२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अर्थ

ढिक्का सुन बेच्दा गहनालाई सुन अभाव

काठमाडौं-उपभोक्तालाई ढिक्का सुन बेच्न नपाइने नियम व्यापारीले उल्लंघन गर्दा बजारमा महँगो धातुको अभाव चर्किंदै गएको छ। नेपाल राष्ट्र बैंक र वाणिज्य विभागले प्रभावकारी अनुगमन नगर्दा बजारमा ढिक्का सुनको कारोबार बढ्दै गएको हो।


व्यवसायीले दैनिक ३५ किलो सुनको माग रहेकोमा पर्याप्त आपूर्ति नहुँदा अभाव चर्केको बताइरहँदा यसमा उनीहरुकै भूमिका मुख्य देखिएको छ। व्यापारीले नियमविपरीत उपभोक्तालाई ढिक्का सुन बेच्दा गहनाको लागि आवश्यक सुनको अभाव बढेको छ।

केन्द्रीय बैंकले उपभोक्तालाई ढिक्का सुन किन्ने छुट दिँदा थुपार्ने प्रवृत्ति बढ्ने र भुक्तान सन्तुलन ऋणात्मक हुने भन्दै गरगहनाबाहेक उपभोक्ताले कच्चा सुन र ढिक्का किन्न नपाउने नियम बनाएको हो। मंसिरमा गरगहना खपत हुने विवाहको लगन धेरै हुने हुँदा सुनको माग अरुबेलाको दाँजोमा बढ्ने गर्छ। यो बेला गरगहनासहित ढिक्का सुनको कारोबार बढी भइरहेको व्यवसायी स्वयं बताउँछन्। २८ गते विवाहका लागि बुधबार सुन किन्दै गरेकी बूढानीलकण्ठकी सुभद्रा पौडेलले न्युरोड र मखनमा गरी ४ तोला ढिक्का सुनसमेत किनेको बताइन्। 'धेरै ठाउँ घुम्दा कतै तयारी गहना पनि छैन भनियो, कतै ढिक्का सुन नै पाइयो,' उनले सुनाइन्। विवाहको मिति नजिकिएकोले आफूले तोकिएको मूल्यभन्दा तोलामा १५ सय रुपैयाँ बढी तिरेको उनले बताइन्।

केही व्यापारीले ढिक्का सुन बिक्री गर्न नपाइने नियम लत्याएर बेचिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए। 'विशेष गरी मखनतिर साना व्यापारीले ढिक्का सुनको कारोबार गरिरहेको गुनासो आइरहेको छ,' उनले भने। नियमन निकायले ढिक्का सुनको कारोबारतिर ध्यान नदिँदा केही व्यापारीले नाफा खाएर यसको कारोबार गरिरहेको उनको भनाइ छ।

राष्ट्र बैंकको स्वीकृतिमा एक दर्जन वाणिज्य बैंकले हाल पालैपालो दैनिक २० किलोका दरले व्यवसायीलाई बेचिरहेका छन्। वाणिज्य बैंकहरुले नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सिफारिसमा यी संस्थाका सदस्यलाई ढिक्का सुन बेच्छन्। व्यापारीले त्यसबाट गरगहना बनाएर उपभोक्तालाई बेच्नुपर्ने हो। तर केही व्यवसायीले बैंकबाट लिएको ढिक्का सुन सीधै उपभोक्तालाई बिक्री गर्दै आइरहेको व्यवसायी नै बताउँछन्। देशभर १२ हजारभन्दा बढी सुनचाँदी पसल रहेको दुवै महासंघले जनाएका छन्। सबैले कोटाकै सुनबाट कारोबार गर्नुपर्ने हुन्छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली सुन व्यापारीले अनधिकृत रुपमा ढिक्का सुनको कारोबार गरेको पाइए सम्बन्धित निकायसँग समन्वय गरेर कारबाही गरिने बताउँछन्। 'राष्ट्र बैंकले उपभोक्तालाई सुनको ढिक्का बेच्न बन्देज लगाएको छ, नियमविपरीत त्यसो गरेको पाइए वाणिज्य विभाग र स्थानीय प्रशासनसँग समन्वय गरेर कारबाही गरिन्छ,' ज्ञवालीले बुधबार नागरिकसँग भने। पछिल्लोपटक ढिक्का सुनको कारोबार बढ्दै गएको स्वीकार्दै यो विषयमा तुरुन्त सम्बन्धित ठाउँमा कुरा गरेर अनुगमन गर्नेसमेत उनले बताए।

व्यवसायी भने ढिक्का सुनको कारोबारलाई मात्र अभावको कारण मान्न तयार छैनन्। उनीहरुका अनुसार विवाहको सिजनमा दैनिक ५० किलोसम्म सुनको माग हुन्छ। 'मागभन्दा थोरै सुन व्यवसायीले पाएपछि स्वतः बजारमा अभाव देखिन्छ,' महासंघका अध्यक्ष शाक्यले भने, 'साधारण अवस्थामा पनि दैनिक ३५ किलो आवश्यक पर्छ अहिले त झन् लगनको सिजन छ।'

सुन अभावको अर्को कारण भारतमा सुन आयात घटाउन त्यहाँको सरकारले चालेको कदम मान्छन् व्यवसायी। भारतमा यो वर्ष नोभेम्बरमा अघिल्लो वर्ष सोही महिनाको तुलनामा सुन आयात ८०.५५ प्रतिशतले घटेको छ। भारतीय समाचार एजेन्सीहरुका अनुसार गत वर्ष नोभेम्बरमा ५ अर्ब ४० करोड अमेरिकी डलरको सुन आयात गरेको भारतले यो वर्ष १ अर्ब ५ करोड डलर मात्रैको आयात गरेको छ।

भारतमा सुन आयात घटाउन त्यहाँको सरकारले भन्सार महसुल बढाएको छ। भारत सरकारले चालु खाता घाटा (स्वदेश भित्रने र बाहिरिने विदेशी मुद्राबीचको फरक) नियन्त्रण गर्न सुनमा लाग्ने भन्सार महसुल १० प्रतिशतले बढाएको थियो। त्यसैगरी, कूल आयातको ८० प्रतिशत आन्तरिक उपभोग र बाँकी २० प्रतिशत निर्यात गर्नुपर्ने नियम पनि सरकारले लागू गरेको छ। यसले बजारमा महँगो धातुको आपूर्ति घटाउनुका साथै प्रतिऔंस एक सय ५० अमेरिकी डलर प्रिमियम तिर्न बाध्य पारेको एजेन्सीहरुले उल्लेख गरेका छन्।

भारतमा आयात घटेपछि नेपालबाट त्यसतर्फ सुनको तस्करी बढेको व्यवसायी बताउँछन्। महासंघ अध्यक्ष शाक्यका अनुसार नेपालको वैधानिक र अवैध बाटो भएर आउने सुन भारत पुग्छ। 'यसले गर्दा नेपालमा सधैं अभाव देखिन्छ,' उनले भने।

मूल्य बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला आठ सय रुपैया"ले बढेको छ। मंगलबार ५२ हजार ६ सयमा कारोबार भएको सुनको भाउ बुधबार प्रतितोला ५३ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचा"दी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १८ डलरले बढेपछि घरेलु बजारमा त्यसको प्रभाव परेको हो। सुनको मूल्य मंगलबार पनि तोलाको ५ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचा"दी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको भाउ ५३ हजार ४ सय रुपैयाँ तोकेको थियो। त्यस्तै चाँदीको मूल्य तोलामा २१ रुपैयाँ बढेको छ। महासंघका अनुसार चाँदी तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ।

प्रकाशित: २६ मंसिर २०७० २२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App