२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

कपिलवस्तुमा एक वर्षमा १३ सय साना उद्योग थपिए

ढाई अर्ब बढी पुँजी लगानी

कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ हजार २९१ वटा नयाँ उद्योग थपिएका छन्। कोरोनाका कारण असहज स्थिति बने पनि प्रालि, साझेदारी र प्राइभेट गरी साे संख्यामा साना उद्योग थपिएका हुन्। 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार गत वर्ष १५ प्रालि, २६ साझेदारी र १ हजार २५० प्राइभेट उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७६/०७७ मा कुल १ हजार ४७ उद्योग दर्ता भएका थिए। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्यालका अनुसार गत वर्ष ७ सय ५८ महिला तथा ९ सय ७१ पुरुष उद्यमी थपिएका छन्। 

उद्योगबाट २ हजार ५८ महिला तथा २ हजार २५३ पुरुषले गरी कुल ४ हजार २७० ले रोजगारी पाएका छन्। उद्योगबाट १ अर्ब ८६ करोड स्थिर र ७७ करोड ४० लाख चालु पुँजी गरी क्ल २ अर्ब ६३ करोड पुँजी लगाइएको छ।

गत आर्थिक वर्ष ६ सय ६३ उद्योग नबिकरण तथा ७७ उद्योग खारेजी गरिएका छन्। साना उद्योगको दर्ता र नबिकरणबाट गत आर्थिक वर्ष ४५ लाख १२ हजार ८३० रुपैयाँ राजस्व संकलन भएको छ। उता ब्यापार तर्फ गत आर्थिक वर्ष ७ सय ९३ फर्म दर्ता भएका छन्। नबिकरण ५ सय ३७ तथा १ सय ९ फर्म खारेजी गरिएका छन्। 

फर्म दर्ता र नबिकरणबाट कुल ५९ लाख राजस्व संकलन भएको प्रमुख बस्यालले बताए। आर्थिक वर्ष २०७६/०७७ मा कुल १ हजार २२५ बाणिज्य फर्म दर्ता भएका थिए। कोरोना कहरका बेला समेत उद्योग र ब्यापारिक फर्मको संख्या बढ्नु राम्रो कुरा भएको बस्यालले बताए। एक दशक यता जिल्लामा उद्योगधन्दा खुल्नेक्रम बढेको घरेलु तथा साना उद्योग उनले बताए। 

सशस्त्र माओवादी द्वन्द्वपछि शान्ति स्थापना भए यता उद्योगधन्दा खुल्नेक्रम बढेको उनले बताए। ‘उद्योगधन्दा खुलेपछि रोजगारी समेत बढेको छ,’ उनले भने। कोरोना भाइरसका कारण गत वैशाख यता भने उद्योगधन्दा पनि मारमा परको उनले बताए। तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले उद्योगधन्दा र ब्यापारको संख्या बढ्नु सकारात्मक रहेको बताए। 

उनले साना र उद्योग र ब्यापारलाई सररकारले प्रवर्द्धन गर्न नसक्दा खोलिएको उद्योगधन्दा पनि चाँडै बन्द हुने गरेको बताए।

प्रकाशित: २१ श्रावण २०७८ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App