८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

कुलमानको ‘चुनौतीपूर्ण’ दोस्रो कार्यकाल

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। घिसिङले बुधबार प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा पुगेर दोस्रो कार्यकालको कार्यभार सम्हालेका छन्।

सरकारले घिसिङलाई चार वर्षका लागि नियुक्त गरेको हो। ‘म ठूलो चुनौती स्वीकारेर आएको छु। मेरो व्यक्तिगत जीवनमा यो जत्तिको चुनौती अरू कुनै छैन,’ उनले भने, ‘दोस्रो कार्यकालमा आउनै पर्छ भन्ने पनि थिएन। तर प्राधिकरणको आवश्यकता, सरकारको पनि जिम्मेवारी दिने योजना र प्राधिकरणमा फेरि आएर काम अगाडि  बढाउनुपर्‍यो भन्ने जनदबाबकै कारणले यो चुनौती स्वीकार गरेर आएको हुँ। व्यक्तिगत जीवनकै अहिलेसम्मकै ठूलो रिस्क लिएर प्राधिकरणमा आएको हुँ।’ कार्यकारी निर्देशक घिसिङले एक्लै नभएर सबै मिलेर अघि बढ्ने बताए। ‘यो चुनौतीको सामना म एक्लैले गर्ने होइन। नयाँ टिम नयाँ जोस जाँगरसहितले गर्ने हो,’ उनले भने, ‘नयाँ टिमवर्कले प्राधिकरणको उचाइ अझै बढाउने काम गर्नेछौं।’ 

सरकारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेर प्राधिकरणमा घिसिङलाई ल्याएको हो। घिसिङले यसअघिकाको कार्यकालमा गल्ती कमजोरी भएको भए त्यसलाई सच्याएर अघि बढ्ने बताए। ‘राम्रा काम भएका छन् भने निरन्तरता दिनेछौं,’ उनले भने। घिसिङको पहिलो चारवर्षे कार्यकाल ३० भदौ २०७७ मा सकिएको थियो।

त्यो बेला जनस्तरबाट घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने दबाब परेको थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले भदौ ३१ गते प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोके।

तत्कालीन सरकारले एनइए इन्जिनियरिङ कम्पनीमा काजमा रहेका शाक्यलाई २१ कात्तिक २०७७ मा प्राधिकरणको कायम मुकायम कार्यकारी निर्देशक बनायो। पछि २७ माघमा शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। शाक्यको कार्यसम्पादनमा सन्तुष्ट नभएपछि वर्तमान सरकारले घिसिङलाई ल्याएको हो। ११ महिनापछि घिसिङ प्राधिकरण नेतृत्वमा आएका हुन्। उनले प्राधिकरणको नेतृत्व सम्हालेको केही महिनामै दशकदेखि जारी लोडसेडिङ अन्त्य गरेर सर्वसाधारणमाझ लोकप्रिय बनेका थिए।  

घिसिङले चारवर्षे कार्यकालमा प्राधिकरणको प्रशासनिक तथा वित्तीय क्षेत्रमा ठूलो सुधार ल्याएका थिए। उनले पहिलोपटक २०७३ भदौ २९ गते प्राधिकरणको नेतृत्व सम्हालेका थिए। उनले ३४ अर्ब ६० करोड रूपैयाँ सञ्चित घाटा रहेको प्राधिकरणको सञ्चित नाफा चार अर्ब ८६ करोड रूपैयाँ  पुर्‍याएर छाडेका थिए। घिसिङले नेतृत्व सम्हालेको पहिलो वर्ष प्राधिकरणले १ अर्ब ४७ करोड खुद नाफा कमाएको थियो। दोस्रो वर्ष २ अर्ब ८५ करोड, तेस्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रूपैयाँ र चौथो वर्ष ११ अर्ब ५ करोड नाफा कमाएको थियो।

घिसिङले कार्यभार सम्हाल्दा प्रणालीमा रहेको २५.७८ प्रतिशत चुहावटलाई घटाएर १५.२७ मा झारेका थिए। चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट रहेकोमा अहिले बढेर २६० युनिट पुगेको छ। चार वर्षअघि १४ घन्टासम्म लोडसेडिङ हुँदा मुलुकभित्रको कूल विद्युत् खपतको करिब ३५ प्रतिशत भारतबाट आयात हुन्थ्यो। तर विद्युत खपत् करिब ७५ प्रतिशतले बढेको अवस्थामा समेत भारतबाट हुने आयात आव २०७६/७७ मा २२ प्रतिशतमा झारेका थिए।

रामेछापको दुर्गम गाउँ बेथानको सामान्य किसानका छोरा कुलमान घिसिङ अहिले अधिकांश नेपालीको मनमा बस्न सफल छन्। उनले १४ घन्टे कहालीलाग्दो लोडसेडिङ अन्त्य गरेर उनले त्यो लोकप्रियता कमाएका हुन्। उनी मुलुकलाई अँध्यारो युगबाट उज्यालोतर्फ लैजाने सारथिको रूपमा चिनिन्छन्।

घिसिङले कक्षा ५ सम्म घरनजिकैको स्कुलमा पढे। पढाइमा अब्बल उनी त्यसपछि काठमाडौं आएर बालसेवा माध्यमिक विद्यालयमा ७ मा भर्ना भए। उनले अमरआस बोर्डिङ स्कुलबाट एसएससी उत्तीर्ण गरे। अस्कल क्याम्पसबाट आइएस्सी सकेपछि छात्रवृत्तिमा भारतको जमसेदपुरबाट इलेक्ट्रिकल इन्जिनियरमा बिएस्सी गरे। सन् १९९४ मा बिएससी सकेर आएका घिसिङले २०५१ सालमा विद्युत् प्राधिकरण, लोकसेवा आयोग र हवाई विभागमा एकैपटक अधिकृतमा नाम निकाले। उनले इलेक्ट्रिकल इन्जिनियर रुचिको विषय भन्दै प्राधिकरण रोजे। २०५१ सालमा सातौं तहबाट उनले प्राधिकरणको सेवा सुरु गरेका थिए।

जागिर गर्दै घिसिङले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर गरे। उनले स्नातोकत्तरमा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेट विषयमा शोत्रपत्र तयार पारेका थिए। प्राधिकरणको काम गर्ने क्रममा घिसिङ चिलिमे जलविद्युत् आयोजनाको प्रबन्ध निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए।

तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई चिलिमेबाट प्राधिकरण केन्द्रीय कार्यालयमा तानेर जिम्मेवारीविहीन पनि बनाइन्। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले तत्कालीन प्रबन्ध निर्देशक मुकेशराज काफ्लेलाई कार्यकाल नसकिँदै राजिनामा दिन लगाएर प्राधिकरणका एघारौं तहका कर्मचारी घिसिङलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए। २०७३ भदौ २९ गते मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो। 

प्रकाशित: २८ श्रावण २०७८ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App