१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

विपदमा पनि काम लागेन हुम्दे विमानस्थल

मनाङकाे हुम्दे विमानस्थल । फाइल तस्बिर

हिमाली जिल्ला मनाङमा दुई महिनाभन्दा बढीदेखि सडक सम्पर्क टुटेको छ। जेठ मध्यको बाढीले पुल बगाउँदा सडक सम्पर्क टुटेको हो। असार पहिलो साताको बाढीले सडक बिगारेपछि स्थिति अझ नाजुक बनेको छ। दसैंसम्म सडक जोड्ने प्रयास भइरहे पनि त्यो सजिलो नरहेको स्थानीय प्रशासनको भनाइ छ।

सडक सम्पर्कबाट अलग्गिएका मनाङवासीलाई अत्यावश्यक आउजाउमा हवाई यातायात विकल्प थियो। तर जिल्लाको विमानस्थल उपयोग गर्नेतर्फ कसैको ध्यान गएको छैन। हेलिकप्टर चार्टर गरेर दिनहुँ महँगोमा दैनिक उपभोग्य वस्तु ओसारपसार भइरहेको छ। तर हवाई सेवा सुरु गरेर एकैपटक धेरै परिमाणमा उपभोग्य वस्तु ओसार्ने विषयमा कसैको ध्यान गएन। राज्यले समेत अप्ठेरो बेलामा विमानस्थल सञ्चालन गरेर जहाजमा सामान ढुवानी गराउने विकल्पमा ध्यान नदिएको स्थानीयको गुनासो छ। अप्ठेरो बेला भएको विमानस्थल उपयोग गर्ने ढंग नपुगेको उनीहरूको भनाइ छ।

समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा मनाङमा हुम्दे विमानस्थल छ। विमानस्थल उपयोग नहुँदा नागरिकको दैनिकी कष्टकर बनेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन्। ‘गाडी नचलेको दुई महिना कटिसक्यो। अझै केही महिना गाडी चल्ने अवस्था छैन। यो बेला भएको विमानस्थल प्रयोगमा ल्याउन चासो देखाउनुपर्ने हो,’ गुरुङले भने, ‘यतातर्फ न स्थानीय तहले चासो दिए, न सरकारले।’ 

अहिले मनाङमा खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुको अभाव छ। कतिपय दाताले महँगोमा हेलिकप्टर चार्टर गरेर राहत सामग्री पु¥याइरहेका छन्। जहाज उडेको भए केही सस्तोमा सामान ढुवानी गर्न सकिने उनले बताए। ‘पोखराबाट हेलिकप्टरमा सामान ढुवानी गर्दा प्रतिकिलो २५० रूपैयाँ पर्छ। हेलिकप्टरले एकैपटक धेरै बोक्न पनि सक्दैन,’ उनले भने, ‘जहाजमा भए केही सस्तो पर्छ र एकैपटक धेरै तौल ल्याउन सकिन्थ्यो।’ जहाज चल्दा आपतकालीन बिरामीलाई उपचारका लागि ठूला सहर  पुर्‍याउन  पनि सहज हुने उनले बताए। गुरुङका अनुसार केही दिनअघि एकजना बिरामीलाई महँगोमा हेलिकप्टर चार्टर गरेर लैजानुपरेको थियो।  

यसअघि पनि मनाङमा नियमित उडान गर्न भनेर बारम्बार राज्यका निकायमा ताकेता गरे पनि कसैले नसुनेको उनले बताए। ‘तत्काल बाटो बन्ने अवस्था छैन। पहरो नफुटाई बाटो खुल्दैन। ५४१६ मिटर उचाइको थोराङला भञ्ज्याङ पार गराएर खच्चडलाई बोकाएर सामान ल्याएका छौैं,’ उनले भने, ‘गाडीबाट ल्याउँदा प्रतिकिलो १० रूपैयाँ ढुवानी खर्च पथ्र्यो। खच्चरबाट ४० रूपैयाँ परेको छ।’ 

मनाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष कान्छा गुरुङ गाडी नचल्दाको विकल्प हवाईजहाज भए पनि विमानस्थल उपयोगमा नआएको बताउँछन्। ‘गाडी नचलेको बेला हवाइजहाज उडेको भए नागरिकको आउजाउ र सामन ढुवानी सहज हुन्थ्यो। तर त्यतातिर कसैको ध्यान गएन,’ उनले भने, ‘मनाङमा गाडी पुग्नुअघि जिल्लावासीको सहर आउजाउको माध्यम विमान थियो। त्यो बेला कच्ची धावनमार्गको विमानस्थलले थियो। अहिले कालोपत्रे धावनमार्गको विमानस्थल भए पनि उपयोग छैन।’ 

थोराङ पास गरेर केही सामान ल्याए पनि त्यो महँगो भएको उनले बताए। ‘कम्तीमा जहाजमा ल्याएर सामान थुप्रो लगाउन सकेको भए यो अप्ठेरोमा सबैलाई सहज हुन्थ्यो,’ उनले भने। विमानस्थल चलाउनुपर्छ भनेर आफूहरूले बारम्बार भने पनि कसैले नसुनेको उनको भनाइ छ। ‘हामीले भनेको सुन्दैनन, नेताहरू कुरा उठाउँदैनन,’ उनले भने।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले पर्यटन मन्त्रालयलाई विमानस्थल चालु गर्न पत्र पठाएको छ। तर त्यसमा खासै प्रगति भएको छैन। विमानस्थल भएको हुम्देबाट सदरमुकाम चामे करिब ६ घन्टाको पैदल दुरीमा पर्छ। चामे र हुम्देबीचको बाटो पनि पहिरोले बिगारेको छ। क्षति भने तल्लो भेगमा भन्दा कम छ।

अहिले हुम्दे र चामेबीचको आउजाउ पनि सहज छैन। ‘हुम्देबाट तल आउन नसके पनि जहाज चल्दा माथिल्लो भेगलाई त सहज हुन्थ्यो,’ लामिछानेले भने, ‘हामीले चासो देखाएर पर्यटन मन्त्रालयमा पत्र पनि पठाएका छौं। निजी क्षेत्रका हवाई कम्पनीसँग समन्वय गर्ने भनिएको हो।’ 

उनका अनुसार दसैंअघि मोटरले मनाङ टेक्ने सम्भावना छैन। त्यसैले यो बेला विमानस्थल प्रयोग गरेर जहाजमार्फत यातायात र ढुवानी गराउनु आवश्यक छ। ‘मनाङको आधा जनसंख्यालाई विमानस्थलको सेवाले सहज हुन्थ्यो। तर सदरमुकामसँग जोड्न नसकेकोले फोकस नभएको हो,’ उनले भने। उनी पनि यो बेला जहाजमा एकैपटक धेरै खाद्यान्न ल्याएर हुम्देमा थुपारेर आवश्यकता अनुसार ढुवानी गर्नु उपयुक्त हुने ठान्छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखराका प्रमुख विक्रम गौतम स्थानीयले विमानस्थल सञ्चालनको माग जोडतोडले उठाउनुपर्ने बताउँछन्। ‘निजी हवाई कम्पनीले उडानमा चासो देखाए आजै उडान स्वीकृति दिन सकिन्छ,’ गौतलले भने, ‘लगानी गरेर पनि उपयोग हुन नसकेको विमानस्थललाई संकटको यो बेला प्रयोगमा ल्याउन सके सबैलाई राहत मिल्थ्यो।’ उनले कुनै पनि निकायले यसबारे नसोचेको बताए।

पोखरादेखि ४९ नटिकल माइल (९०.७४ किलोमिटर) टाढाको हुम्दे सामान्य अवस्थामा पोखरादेखि १६ देखि १८ मिनेटमा पुगिन्छ। यो विमानस्थल दशकअघिसम्म नियमित सञ्चालनमा थियो। त्यसबेला हुम्देमा सातामा तीनवटासम्म उडान हुन्थे। पोखरा र काठमाडौंबाट सिधा उडान हुन्थ्यो।

त्यो बेला मनाङ जोड्ने एकमात्र यातायात साधन हवाइजहाज थियो। कच्ची धावनमार्ग हुन्जेल नियमित जसो चलेको विमानस्थलमा दशकअघि धावनमार्ग कालोपत्रे भएको थियो। तर त्यसपछि विमानस्थलको उपयोग भएन।

हुम्देमा सेड्युल फ्लाइट नभएको आठ वर्ष बितिसकेको छ। धावनमार्ग कालोपत्रे र स्तरोन्नतिपछि यो विमानस्थल बाह्रै महिना सञ्चालनयोग्य छ। कालोपत्रे गर्ने क्रममा ६ सय मिटरबाट बढाएर ९ सय मिटर लामो धावनमार्ग  बनाइएको थियो। 

प्रकाशित: २४ श्रावण २०७८ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App