१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

११ वर्षपछि आउँदै माथिल्लो तामाकोसी, ६ मध्ये पहिलो ‘टर्बाइन’ यहीं साताबाट घुमाइँदै

स्वदेशी लगानीको सबैभन्दा ठूलो बहुप्रतिक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जडान भएका ६ वटा मध्ये पहिलो ‘टर्बाइन’ यहीं साताभित्र घुमाएर ७६ मेगावाट बिजुली उत्पादन गरी आयोजनाबाट विद्युत उत्पादनको काम प्रारम्भ गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।  

उत्तरी तिब्बतसंग सीमा जोडिएको दोलखाको लामावगर गाउँमा बाँध बाँधेर तामाकोसी नदीको पानीलाई ८ किलोमिटर लामो सुरुङ मार्गबाट लामावगरकै गोंगरमा निर्माण भएको भुमिगत विद्युत गृहभित्र खसालेपछि त्यहाँ जडान भएका ६ वटा ‘टर्बाईन’ घुमाएर ४ सय ५६ मेगावाट बिजुली निकालिन लागेको आयोजनाको पहिलो टर्बाइन घुमाउनुलाई अधिकारीहरुले आयोजनाका लागि सफलताको ‘कोशेढुंगा’ भनेका छन्।

यहीं साताको अन्तिमसम्ममा पहिलो ‘युनिट’ अर्थात ‘टर्बाइन’ घुमाउन आइतबारसम्म परीक्षणका सबै काम सकिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए। ‘८ किलोमिटर लामो सुरुङमा कतै चुहावट वा केही समस्या हुन्छ की भनेर ६० घण्टा बढी पानी हालेर परीक्षण सक्यौं’, उनले भने,‘कतै केही ‘लिकेज’ र समस्या देखिएन, यो क्षण समग्र आयोजनाका निम्ती कोशेढुंगा हो।’  

न्यौपानेका अनुसार अब ३/४ दिनभित्रमा पहिलो युनिट चलाउने लक्ष्य राखिएको छ। लामावगरको गोंगर स्थित भुमिगत विद्युत गृहभित्रका सबै काम सकिएको छ। भुमिगत विद्युत गृहभित्र उत्पादन भएको बिजुली बाहिर निकालेर खिम्तीसम्म्म लैजान गोंगर गाउँदेखि खिम्तीसम्म १ सय २४ वटा टावरमा तार टाँगेर निर्माण गरिएको ४७ किलोमिटर लामो ट्रान्समिसन लाईन तयारी हालतमा राखिएको छ।  

ट्रान्समिसन लाईन मार्फत खिम्ती सवस्टेशनमा पुर्‍याइएको माथिल्लो तामाकोसीको बिजुली मालु गाउँतर्फ निर्माण भएका दुई वटा ‘मल्टी सर्किट’ टावर मार्फत सवस्टेशनभित्र प्रवेश गराएर फुलासीतर्फ निर्माण भएका अर्को दुई वटा ‘मल्टी सर्किट टावर’ मार्फत बाहिर निकालेपछि ढल्केबर र काठमाडौंतर्फ पठाइन्छ। खिम्तीबाट धनुषाको ढल्केबर र काठमाडौंतर्फ छुट्टाछुट्टै प्रशारण लाइनहरु यसअघि नै तयारी हालतमा छन्। अहिले सवस्टेशनभित्र तार तान्ने काम चलिरहेको र यो काम तीन दिनभित्र सकिने अनुमान रहेको आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले सुनाए। यो सवस्टेशनमा माथिल्लो तामाकोसीसंगै रामेछाप र दोलखामा उत्पादन अन्य आयोजनाका बिजुली समेत जडान हुनेछ।

‘प्रशारण लाइनको निरीक्षणमा टोली खटियो’

माथिल्लो तामाकोसीको एउटा युनिट चलाउने तयारी थालिएपछि आयोजनाको बिजुली ओसार्ने गोंगर–खिम्ती प्रशारण लाइनमा कुनै अवरोध रहे नरहेको हेर्न दुईवटा छुट्टाछुट्टै टोली परिचालन भएको छ। गोंगर र खिम्तीतर्फबाट खटिएको टोलीले प्रशारण लाइनका टावर र तारहरुमा रुख लगायतको अवरोध रहे नरहेको हेरेर तीन दिनभित्र आयोजनालाई रिपोर्ट दिनेछ।  

‘अर्को युनिट बढीमा दुई सातामै’

पहिलो युनिटबाट बिजुली बाल्ने तयारी थालेको आयोजनाले ६ वटा मध्ये दोस्रो युनिट बढीमा दुई साताभित्र चालु गर्ने तयारी थालेको छ। डाक्टर न्यौपानेका अनुसार दुई वटा युनिटको यसअघि नै परीक्षण सकिएकाले बढीमा दुई साताभित्र दुईवटा युनिटका टर्बाइन घुमाउने लक्ष्य आयोजनाको छ। ‘दोस्रो युनिटको पनि परीक्षण सकिएकाले लगत्तै सुरु गर्न लागेको हौं’, उनले भने। न्यौपानेले अन्य ४ वटा युनिटको भने परीक्षण गर्न समय लाग्ने कारण साउन अन्तिम या भदौं पहिलो साता मात्र आयोजनाबाट पूर्ण क्षमतामा ४ सय ५६ मेगावाट बिजुली निकालिनेछ।

नेपाली लगानीको सबैभन्दा ठूलो यो आयोजना २०६७ सालबाट सुरु भएको थियो। प्रारम्भिक कामहरु भने २०६३ देखि नै चलेको थियो। ५ वर्षभित्र सक्ने लक्ष्य राखिएको आयोजना, भूकम्प, नाकाबन्दी, कोरोना महामारी, ठेकेदारको लापरबाही लगायत विविध कारणले ११ वर्षमा सकिन लागेको छ।

प्रकाशित: १४ असार २०७८ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App