१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनसरीको धानबालीमा ‘ब्लास्ट’ रोग

सुनसरीको अधिकांश स्थानको धानबालीमा ‘ब्लास्ट’ रोगको संक्रमण देखा परेको छ। धान उत्पादनको उर्वरभूमि मानिएको पूर्वी तराईको सुनसरीको दक्षिणवर्ती क्षेत्रका भोक्राहा(नरसिंह, कोशी, देवानगञ्ज, बर्जु र गढी गाउँपालिका लगायतका स्थानमा किसानहरुले लगाएको धानबालीमा रोगको संक्रमण देखा परेको हो।  

भोक्राहा नरसिंहका जगदीश मेहताका अनुसार धानको पातमा टीका पर्ने, खैरो, सेतो हुँदै जाने र अन्डा आकारको खैरो फैलँदै जानेजस्ता लक्षण देखा पर्ने गरेको छ। किसानले कृषि प्राविधिकले दिएको सुझाव अनुसार धानमा लागेको रोग नियन्त्रणाका लागि औषधीको प्रयोग गर्दै आएका छन्।  

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवका अनुसार धानमा देखिएको लक्षण ‘ब्लास्ट’ रोग भएको बताए। ‘ब्लाष्ट’ रोगको संक्रमण भएको धानको बिरुवा केही समयपछि पात सुकेर मर्ने गरेको छ। धान बालीमा रोग देखा परेको किसानको गुनासो आएपछि अनुसन्धान गर्दा ‘ब्लास्ट’ रोगको संक्रमण भएको पाइएकोे उनले जानकारी दिए।

धेरै वर्षा भए वा धेरै चर्को घाम लाग्दा पनि यस्तो रोगको संक्रमण हुन सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख उराँवले जानकारी दिए। यस्तो रोगको संक्रमण भएमा धानको बोट नबढ्ने, सुक्ने हुँदै जान्छ। सावित्री जातको धानमा ‘ब्लास्ट’ रोगको संक्रमण छिटो फैलिने र नियन्त्रणमा आउँन केही समय लाग्ने उनले बताए।

जिल्लामा अहिले अधिकांश ठाउँमा सावित्री, राधा, स्वर्णा, लालसरी, बासमति, कान्छी जातको धान किसानहरुले लगाएका छन्। ‘धानबालीमा पानी बढी भएको कारण यो रोग संक्रमण देखिन्छ,’ उराँवले भने। उनले धानमा लागेको रोग नियन्त्रणको लागि किसानले आवश्यक औषधी सिफारिस गरेर प्रयोग गर्न लगाइएको छ। सुनसरीमा यस वर्ष ५५ हजार हेक्टरमा रोपाइँ भएको छ। 

प्रकाशित: ३० श्रावण २०७८ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App