७ वैशाख २०८१ शुक्रबार
अर्थ

इलामका प्रमुख बजार बन्द

कोरोनाको जोखिम र संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लाका सबै मुख्य बजार बन्द गर्न आदेश दिएको छ। दिनहुँ सयको हाराहारीमा कोरोना संक्रमित थपिएपछि प्रशासनले सदरमुकाम इलाम बजारसहित जिल्लाका डेढ दर्जन बजार सोमबारदेखि आउँदो १५ गतेसम्म बन्द गर्न आदेश जारी गरेको हो।  

सिडिओ ध्रुवबहादुर खड्काले मेची राजमार्गले छोएका कोल्बुङ, हर्कटे, कुटीडाँडा, कन्याम, फिक्कल, आइतबारे, तीनघरे, जौबारी, राजदुवाली, गोलाखर्क, तिल्केनी, जिरो किलोमिटर, धोविधारा, चुरेघाँटी, बिब्ल्याँटे, पुवाखोलालगायत बजार बन्द गर्न आदेश दिएका हुन्। यस्तै, इलाम बजार, पशुपतिनगर, नेपालटार, मंगलबारे, दानाबारी, गजुरमुखी, चिसापानीलगायत जिल्लाका सबै क्षेत्रमा रहेका बजार गरिएको छ। सोमबारदेखि औषधि पसल मात्र खुला रहनेछन् भने तरकारी, फलफूल र खाद्यान्न पसल बिहान ११ बजेसम्म मात्र खुला रहनेछन्। यीबाहेकका सम्पूर्ण पसल पूर्णरूपमा बन्द रहने प्रशासनले जनाएको छ।  

प्रशासनले बाहिरबाट आउने चारपांग्रे सवारीलाई इलाम बजारभित्र छिर्न पनि निषेध गरेको छ। यस्ता सवारी बजारभन्दा करिब १/१ किलोमिटर टाढा रहेका धोविधारा, जिरोकिलोमिटरभन्दा भित्र नलैजान आदेश गरिएको छ। सवारी पार्किङ खुला ठाउँमा मात्र गर्नुपर्ने, पार्किङ गरेको स्थान बस्ती वा घरभन्दा कम्तीमा ५० मिटर टाढा हुनुपर्ने, पार्किङमा एउटा सवारीदेखि अर्काेको दूरी कम्तीमा ५ मिटर हुनुपर्ने मापदण्ड तोकिएको छ।  

प्रमुख बजारहरूमा तोकिएका स्थानबाहेक अन्य स्थानमा सवारी पार्किङ गर्न नपाइने आदेशमा उल्लेख छ। परीक्षा दिने विद्यार्थीलाई घरबाट परीक्षा केन्द्रसम्म सोझै आउन–जान दिने तर अत्यावश्यकबाहेक अन्य काममा हिँड्डुल गर्न निषेध गरिएको छ। यसअघि आइतबार नै इलाम नगर कार्यपालिका बैठकले नगरमा निषेधाज्ञा जारी गर्न प्रशासनलाई सिफारिससमेत गरेको थियो।  

जिल्लामा अहिलेसम्म कोरोनाको दोस्रो लहरबाट २ हजार ९ सय २८ जना संक्रमित भएकामा ७ सय ७० सक्रिय संक्रमित छन्। ६५ जनाको मृत्यु भइसकेको छ भने २ हजार ९२ जना निको भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ।

प्रकाशित: १० श्रावण २०७८ १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App