९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

लेखा समितिले माग्यो स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवरण

फाइल तस्बिर

कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले कोभिड–१९ काे महामारी रोकथाम तथा नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य संस्थालाई अक्सिजन प्लान्ट तथा अक्सिजनसम्बन्धी अन्य सामाग्री खरिद गर्न विनियोजित बजेटबाट स्वास्थ्य संस्थाहरूले गरेका सामाग्री खरिदसम्बन्धी विवरण माग गरेको छ। बिहीबार बसेको समितिको बैठकले तीन दिनभित्रमा उक्त विवरण उपलब्ध गराउन माग गरेको हो।

साथै समितिको बैठकले महामारीको प्रकोप बढ्दो क्रममा रहेकाले रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न संघीय सरकारसँग समन्वय गरी तत्काल सम्पूर्ण कर्णाली प्रदेशका जनतालाई व्यवस्था गर्न, अक्सिजन सिलिन्डर नपुगेका स्वास्थ्य संस्थामा तत्काल पुर्‍याउने व्यवस्था गर्न र कर्णाली प्रदेशको विकट क्षेत्र तथा स्वास्थ्य सुविधा नपुगेका क्षेत्रमा प्राथमिक स्वास्थ्य सुविधा पुर्‍याउन समितिले निर्देशन दिएको छ। ‘बहुवर्षीय आयोजना के–कति रकमको र कुन–कुन क्षेत्रमा छनोट भएका छन् र सो कार्य प्रक्रियामा रहेका, बोलपत्र आह्वान भएका विवरणहरू सात दिनभित्र प्राप्त हुने गरी माग गरिएको छ,’ समितिका सचिव उपेन्द्रकुमार गुरुङले भने, ‘बोलपत्र आह्वान अथवा कार्य प्रक्रिया सुरु नगरिएका बहुवर्षीय आयोजनाहरू तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको छ।’ 

उनका अनुसार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष ०७६/७७ र ०७७/०७८ मा गरेका डिपीआरसम्बन्धी विवरण माग गर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ मा व्यवस्था भएको सिफारिस तथा समन्वय समितिले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि योजना छनोट तथा सिफारिस गरेबमोजिम नगरेको देखिएकोले सो समितिको छनोट तथा सिफारिस भित्र रही छनोट गर्न प्रदेश सरकारलाई निर्देशन दिने निर्णय समितिले गरेको छ। चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले गरेका रकमान्तरसम्बन्धी विवरण माग गर्ने र कोरोना भाइरसको महामारी नियन्त्रणका सल्यान जिल्ला अस्पतालले खरिद गरेको अक्सिजन कन्सन्ट्रेटर खरिदसम्बन्धी कागजात प्राप्त भएको र सो सम्बन्धी अन्य स्वास्थ्य संस्थाले गरेको अक्सिजन प्लान्ट तथा अक्सिजन कन्सन्ट्रेटर खरिदसम्बन्धी अध्ययन गर्नका लागि सोसम्बन्धी विज्ञ परामर्शदाता बोलाई अध्ययन कार्य गर्न दिने निर्णय भएको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App