) खारेज गरिएको स्पष्ट पारे। सिसिडी रेसियो संसारभरबाटै खारेज भइसकेको परिवेशमा राष्ट्र बैंकले हटाएको भन्दै उनले यससम्बन्धी बजारमा केही भ्रम रहेकोले स्पष्ट हुन आग्रह गरे। अधिकारीले विदेशी विनिमय नियमित गर्ने ऐन संशोधनको प्रक्रियामा रहेकोले त्यसलाई छिटो टुंगो लगाउन पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

अर्थसचिव मधुकुमार मरासिनीले कोरोना महामारीका बीचमा मन्त्रालय र मातहतका निकायले राम्रो काम गरेको भन्दै त्यसमा थप प्रगति हासिल गर्नुपर्ने बताए। उनले आगामी दिनमा परिणाम सुधार गर्ने गरी काम गर्न निदेशन समेत दिए। राजस्व संकलनको लक्ष्य पूरा गर्ने, घाटामा रहेका निकायलाई नाफामा लैजाने र बेरुजु घटाउने काममा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

प्रकाशित: १ भाद्र २०७८ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App