६ कार्तिक २०७८ शनिबार
अर्थ

उपभोक्ताको भान्सामा बिचौलिया

नेपालगन्जस्थित त्रिवेणी मोडमा तरकारी बिक्री गर्दै एक युवा। तस्बिर गणेश/नागरिक

नेपालगन्जकी सुनिता खत्रीको भान्सा महिना दिनयता महँगो बनेको छ। बढीमा ५० रूपैयाँ लाग्ने भान्सामा अहिले एक सय ५० देखि दुई सय रूपैयाँसम्म पुगेको छ। भान्सामा प्रायः बाहेक अरुबेला तरकारी नभइ हुँदैन। ‘भान्सा जति महँगिँदा पनि तरकारी अनिवार्य चाहिन्छ,’ उनले भनिन्। उनीजस्तै नेपालगन्जका उपभोक्ताहरुको भान्सा महँगिएको छ। यसको कारण, ‘बिचौलिया।’

बिचौलियाले गर्दा यहाँको भान्सा दैनिक महँगिँदै गएको छ। तरकारी किसानबाट खरिद भइ उपभोक्तासम्म पुग्दा त्यसको मूल्य चार गुणा बृद्धि भएको छ। तरकारी किसानबाट ३० रूपैयाँ केजी खरिद हुने बोडी उपभोक्ता एक सय २० रूपैयाँमा किन्न बाध्य छन्। नेपालगन्जमा बोडीसँगै दैनिक उपभोग्य तरकारीको मूल्य तीनदेखि चार गुणासम्म महँगो छ। खजुरा–२, डी गाउँका पदम रानाले बोडी, लौका, फर्सी, भिन्डी, करेला, चिचिन्नालगायतका तरकारी उत्पादन गर्छन्। 

बोडी ३०, लौका, भिन्डी २०/२०, करेला ५० रूपैयाँ केजीमा व्यापारीसम्म पुर्‍याउँछन्। तर त्यही तरकारी उपभोक्ताले बोडी एक सय २०, लौका र भिन्डी ६०/६० मूल्यमा किन्नुपर्छ। त्यस्तै नयाँ आलु ६०, पुरानो आलु ४०, खुर्सानी एक सय ५०, टमाटर ९०, प्याज ७०, लसुन दुई सय २०, कागती एक सय ५०, सिमी एक सय ६०, धनियाँ पाँच सय रूपैयाँ मूल्य उपभोक्तासम्म पुग्छ। तरकारीमा बिचौलिया हाबी हुँदा भान्सा महँगो भएको उपभोक्ताहरुको भनाइ छ।

किसानले उत्पादन गरेको तरकारीको समेत मूल्य बिचौलियाले निर्धारण गर्ने गरेको किसानहरुको भनाइ छ। ‘हामी पसिना बगाइ, दुःख गरी तरकारी उत्पादन गर्छाैं,’ पदमले भने, ‘त्यति दुःख गरेर उत्पादन गरेको तरकारी बिचौलिया आएर यति मूल्यमा दिने भए दे, नत्र अर्काेबाट लिन्छु भनेर आफैँ मूल्य निर्धारण गर्छन्।’ बारीमा तरकारी कुहिएर फाल्नुभन्दा बिचौलियाले तोकेकै मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको भन्दै उनी भन्छन्,। सबै उपभोक्ता किसानको बारीसम्म पुग्न नसक्दा पनि बिचौलिया हाबी भएको किसानहरुको भनाइ छ। 

सरकारले सहकारीमार्फत किसानले उत्पादन गरेको तरकारी व्यवस्थित गरेर खरिद बिक्री गर्दा उपभोक्तासम्म सस्तोमा पुग्ने र किसानको पसिनाको मूल्य पनि उठ्ने अर्का किसान विक्रम केसीले बताए। ‘अहिले त तरकारी लिन केही व्यक्ति बारीसम्मै पुग्छन्,’ उनी भन्छन्, ‘नत्र बजारसम्म पुर्‍याउँदा हामीलाई गाह्रो हुन्थ्यो। कहिले चार/पाँच दिनमा तरकारी तौलिदिन्थ्ये। त्यस्तो गर्दा तरकारी कुहिएर हामलाई नै घाटा।’ ‘अनि उनीहरुले किसानलाई गर्ने व्यवहारले पनि दिक्क लगाउँथ्यो,’ उनले भने।

बिचौलियाले ढुवानी भाडा र ग्रेडिङ गर्दा किसानबाट आएको तरकारी उपभोक्तासम्म पुग्दा केही महँगो हुने बताउँदै आएका छन्। राज्यले बजारमा मागअनुसारको सिधै किसानबाट खरिद गर्ने र बाँकी स्टक राख्ने गर्दा किसान र उपभोक्ता दुवैलाई न्याय हुने नेपालगन्जकी कान्तिका मल्लले बताइन्। दैनिक ज्यालादारी काम गर्ने उनलाई तरकारीको मूल्य आकासिँदा तरकारी किन्नै समस्या भएको छ। ‘पहिला सस्तोमा तरकारी पाइन्थ्यो र नियमित खान्थ्यौं,’ उनले भनिन्, ‘अहिले भए ठीक छ नभए पनि ठीकै छ।’ तरकारीको मूल्य बढ्दा विपन्न गरिबलाई ठूलो मार परेको उनको भनाइ छ। 

यता कृषि उपज बजार सञ्चालक समितिका सदस्य मेराज कवडियाले तराइमा तरकारी नहुने र पहाडबाट ल्याउनु पर्दा अहिले तरकारी केही महँगो भएको बताए। ‘यतिबेला तराइमा तरकारी हुँदैन,’ उनले भने, ‘धेरैजसो तरकारी पहाडबाट ल्याउनुपर्छ। टाढाबाट ल्याउँदा ढुवानीको मूल्य महँगो हुँदा तरकारीको मूल्य पनि बढेको हो।’ अहिले अधिकांश तरकारी पहाडबाट तराइ आउने गरेको उनले बताए। हप्ता दिन अघिभन्दा अहिले तरकारीमा ४० प्रतिशत मूल्य बृद्धि भएको उनको भनाइ छ। 

भदौ पहिलो सातादेखि पुनः तरकारीको मूल्यमा गिरावट आउने भन्दै उनले भने, ‘वर्षा सकियो भने तराइमा तरकारी उत्पादन हुन्छ अनि मूल्य पनि घट्छ।’ तरकारीको मूल्य दिन प्रतिदिन बढ्दा पनि स्थानीय प्रशासनलगायत सरोकारवाला निकाय भने मौन छन्। उनीहरुले बेलाबेला तरकारीको मूल्यमा निगरानी नबढाउँदा पनि बिचौलिया र व्यापारीले आफूखुसी मूल्य बढाएको उपभोक्ताहरुको गुनासो छ।

प्रकाशित: १२ श्रावण २०७८ १७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App