८ वैशाख २०८१ शनिबार
अर्थ

बनिनसक्दै मोटरेबल पुल सञ्चालनमा ल्याइयाे

साप्सु खोलाको नवनिर्मित पुलमा गाडी पार गराउनेक्रममा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई लगायत । तस्बिर : दिप्रुङ चुईचुम्मा गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको निर्माणाधीन मोटरेबल पुल सञ्चालनमा ल्याइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल पूर्णरुपमा बनिनसक्दै सञ्चालनमा ल्याइएको हो। 

पुलको ग्याबिन वाल, एप्रोच स्ल्याव, वेयरिङकोट र पेन्टिङको काम नहुँदै पुल सञ्चालनमा ल्याइएको हो। सोमबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले प्रयोग गर्दैआएको गाडी तारेर पुल सञ्चालनमा ल्याइएको गाउँपालिकाका असिस्टेन्ट सव–इन्जिनियर सरगम राईले बताए।  

निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले ४० मिटर लम्बाई भएको प्रिस्ट्रेस बिम पुलको बिम तथा स्ल्याव ढलानको काम वैशाख १८ गते सम्पन्न गरेको थियो। सम्झौता अनुसारको काम सम्पन्न गर्न बाँकी रहेपनि वर्षा याममा पुलबाट आवत–जावत गर्न समस्या नहुने गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए। 

‘वर्षायाममा हुने प्राकृतिक नाकाबन्दी तोड्ने काम गरिएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अब वर्षायाममा पुलकै अभावमा हुने आवत–जावतमा अवरोध हुने छैन।’ संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको संयुक्त वजेटमा साप्सु खोलामा पक्कीक पुल निर्माण सुरु गरिएको थियो। सुर्य एण्ड सन्स प्रालिले २०७८ साल जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरेको थियो।

मूल्य अभिवृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५४५ मा पुलको ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको ६ महिनापछि मात्र काम सुरु गरेको थियो। पुल निर्माणमा गाउँपालिकाको ४५ प्रतिशत खर्च भएको गाउँपालिका अध्यक्ष राईले बताए।

स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले २०७६ साल असार ११ गते शिलान्यास गरेका थिए। कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका क्रममा लागू गरिएको लकडाउनका बेला पनि पुल निर्माणको कामलाई निरन्तरता दिएको सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट ईन्चार्ज एबं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताए।  

दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि प्रिस्ट्रेस बिम पुल निर्माणको काम अघि बढाइएको हो। प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो। विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा विमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको थियो।  

सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कार्तिक २९ गते सडक बिभाग पाटनढोका ललितपुरमा निवेदन दिएको थियो। साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सबैभन्दा छोटो बाटो खुल्ने छ।

प्रकाशित: १९ श्रावण २०७८ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App