४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

विद्युत नहुँदा स्थानीय तहलाई भुक्तानीमा समस्या

लगातारको वर्षातपछिको पहिरोका कारण विद्युत अवरुद्ध हुँदा गोरखाको स्थानीय तहलाई भुक्तानीको समस्या भएको छ। आर्थिक वर्षको अन्त्यमा धमाधम वडा र पालिकागत योजनाको भुक्तानी दिने समयमा पाँच दिनदेखि चेक काट्न नपाएको अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेस दवाडीले बताए।  

'आज पाँच दिन भयो बत्ती पनि छैन, चेक पनि काटिएको छैन', उनले भने, 'अनलाईन प्रणालीबाट चेक काट्नुपर्ने तर इन्टरनेट नहुँदा समस्या भएको हो।' उपभोक्ता समितिका पदाधिकारी गाउँपालिकामा आयोजनाको भुक्तानी लिन आउने गरेका छन्। विद्युतको बैकल्पिक उपाए अपनाउन सकिएपनि इन्टरनेटको बैकल्पिक उपाए पालिकासँग नभएको भन्दै उनले आर्थिक वर्षको अन्त्यमा अहिले काम गर्न समस्या भएको र नागरिकले पनि दुःख पाएको बताए।  

पालुङटार नगरपालिकामा पनि केहीदिन अघिको वर्षात सँगैको पहिरोले बिजुली अवरुद्ध छ। बिजुली अवरुद्ध भएको पाँच दिनसम्म मर्मत भएको छैन। लिगलिगकोटको डाँडो पहिरिएको छ भने पालुङटार हवाई मैदानदेखि माथि पहिरो जाँदा ठाउँठाउँमा तार छिनेको छ। सडक एकतर्फी भएको छ। विद्यूत नहुँदा इन्टरनेट छैन। इन्टरनेट नहुँदा नगरपालिकाको काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताए। ‘चार दिनसम्म लेखाको काम गर्न सकिएन, भुक्तानी दिन समस्या भयो’, उनले भने।  

इन्टरनेटको सुविधाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय आएर लेखाको काम सल्टाउनुपरेको लेखा अधिकृत सुबन शर्माले बताए। ‘केही काम कालेनिकाबाट गरेर फेरि नगरपालिका आएँ’, उनले भने, ‘अनलाईन सिस्टमबाट चेक काट्नुपर्ने भएकाले इन्टरनेट बिना लेखाको काम हुँदैन।’ अहिले भुक्तानी दिने समयमा स्थानीय तहमा अन्य समयमा भन्दा धेरै चाप हुन्छन्।  

चालु वर्षको योजना असार मसान्तभित्र सिध्यानुपर्ने अर्थात भुक्तानी लिनुपर्ने भएकाले पालिकामा सेवा लिनेको लर्को हुन्छ। हरेक दिन काम थुप्रिँदा समस्या भएको गुनासो स्थानीय तहहरुको छ। सिरानचोक गाउँपालिकामा पनि बत्ती नहुँदा तीन दिन काम गर्न समस्या भएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए।  

गोरखाको चुमनुब्री गाउँपालिकामा बत्ती, बाटो, इन्टरनेट केही नभएपछि सदरमुकामबाट चेक काट्नुपर्ने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए। ‘काम पुरै ठप्प भएपछि भुक्तानीको काम तलैबाट चलाउनुपर्ने बाध्यता भयो’, उनले भने।  

धार्चे गाउँपालिकाको केन्द्रमा विद्युत इन्टरनेट नभएपछि आरुघाटबाट सेवा दिनुपरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ बताउँछन्। ‘भुक्तानीका लागि पनि समस्या छ, योजनाको स्टमेट, प्राविधिक रिपोर्ट सबै तयार गर्नुपर्‍यो, बत्ती, इन्टरनेट नभएपछि केही काम हुँदैन’, उनले भने।  

बारपाक सुलिकोट गाउँपालिकामा पनि वर्षातपछिको चार दिन विद्युत र इन्टरनेट नहुँदा काम प्रभावित बन्यो। आरुघाट गाउँपालिकामा इन्टरनेट सेवा प्रभावकारी नहुँदा काम गर्न समस्या भएको र आउने जाने समस्या धेरै हुने गरेको गुनासो कर्मचारीको छ।  

भिमसेन थापा गाउँपालिकामा पनि इन्टरनेटका कारण  कहिलेकाँही भुक्तानीको प्रक्रिया ढिलो हुने गरेको छ। गण्डकी, शहीदलखन पनि ग्रामिण भेगमा भएकाले बत्ती र इन्टनेटको समस्या भएको गुनासो संम्बन्धित पालिकाका अध्यक्षहरुको छ। गोरखा नगरपालिकामा भने बत्ती र इन्टरनेट नभएर सेवा प्रभावित खासै नभएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए। 

विद्युत प्राधिकरले भने पहिरोका कारण बिभिन्न ठाउँमा तार छिनेको, पोल ढलेकोले निरन्तर मर्मत भईरहेको जनाएको छ। इन्टनरेट सेवा प्रदायक निजी कम्पनीले मर्मतमा चासो नदिँदा र उत्तरदायी नहुँदा सेवा राम्रो नपाएको गुनासो जनप्रतिनिधिको छ। नेपाल टेलिकमले लामो समय विद्युत अवरुद्ध भएपछि स्वतः इन्टरनेट सेवा प्रभावित हुने जनाएको छ।

प्रकाशित: २१ असार २०७८ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App