५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मर्मतसम्भारका लागि १७ वटा सडक छनौट

 ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मर्मत सम्भार गर्ने गरी पालिका क्षेत्रका १७ वटा सडक प्राथमिकतामा राखेको छ  । पालिकाका ६ वटै वडामा रहेका मुख्य र शाखा सडक मर्मत सम्भार गरी यातायात सेवा नियमित गर्न कार्यपालिकाको बैठकबाट १७ वटा सडक छनौट गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । 

उनका अनुसार सडकको मर्मत सम्भार यसै साताबाट सुरु गर्ने तयारी छ । पहिलो चरणमा पालिकाका प्रत्येक वडा पुग्ने मुख्य सडक क्षेत्रहरू मर्मत सम्भार गरिने छ । ‘सम्भवतःदसैं अघि नै पालिकाका प्रत्येक वडा पुग्ने मुख्य सडक क्षेत्रहरू मर्मत सम्भार सक्ने गरी योजना बनाएका छौं’गाउँपालिका अध्यक्ष वनेमले भने । उनले त्यसका लागि पालिकाका प्राविधिकहरू मार्फत प्राविधिक अध्ययन सुरु भएको समेत बताए । 

पहिरो तथा बाढी सहितका विपद्कीका कारण मर्मत सम्भार नगरी नहुने सडकहरू छनौट गरी मर्मत सम्भारको तयारी गरिएको पालिकाले जनाएको छ । मैवाखोला प्राकृतिक विपद्बाट प्रभावित क्षेत्र हो । अघिल्लो वर्षको विपद्कीका कारण मैवाखोलाको ओदक र ताम्राङ क्षेत्रका ६५ घर परिवार बस्नै नसक्ने अवस्थामा रहेपछि पालिकाले उनीहरूलाई अस्थायी एकीकृत बस्तीमा स्थानान्तरण गरेको छ । नेरुवाखोलामा आएको पहिरो र बाढीले सडक नै बगाएपछि पालिकाको केन्द्र समेत रहेको वडा नं ३ बाट वडा नं ४ हुँदै वडा नं ५ र ६ जान सकिने अवस्था छैन । 

यस्तै वडा नं २ बाट नेरुवाखोला तरेर खार्दे हुँदै वडा नं ६ तर्फ जान समेत नेरुवाखोला माथिको झोलुङ्गे पुल बाहेक चार पाङ्ग्रे सवारी जान सक्ने अवस्था छैन । त्यहाँको अस्थायी पुल समेत बगाएकोले समस्या भएको छ । यसबाहेक पालिका क्षेत्रका बिभिन्न सडकहरू मर्मत नगरी सवारी साधनको नियमित ओहोरदोहोर गर्न समस्या भएपछि पालिकाले सवारी साधनको नियमित ओहोरदोहोरका लागि मर्मतसम्भारका गर्नुपर्ने सडकको प्राथमिकीकरण गरेको पालिका अध्यक्ष वनेमले जानकारी दिए । 

प्रकाशित: ५ आश्विन २०८१ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App