४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धबाबा सुरुङमार्गका लागि ग्लोबल टेण्डर

बहुप्रतिक्षित बुटवल पाल्पा सडकको सिद्धबाबामा सुरुङ निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । सिद्धबाबा सुरुङमार्गका लागि सडक विभागले ४५ दिनको समय सीमा तोकेर आइतबार ग्लोबल टेण्डर आह्वान गरेको हो । जस अनुरूप आगामी असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरूले बोलपत्र बुझाउनु पर्नेछ । 

ग्लोबल टेण्डरमा पाँच वर्षभित्र सुरुङमार्ग बनाइसक्नुपर्ने भनिएको छ। स्वीस कम्पनीले यसअघि गरेको अध्ययन प्रतिवेदनअनुसार नै सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्ने गरी टेण्डर आह्वान गरिएको सडक विभागका उपमहानिर्देशक विजय जैशीले जनकारी दिए। स्वीस अध्ययनले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको तल्लो सिद्धबाबादेखि दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र अत्यन्तै जोखिमयुक्त रहेको निष्कर्ष निकालेको छ। त्यस अन्तर्गत पाल्पामा पर्ने माथिल्लो सिद्धबाबादेखि रुपन्देहीमा पर्ने तल्लो सिद्धबाबा सम्मको १ किलोमिटर १२६ मिटरमा सुरुङ बन्नेछ। सुरुङ सुरु हुनु अगाडि,पछाडि अर्थात् बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटरको डबल लेन रक सेड, बाँकीमा माथिल्लो भागमा रक नेट, स्लोप प्राटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाइने छ। 

सिद्धबाबा सुरुङमार्गका लागि नेपाल सरकारको सहयोगमा स्वीस कम्पनीले सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरेको हो। स्वीस कन्सल्ट्यान्ट आइटीइसीओ–एएफले सिद्धबाबा क्षेत्रको भौगर्भिक अध्ययनपछि २०७६ को साउनमै मन्त्रालयलाई प्रारम्भिक डिजाइन सहितको डिपिआर बुझाइएको थियो। जसमा ८ अर्ब अनुमानित लागत स्टमेट निकालिएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले ०७६ कै मंसिरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुरुङमार्ग निर्माणको प्रक्रिया अगाडि बढाउन सहमति दिँदै वार्षिक बजेटमा प्रस्ताव गर्ने गरी १० अर्ब १५ करोड बजेटको सुनिश्चिता गरेको थियो। सोही बजेटको सीमाभित्र रहेर सुरुङमार्ग बन्ने विभागले जनाएको छ। 

स्रोत सुनिश्चित भएको डेढ वर्षपछि सुरुङमार्गका लागि ग्लोबल टेण्डर आह्वान गरिएको हो । पछिल्लो करिब दश वर्षमा भएका निर्वाचनमा रुपन्देही र पाल्पाका हरेक सांसद्को चुनावी नारा बन्ने गरेको यो सुरुङमार्ग सिद्धबाबाको पहिरोबाट भइरहेको धनजनको क्षति रोक्न महत्वपूर्ण आयोजना मानिएको छ । किनकि बुटवल पाल्पा सडकको सिद्धबाबा खण्डमा हिँउद वर्षा बाह्रै मास पहिरोको जोखिम हुन्छ। सिद्धबाबाको भिरबाट खस्ने बडेमानका पहाड जत्रा ढुंगाले कैयौं दिन बाटो अवरुद्ध हुन्छ। यात्रुहरू घन्टौसम्म जोखिम क्षेत्रमै सडकमा अलपत्र पर्छन्। ती नै ढुंगाले च्यापेर थुप्रै सवारी साधन पुरिएका छन्। पहिरोमा परेर कैयौंले ज्यान गुमाएका छन्। सयौं अंगभंग भएका छन्  करोडौको सम्पत्ति नाश भएको छ। 

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबाको पहिरोमा पुरिएर पछिल्लो दश वर्षमा ७० जनाले ज्यान गुमाएका छन्। दुई सय बढीको संख्यामा घाइते भएका छन् । अर्बौको सवारी साधन नाश भएको छ। यो सडक खण्डले पाल्पा,गुल्मी, स्याङजा,बाग्लुङ, पर्वत, लगायत लुम्बिनी र गण्डकी प्रदेशका थुप्रै पहाडी जिल्लालाई तराइसँग जोड्छ । ट्राफिक प्रहरीका अनुसार यहाँ दैनिक ५ हजार बढी सवारी साधन ओहोरदोहोर गर्छन्।

प्रकाशित: ९ जेष्ठ २०७८ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App