coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निषेधाज्ञाले खेतमै कुहिन थाल्यो तरकारी

किसानले उब्जाएको बेमौसमी तरकारी खेतबारीमै कुहिन थालेको छ। मुलुकभर फैलिएको कोरोना भाइरस संक्रमणरोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञाका कारण किसानको उब्जनी बिक्री नभएको हो। सुनकोसी गाँउपालिका–७, नागीमा व्यावसायिक कृषिमा लागेका युवाले फलाएको बेमौसमी काउली बिक्री नहुँदा उनीहरू चिन्तित छन्। 

तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको तर कोरोना भाइरसका कारण मर्का परेको किसान बताउँछन्। ‘काउली बिक्री नभएर खेतमै कुहिने अवस्था आएको छ,’ सुनकोसी गाँउपालिका–७ का नविन कार्कीले नागरिकसँग भने, ‘दैनिक चार सय केजीभन्दा बढी काउली तयार हुन्छ, बेच्ने ठाउँ छैन।’ उनले कोरोना भाइरसका कारण सदरमुकाम सिन्धुलीमाढीमा समेत बिक्री नभएको बताए। युवाले व्यक्तिगतर सामुहिक तरकारी खेती गर्दै आएका छन्। 

‘हामीले १५रोपनी जग्गामा काउलीमात्रै फलाएका छौं,’ उनले भने, ‘बिक्री भएन भने गाईभैंसीलाई हाल्नुबाहेक अन्य उपाय छैन।’ विगतमा खेतबारीमै पुग्ने व्यापारीलाई यस वर्ष किसानले आफैं भेट्न खोज्दा समेत तरकारी बिक्री हुने अवस्था छैन। ‘दैनिक सयौं किलो तरकारी उत्पादन हुन्छ, व्यापारी थोरै लिने भन्छन्, पु¥याइदिएपछि मनोमानी भाउ गर्छन्,’ उनले भने। तयार भएको काउली बेच्न दुई दिन ढिला भए बिग्रेर जाने अर्का किसानरामकृष्ण भट्टराई बताउँछन्।  

‘काउली बेच्ने बेला निषेधाज्ञा भएकाले हाम्रो मिहिनेत त्यसै खेर गयो, ‘उनले भने, यस वर्षको तरकारी खेतबारीमै कुहिने भयो। खेतबारीमा काउली, बन्दा तयारी अवस्थामारहेको उनले जनाए। बिपीराजमार्ग निर्माणसँगै गाउँगाउँमा सडकको पहुँच पुगेपछि सिन्धुलीका विकट ग्रामीण क्षेत्रका किसान केही वर्षदेखि व्यावसायिक तरकारी खेतीमा जुटेका छन्।  

किसानका उब्जनी बिक्री नहुनुमाराजमार्गका होटल बन्द हुनु अर्को कारण भएको भट्टराईले बताए। गाडीमा डुलाएर बिक्री गर्दा पनि सबै बिक्ने सम्भावना उनले देखेका छैनन्। ‘काठमाडौं लगायतका ठूला सहरमा लैजान सकिने अवस्था छैन,’ उनले भने, ‘खेती गरियो, उत्पादन पनिराम्रो छ। तर बेच्न सकिएन।’ कार्की गत वर्ष पनि लकडाउनले गर्दा उचित मूल्य नपाएको गुनासो गर्छन्। 

‘गत वर्ष गाँउपालिकाले गाडी उपलब्ध गराएर सघाएको थियो,’ उनले भने, ‘यस वर्ष गाँउपालिकाको गाडी कोभिड १९ मा प्रयोग भएको भन्ने जानकारी आएको छ, त्यसैले कतै लान सकिएन। खेतमै कुहिँदै छ।’ उनले गाउँभरी काउली भएकाले सबै किसान मर्कामा परेको बताए। सिन्धुली सदरमुकामस्थित तरकारी बजारमा समेत तरकारी किन्ने उपभोक्ता कम भएपछि तरकारी आयात घटेको छ। 

प्रकाशित: २० जेष्ठ २०७८ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App