१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरामा ‘लेक टु लेक’ साईकल रुटको योजना

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तालदेखि तालसम्म साईकल रुट बनाउन पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँ छुट्टाएको छ । पोखरा महानगरपालिका शहरी योजना आयोग तथा साईकल सिटीको सहयोगमा तालदेखि ताल जोड्ने खाका तयार भएपछि महानगरपालिकाले बजेट छुट्टाएको हो ।  

पोखराको पर्यटनमा कोसेढुंगा सावित हुने विश्वास लिइएको पोखरा क्षेत्रका सातताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवद्र्धन तथा विकासको लागि ५० लाख बजेट प्रस्ताव गरिएको उपमेयर मन्जुदेवी गुरुङले जानकारी दिइन । उनका अनुसार तालदेखि ताल जोड्ने आवश्यक रुट तयार गर्ने सम्बन्धमा आवश्यक खाका महानगरपालिकामा आईसकेको छ ।

तयार पारिएको खाका अनुसार ८४ किलोमिटरको दुरी रुट बन्ने छ । प्रारम्भिक अध्ययन अनुसार ९८ किलोमिटर हुने अनुमान गरिएको थियो । कास्कीका सबै ताल साईकल रुट मार्फत जोडिनेछन् । ‘८४ किलोमिटरको रुट तयारसँगै खाका बनाइएको छ,’ पोखरा साईकल सिटीका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले भने, ‘महानगरले छुट्टाएको बजेटबाट साईकल स्ट्याण्ड, शौचालय, भ्यु प्वाईन्ट तथा साईन बोर्ड राखिने छ ।’  

सबै तालहरुमा साईकल स्ट्याण्ड बनाईने छ । विभिन्न प्वाईन्टहरुमा शौचालय बनाईने छ । भ्यु प्वाईन्ट बनाई दृष्यावलोकन गर्न सकिन्छ । क्याफे समेत सञ्चालन गर्न सकिने स्थानमा भ्यु प्वाईन्ट बनाईने उनले बताए । ‘अहिले ११५ वटा साईकल रुटको जानकारी दिने साईन बोर्ड राखिसकेका छौं,’ उनको भनाई थियो । बाराहीघाटबाट शुरु भएको ट्रयाक महानगरकै १६ वटा वडालाई जोड्नेछ ।

साईकल सिटी पोखराले प्रारम्भिक अध्ययन गर्दै म्याप बनाउने, भ्यु प्वाईन्ट राख्ने, रेखांकन गर्ने लगायतका कामहरु छ महिना अघि सकिएको थियो । साईकल ट्रयाक निर्माण गरेपछि साईकलको यात्रा ताल टु ताल हुनेछ । शहरी क्षेत्रमै भएको सडकलाई मार्किङ गरेर साईकल ट्रयाकको लागि लेन बनाईने छ । सिटीले साईकल ट्रयाक बनाउन भईरहेको सडकलाई उपयोग गरिने छ । भईरहेको सडकलाई ट्रयाकको लागि रेखांकन गरिने उनले बताए ।  

‘नौवटा ताल जोड्ने ८४ किलोमिटरको साईकल ट्रयाक बन्ने छ,’ उनले भने, ‘ट्रयाक भएको ठाँउमा रेखांकन गर्ने र नभएको ठाँउमा नयाँ ट्रयाक बनाईने छ ।’ बजार क्षेत्रको सडकलाई रेखांकन गर्दै साईकल लेन बनाइने उनको भनाई थियो । साईकल ट्रयाक निर्माणको लागि अध्ययन गर्न महानगरपालिकाले चालु आर्थिक वर्षको लागि १५ लाख रुपैयाँ छुट्टाएको थियो ।  

साईकल ट्रयाकले रुपा गाँउपालिकालाई समेत छुनेछ । बाराहीघाटबाट शुरु हुने ट्रयाकले महानगरकै काहुँडाँडा हुदैं कन्दनी डाँडा, जलधारे, सुन्दरीडाँडा लगायतका उचाईमा पुगिन्छ । फेवाताल–कमलताल(कमलपोखरी),गुँदे, खास्टे, न्युरेनी, मैदी, दिपाङ, बेगनास र रुपा ताललाई छुने छ । त्यसपछि ट्रयाक पोखरा महानगरपालिका–३३ भरतपोखरी हुदैं कृस्ति, निर्मलपोखरी, पुम्दीकोट हुदैं ड्यामसाईडबाट बाराहीघाटमै आएर टुंगिने उनले बताए ।

पोखरा सराङकोट–कास्कीकोट, नागडाडा हुदैं पन्चासेसम्म साईकल ट्रयाक छ । पोखराकै खहरेचोकदेखि पामे हुदैं घाटीछिना–पन्चासेसम्म पनि साईकल ट्रयाक बनाउन सकिने साईक्लिङ संघले जनाएको छ । फेवातालको वरिपरि समेत पदमार्ग बनाउने प्रदेश सरकारले उल्लेख गरेको छ । ताल वरिपरी पदमार्ग मात्रै नभई साईकल रुटसहितको पदमार्ग बनाउन साईकल सिटी, साईक्लिङ संघले समेत आवाज उठाउँदै आएको छ । 

प्रकाशित: १९ असार २०७८ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App