१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

कनकासुन्दरीमा आलुबाली कृषक पाठशाला

आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ मा आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ। पाठशालामा आलुको अनुसन्धान, रोगकिराको व्यवस्थापन र कम्पोस्ट मल बनाउने तरिका खेतबारीमै सिकाउने गरिएको छ। किसानले आलु खेती गरेपछि अपेक्षा अनुसार उत्पादन गर्न नसकेकोले पाठशाला सुरु गरिएको हो।  

पाठशाला सुरु भएपछि कनकासुन्दरी–७ की जुना कार्की आलुखेतीमा निकै हौसिएकी छिन। उनी आलु खेतीलाई समृद्धिको आधार ठान्छिन्। आलु बेचेर पारिवारिक खर्च जुटाउने उनको योजना छ। उनले भनिन्, ‘आलु पहिलेदेखिकै उत्पादन भएकोले खासै समस्या छैन। रोगकिराबाट जोगाउनु र उत्पादित आलु बजारसम्म लैजानु मुख्य चुनौती हो ।’  

सोही गाउँकी मुना कार्की आलु खेती आम्दानीको राम्रो स्रोत भएको बताउँछिन्। आधुनिक खेती प्रणाली अपनाएर आलु लगाएको खण्डमा मनग्गे आम्दानी गर्न सकिने अपेक्षा उनको छ। उनले भनिन्, ‘बजारमा माग धेरै छ। उत्पादन गर्न सकिएको छैन। उत्पादित आलु खेर गइरहेको छैन। यसैमा खुसी छौं ।’

जुना र मुना उदाहरण मात्र हुन। उनका गाउँमा ६ जना पुरुष र १४ जना महिला मिलेर महादेव समूह गठन गरेका छन्। समूहमार्फत आलु खेती गरेका छन्। जर्मनी र कारितास नेपालको आर्थिक सहयोगमा पेस नेपालको साझेदारीमा गाउँमै आलुबाली कृषक पाठशाला सञ्चालन भएपछि स्थानीय आलु खेतीमा आकर्षित भएका हुन्।

एकीकृत खाद्य सुरक्षा विपद जोखिम न्यूनीकरण जलवायु अनुकूलन परियोजनाले कृषक पाठशाला चलाएर किसानलाई आलु खेतीको महŒव र आवश्यकताका विषयमा कक्ष सञ्चालन गरेको थियो। आलु खेतीको अनुसन्धान, रोगकिराको व्यवस्थापन र कम्पोस्ट मल बनाउन सिकाइएको थियो।

पाठशालामा परम्परागत र आधुनिक तरिकाले आलु खेती गरिएको थियो। यो विधिबाट बढी आलु उत्पादन हुन्छ। किसानलाई त्यही विधिबाट आलु खेती गर्न लगाउने पेस नेपालका हेमराज भट्टले जानकारी दिए। किसानले खेतबारीमा आफैं गएर डेमा मार्फत आलु खेतीबारे प्रशिक्षण दिइएको थियो। गत चैतमा सुरु भएको पाठशाला साउन महिनाको पहिलो साता सकिएको थियो। 

५ सय बर्गमिटर जग्गामा आलु खेति गरेर अनुसन्धान गरिएको थियो। २ सय ५०बर्गमिटर जमिनमा परम्परागत विधिबाट ५० केजी आलु रोपिएको थियो। २५० बर्गमिटरमा आधुनिक विधिबाट आलु खेति गरिएको थियो। ५० केजी आलु रोपिएको थियो। उनले भने,‘परम्परागत विधिबाट गरिएको खेतिमा ३ क्वीन्टल आलु फल्यो। आधुनिक विधिबाट गरिएको खेतिमा ६ क्वीन्टल आलु फल्यो। ’किसानलाई आधुनिक विधिबाट आलु खेति गर्न उत्साहित गरिएको उनले बताए।

स्थानीय जुना कार्कीले आधुनिक विधिबाट आलु खेति गर्न थालेको बताउँछिन। उनले भनिन्,‘कृर्षक पाठशालाबाट आलुको गुणस्तरीय उत्पादनमा जोड दियौँ। गाउँमा आलु खेतिको लागि आह्वान गरेका छौँ । यो क्षेत्रलाई आलु पकेट क्षेत्र बनाएर जिल्ला बाहिर आलु निर्यात गर्न सकिने अवस्था सिर्जना गर्न लागि परेका छौँ । यो क्षेत्रलाई आलु आत्मनिर्भर क्षेत्रका रूपमा विकसित गर्न चाहन्छौँ।’

प्रकाशित: २५ श्रावण २०७८ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App