१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ताप्लेजुङमै व्यवसायिक अक्सिजन प्लान्ट स्थापनाको बहस सुरु

ताप्लेजुङमै व्यवसायिक रुपले अक्सिजन प्लान्ट स्थापनाको बहस सुरु भएको छ । अक्सिजनको अभाव टार्न र यहिँबाट व्यवसायिक उत्पादन थाल्ने बिषयले अहिले स्थान पाउन थालेको हो । इञ्जिनियर वीरेन्द्र श्रेष्ठले जलविद्युत परियोजनाको प्रशस्त सम्भावना भएको र अक्सिजन प्लान्ट स्थापनाका बजेट व्यवस्थापन पनि त्यति असहज नहुने भएकोले यसलाइ प्रकृयामा लैजान प्रस्ताव गरेका छन् । जलविद्युत परियोजनामा लामो समय देखि काम गर्दै आएका श्रेष्ठले अक्सिजन प्लान्ट स्थापनाका लागि यहाँका सबै स्थानीय तहका प्रमुखहरुसंग प्रस्ताव गर्न थालेको बताएका छन् ।

आफूले फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ र आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलासंग प्रस्ताव गरेको श्रेष्ठले जानकारी दिए । सबै स्थानीय तहसंग यसका बारेमा प्रस्ताव गर्ने बताउँदै श्रेष्ठले भने, ‘ताप्लेजुङका स्थानीय तहले सामूहिक रुपमा प्लान्ट स्थापनाको अपनत्व लिने गरी योजन बनाउने हो भने यो ठूलो कुरै छैन ।' उनले ७०–८० लाखसम्ममा यहिँ अक्सिजन प्लान्ट स्थापना गर्न सकिने आफूले जानकारी पाएको बताए । जटिल कोरोना संक्रमित बिरामीका लागि अक्सिजनको अभाव भइरहेको खबर समेत आउने र यस्ता महामारी भविष्यमा अरु पनि आउन सक्ने अवस्थालाइ समेत दृष्टीगत गर्दै अक्सिजन प्लान्ट स्थापनाको पहलकदमी दिन सके ताप्लेजुङसहितका पहाडी जिल्लाहरुमा लाभ पुग्न सक्ने श्रेष्ठले बताए । ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामा अक्सिजन प्लान्ट अक्सिजनको अभाव टार्ने दीर्घकालीन उपाय भएको बताउँछन् । 

अहिले अक्सिजनको अत्यधिक माग भइरहेका बेला अक्सिजन प्लान्टको विषय उठेपनि प्लान्ट स्थापना गर्न सके व्यवसायिक उत्पादन थालिने र आर्थिक आम्दानीको स्रोत समेत बन्ने लामाको भनाइ छ । कोरोना महामारीका बेला ताप्लेजुङका उद्योगी, व्यवसायीसहितका दाता, जनप्रतिनिधि र स्थानीय सरकारको पहलमा अक्सिजनको अभाव पूर्तिको प्रयास भइहेको भन्दै लामाले प्लान्ट स्थापना गर्न सके अक्सिजनको दीर्घकालिन समाधान दिन सकिने बताए । ईञ्जिनियर श्रेष्ठले ताप्लेजुङसहितका पहाडी जिल्लाहरुमा निमार्णाधिन र प्रकृयामा रहेका जलबिद्युत परियोजनाको संख्या धेरै रहेकोले महामारी बाहेक अरु बेला उत्पादित अक्सिजन ति परियोजनामा प्रयोग गर्न सकिने उनले बताए । ताप्लेजुङमै अक्सिजन प्लान्ट स्थापना हुन सके त्यसको खपत छिमेकी जिल्ला पाँचथर,तेह्रथुम र संखुवासभासम्म हुन सक्ने ईञ्जिनयर श्रेष्ठको आङ्कलन छ ।  

हामीलाई किन आवश्यक छ अक्सिजन ?  

प्राण वायुका रुपमा रहेको अक्सिजन जैविक प्राणीलाई नभई नहुने एक महत्वपूर्ण ग्यास हो । श्वासप्रश्वास प्रणालीमा मुख्य भूमिका यसैको हुन्छ । विज्ञहरुका अनुसार शरीरका कोषहरुको सञ्चालनका लागि अक्सिजन नभई नहुने चिज हो । शरीरको सामान्य कार्य सञ्चालनका लागि यो महत्वपूर्ण छ । अक्सिजन अभावमा शरीरका कोषिकाहरुले काम गर्न छाड्ने र मर्ने गर्छन् । अर्थात् शरीरका हरेक अंग र भागहरुलाई काम गर्नका लागि अक्सिजन चाहिन्छ । अक्सिजन अभावमा शरीरले काम गर्न छाड्छ । हेल्थ जर्नलमा उल्लेख भए अनुसार कोरोना संक्रमितहरुको रगतमा अक्सिजनको मात्रा धेरैले घट्ने गरेको छ । कोरोना संक्रमण भएपछि भाइरसले फोक्सोमा आक्रमण गर्छ । फोक्सोको इन्फेक्सन भएपछि कोरोनाले निमोनिया गराउँछ । निमोनिया अर्थात् फोक्सोको इन्फेक्सन भयो भने फोक्सोले जसरी काम गर्नुपर्ने त्यसरी गर्न सक्दैन । त्यसका लागि अक्सिजनको प्रवाह पनि कमी हुन्छ । त्यसैले बाहिरबाट अक्सिजन दिनुपर्ने आवश्यकता पर्छ ।  

अक्सिजन प्लान्ट

अक्सिजन प्लान्ट पनि एक प्रकारको कन्सन्ट्रेटर जस्तै हो । यसले पनि वातावरणमा भएको हावाबाट नै अक्सिजन निकाल्ने गर्छ । यसबाट तरल र ग्यास अवस्थाको दुवै अक्सिजन निकाल्न सकिने डा.भुसालले बताए । वातावरणमा लिएको हावाबाट नाइट्रोजनलाई छुट्टाउने,त्यसपछि अनि अन्य ग्यासहरुलाई हटाएर शुद्ध अक्सिजनलाई कम्प्रेस गरेर अक्सिजन उत्पादन गरिन्छ । कम्प्रेस गरिएको अक्सिजनलाई सिलिन्डरमा भरिन्छ । यसको शुद्धता ९९ प्रतिशतसम्म हुने विज्ञले बताएका छन् ।  

अक्सिजन कन्सन्ट्रेटर भनेको के हो ?  

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन,२१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने बताइन्छ । यसरी निकालिएको अक्सिजन लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीहरुका लागि प्रयोग गर्न सकिन्छ । यो आईसीयूमा उपचाररत बिरामीहरुका लागि भने प्रयोग नगर्न सुझाव दिइएको छ । विज्ञका अनुसार अक्सिजन कन्सन्ट्रेटर सिलिन्डरको विकल्प भए पनि एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन मात्रा उपलब्ध गराउन सक्छ ।

प्रकाशित: ४ जेष्ठ २०७८ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App