५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चियाको गुणस्तर र व्यापार बढाउन परियोजना

इलामको जस्बिरे अर्गानिक चिया उद्योगमा प्रशोधन गर्न तयार गरिएको हरियो चिया। तस्बिर: भीम/नागरिक

अर्गानिक चिया उत्पादनमा सहयोग नभएको गुनासो बढेपछि सरकारले पहिलोपटक किसानलाई केन्द्रित गरी परियोजना सुरु गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामलाई केन्द्रित गरी चिया खेती भइरहेका जिल्लामा १७ करोड रुपैयाँ हाराहारीको परियोजना सुरु गरेको हो।  

जुनसुकै दातृनिकायले चियामा सहयोग गरेपनि आफूहरूसम्म भने आइपुग्न नसकेको हजारौं किसानको गुनासो छ। यही गुनासो सम्बोधन गर्ने प्रयासमा बोर्डले ३ वर्षे परियोजना सञ्चालन गरिरहेको हो। बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले यो परियोजना साना किसानमै केन्द्रित रहने बताए। ‘परियोजनाको मुख्य उद्देश्य नेपालको चिया विश्वबजारमा कसरी स्थापित गराउनु हो,’ उनले भने, ‘त्यसका लागि उत्पादनको पहिलो विन्दु किसानलाई सहयोग गर्नेगरी परियोजना चल्नेछ।’  

तयारी चियामा गुणस्तर कायम राख्न उपभोक्तादेखि विक्रेता हुँदै किसानसम्मको मार्ग ‘ट्रेसिङ’ गरिनेछ। विश्वबजारमा पुगेको चिया उपभोग गर्दा कुनै कमजोरी देखिइहाले सिंगो नेपालको चिया बद्नाम हुनबाट बचाउन ट्रेसिङले काम गर्नेछ। कार्यकारी निर्देशक भट्टराईले यस्तो चिया कुन व्यापारीमार्फत् त्यहाँसम्म पुगेको हो, कुन उद्योग, कुन किसानले उत्पादन गरेको हो भन्ने पत्ता लगाएर त्यसको उपचार खोज्न यसले सहयोग पुग्ने बताए। ‘परियोजनाको अर्काे उद्देश्य अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने हो,’ भट्टराईले भने, ‘नेपालको अर्गानिक चिया विश्वबजारमा प्रांगारिक उत्पादनका रूपमा स्थापित भएको छ, त्यसलाई विश्वमै १ नम्बर गुणस्तरमा ल्याउनु र निरन्तरता दिनुछ।’  

किसानका लागि गुणस्तरको चिया उत्पादन गर्नमात्र होइन, यसलाई अर्गानिक प्रमाणीकरण गर्न पनि उत्तिकै जटिल र महँगो छ। परियोजनाले अर्गानिक चिया उत्पादनका लागि आवश्यक सामग्री, तालिम, सचेतना, प्रोत्साहलगायत कार्यक्रम र गतिविधि सञ्चालन गर्नेछ। परियोजनाले अर्गानिक उत्पादनमात्र नभई किसानको चिया अर्गानिक प्रमाणीकरणका लागिसमेत सघाउनेछ। र, उत्पादित अर्गानिक चियाको परिमाण–गुणस्तर दुवै बढाएर बाह्य तथा आन्तरिक बजारमा खपत बढाउने क्रियाकलाप गरिने बोर्डले जनाएको छ।  

‘यसअन्तर्गत विभिन्न देशसँग जिटुजी (सरकार–सरकार सम्झौता) समेत गरिनेछ,’ उनले भने, ‘रुस, चीन तथा युरेपेली मुलुकसँग पनि चियाको बजारका लागि जिटुजी गर्ने प्रयास हुनेछ।’ चीनसँग जिटुजीका लागि खाका तयार भइ चीन सरकार सहमत भएको, रुसमा यसको सम्भाव्यता अध्ययन भइरहेको र रुसमा नेपाली ब्ल्याक टीको ठूलो परिमाणमा बजार सम्भावना रहेको उनले जनाए।  

युरोपियन युनियनको मुख्य सहयोगमा सरकारले ल्याएको परियोजनाले विशेषगरी इलामलाई आधार बनाएको छ। ‘इलाम अर्थाेडक्स चियाको राजधानीजस्तै भएकाले परियोजना मुख्यगरी इलाममै केन्द्रित रहनेछ,’ डा.भट्टराईले भने, ‘नेपाली चियाको ट्रेडमार्क पाएका अन्य जिल्लामा समेत यसले केही फाइदा पुर्‍याउनेछ।’ यो परियोजना इलाममा सफल भए देशभरमा चिया उत्पादन हुने सबै क्षेत्रका लागि सरकारले नै यस्तो परियोजना सञ्चालन गर्नसक्ने उनले जनाए।  

‘नेपाल इन्क्रिज सस्टेनेवल टि एक्पोर्ट’ परियोजनाले अर्गानिक मल उत्पादनका लागिसमेत सहुलियत दिनेछ। परियोजनाअन्तर्गत असल कृषि अभ्यास गर्ने, चिया टिप्ने, प्रशोधन, प्याकेजिङलगायत मेसिनमा सहुलियतजस्ता कार्यक्रम छन्। सबैजसो लगानी किसानमै गरिने बोर्डले जनाएको छ। ‘किसानलाई २५/२५ जनाको समूह बनाएर उनीहरूमा कार्यक्रम पुर्‍याइनेछ,’ डा.भट्टराईले भने, ‘किसानले चियाको मौसमबारे जानकारी लिन इच्छा गरेमा त्यो सुविधासमेत दिने परियोजनाको लक्ष्य छ।’

नेपालमा उच्च गुणस्तरको अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुन्छ। बोर्डले निश्चित मापदण्ड पुर्‍याएका चिया किसान, उद्योगी र व्यापारीलाई ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको आधिकारिक ट्रेडमार्क प्रदान गर्नेगरेको छ। बोर्डले गतवर्ष र अहिले १२/१२ उद्योग, किसान र व्यापारीलाई ट्रेडमार्क प्रदान गरेको छ। ट्रेडमार्क पाएपछि व्यापारमा सहज भएको उद्योगी र किसान बताउँछन्।  

तर, मापदण्डमा पुग्नेलाई आवश्यक पर्ने पहिलो सर्त अर्गानिक प्रमाणीकरण नै किसानलाई ‘फलामको चिउरा’ हुनेगरेको छ। अर्गानिक चिया उत्पादन गर्न धेरै मेहनत र परिश्रम गर्नुपर्ने भएपनि मूल्य र माग राम्रो भएकाले उनीहरूजस्ता हजारौं किसान अर्गानिक उत्पादनमा उत्सुक छन्। तर, अर्गानिक उत्पादन गर्नभन्दा अन्तर्राष्ट्रिय बजारमा बिक्नेगरी प्रमाणीकरण गराउन भने किसानलाई अझ सास्ती छ। चिया अर्गानिक प्रमाणीकरण गराउन नै ८ देखि १० लाख रुपैयाँ खर्च लाग्ने किसान÷उद्योगी बताउँछन्। त्यतिमात्र होइन, किसानलाई अर्गानिक मल, बीउ पनि सधैं अभाव हुनेगरेको छ।  

बोर्ड स्थापना हुँदा उसले राखेका लक्ष्य तथा उद्देश्यको सूचीअनुसार चियाका लागि बोर्डले गर्न सक्ने काम धेरै छन्। किसानलाई चिया खेतीबारे तालिम दिनेदेखि उत्पादनको बजार अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने जिम्मेवारीसमेत उसैलाई छ। बोर्डले चिया खेती भएका जिल्लामा खेतीका लागि माटो परीक्षण, रोग–कीरा निदान, किसानलाई तालिम–गोष्ठीजस्ता काम गरिरहेका बेला परियोजनाले थप सहयोग पुग्ने देखिएको किसान बताउँछन्।

नेपालको अर्गानिक चिया जर्मनी, नेदरल्यान्ड अमेरिका, जापान, चेक गणतन्त्र, स्लोभाकिया, फ्रान्स, चीन, बेलायत, अस्ट्रिया र युरोपका अन्य देशमा निर्यात हुने गरेको छ। अस्ट्रेलियास्थित नेसनल एसोसिएसन फर सस्टेनेबल एग्रिकल्चर (नासा), स्विट्जरल्यान्डस्थित इन्टरनेसनल मार्केटोलोजी अर्गनाइजेसन (आइएमओ) र जर्मनीको केरसजस्ता विश्वप्रसिद्ध आधिकारिक निकायले नेपाली चियालाई अर्गानिक प्रमाणित गरिरहेका छन्।

प्रकाशित: २५ श्रावण २०७८ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App