१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

गोदावरी सनराइज सम्मेलन केन्द्र: पाँच महिनामा बन्नुपर्नेमा १८ महिना लाग्यो

सहरी विकास तथा भवन निर्माण विभागले २०७६ कात्तिकमा तीन हजार सीट क्षमताको गोदावरी सनराइज (सम्मेलन केन्द्र) पाँच महिनाभित्रै निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता गरेको थियो। तर ठेकेदार कम्पनी केसी/समानान्तर जेभीले तोकिएको समयभित्रै सम्मेलन केन्द्र निर्माण गर्न सकेन। त्यो बेला नेपालमा कोभिड–१९ को खासै असर देखिएको थिएन। 

सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरेको थियो। त्यसअघि कुनै पनि पूर्वाधार निर्माणको काम रोकिएको थिएन्। जबकि यो परियोजनाको काम २०७७ वैशाख महिनाभित्रै सम्पन्न हुनुपर्ने थियो।  त्यतिमात्रै होइन, सरकारले कोभिड–१९ को कारणले पूर्वाधार निर्माणको आयोजना प्रभावित भएको भन्दै एकमुष्ठ रूपमा ६ महिना म्याद थप गर्ने निर्णय पनि गरेको थियो। थप गरिएको ६ महिनामा पनि ठेकेदार कम्पनीले सम्मेलन केन्द्रको निर्माण सकेन। सम्मेलन केन्द्रको सुरुआती लागत भ्याटसहित ६५ करोड ७४ लाख रूपैयाँ थियो।  

अहिले सम्मेलन केन्द्रको लागत ८० करोड रूपैयाँभन्दा माथि पुगिसकेको छ। तैपनि सहरी विकासमन्त्री प्रभु शाह तोकिएको समयभन्दा झण्डै एक वर्ष आयोजना सकिँदा उल्टै सरकारले गर्ने विकासको रफ्तार बढेको भन्दै कुप्रचारमा देखिएका छन्। सहरी विकासमन्त्री शाहले बालुवाटारमा आयोजित भर्चुअल उद्घाटन सम्मेलनमा ५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने आयोजना १८ महिनामा सकिँदा उल्टै सरकारको विकासको गति बढेको भन्दै गलत प्रचार गरे।  

‘यो निर्माण अवधिलाई हेर्‍यौं भने नेपाल सरकारले कुन गतिमा काम गरिरहेको छ भनेर हामी आकलन गर्न सक्छौं। झण्डै निर्माण अवधिलाई हेर्ने हो भने दुई वर्ष पनि पुगेको छैन। झण्डै १८ महिना वरिपरि छ। जबकि यो अवधि भनेको कोरोनाले महामारीले आक्रान्त भएको समय हो,’ मन्त्री शाहले भर्चुअल उद्घाटन कार्यक्रमा भने, ‘नेपालमैं कैयौं स्वार्थी, गलत सोच भएका राजनीतिक व्यक्तिहरूले देशलाई अराजकतातर्र्फ, अन्योलतर्फ, भ्रम छर्ने, निराश गराउने दुष्प्रयास गरिरहेका छन्। यो कालखण्डमा जसरी निर्माण अगाडि बढ्यो, यो भवनको निर्माणले देखाउँछ कि नेपाल सरकार कुन गतिमा काम गरिरहेको छ। यति ठूलो प्राजेक्टलाई यति छोटो समयमा बनाइयो कि यो आफैंले नेपाल सरकारको गति र स्टाइललाई देखाउँछ।’ मन्त्री शाहले प्रधानमन्त्री ओलीको विशेष निगरानीकै कारणले निर्माण सम्पन्न भएको दाबी गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले मुलुक थिल्थिलो परेको बेला तीन हजार सिट क्षमताको गोदावरी सनराइज (सम्मेलन केन्द्र) को भर्चुअल माध्यमबाट शुक्रबार उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारबाट भर्चुअल उद्घाटन गर्दै कोभिड १९ विरुद्धको लडाई सँँगसँगै पूर्वाधार विकासको काम समेत भइरहेको बताए। ‘केही समयअघि मात्रै फेरि एकपल्ट नयाँ प्रधानमन्त्रीको शपथग्रहण गरेको छु। आजैको दिन गोदावरी सनराइज सभागृहको उद्घाटन गरेका छौं।’  प्रधानमन्त्री ओलीले तोकिएको समयभन्दा झण्डै एक वर्ष ढिलासुस्ती हुँदा पनि निर्माण गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। 

‘२०७६ सालमा सम्झौता गरेर प्रारम्भ गरेको यो परियोजना २०७८ सालभित्रै निर्माण सम्पन्न गर्न पाएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यसको निर्माण कार्य कोभिड १९ को महामारीको बीचमा नै भएको छ। जोखिम मोलेर पनि यस कार्यलाई अघि बढाउने ठेकेदार कम्पनी र इन्जिनियर, कामदार, सिकर्मी, डकर्मी सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु।’ प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको लडाइँ र विकास निर्माणको काम सँगसँगै भइरहेको दाबी गरे।

सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले यो नेपालकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र रहेको बताए। ‘अहिले अन्तर्राष्ट्रिय स्तरको सभा/सम्मेलन गर्न ठाउँको अभाव थियो,’ उनले भने, ‘सनराइज सम्मेलन केन्द्र बनेसँगै अब अन्तराष्ट्रिय सभा/सम्मेलन गर्न सहज हुनेछ।’ यो सम्मेलन केन्द्र गोदावरी नगरपालिका वडा नम्बर ३ मा छ। सम्मेलन केन्द्रका हलमा दुईवटा भिभिआइपी कक्ष समेत निर्माण गरिएको छ। यो सम्मेलन केन्द्र ४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको छ। सम्मेलन केन्द्रको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना जग्गा ओगटेको छ। तीन रोपनीमा सडक र १६ रोपनीमा बगैंचा तथा हरियाली पार्क तयार पारिएको छ। १५ रोपनी तीन आनामा पार्किङ निर्माण गरिएको छ। सम्मेलन केन्द्रको भुइँतलामा मुख्य हल छ। उत्तर र दक्षिणमा प्रवेश हल छन्। यसमा साना बहुउद्देश्यीय हल र अनुवाद कक्ष समेत छन्। 

प्रकाशित: २ जेष्ठ २०७८ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App