१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जसले पनि कोट्याउँछन् कंक्रिट संरचना !

दिक्तेल–खानीडाँडा–आहाले सडकको पर्खालमा भएको प्वालमा हात हाल्दै प्रदेशसभा सांसद (हाल प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री) उषाकला राई र बृहत पम्पिङ खानेपानी आयोजनाको ट्यांकी कोट्याउँदै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई । तस्बिर : दमन/नागरिक

खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम गुणस्तरहिन भएको व्यापक जनगुनासो आएपछि केही समयअघि जिल्लाका जनप्रतिनिधिले चासो देखाए । प्रदेशसभा सांसद (हाल प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री) उषाकला राई, प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतको टोली पत्रकार लिएर दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम अनुगमनमा निस्किए । 

नांगो आँखाको भरमा अनुगमनमा निस्किएको टोलीमा संलग्न जनप्रतिनिधि ठाउँ–ठाउँमा रोकिएर सडकको नाली, पर्खाल लगायतको भित्ता छाम्दै हिँडे । कसैले सडकको कंक्रिट संरचना कोट्याए, कसैले चिमोटे । कोही सडकको पर्खालमा भएको प्वालभित्र हात हाल्न थाले, कोही सिन्को घुसाउन थाले । नभन्दै कतिपय पर्खाललका मात्रा नमिलेका सिमेन्ट बालुवा बुरुर्र झरेको देखियो । ‘सिमेन्ट बालुवा हाल्नुपर्ने पर्खाल भित्र हेर्दा खोक्रो छ । पैसाको कमि पनि होईन,’ अनुगमनकैक्रममा प्रदेशसभा सांसद (हाल प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री) उषाकला राईले ठेकेदारलाई फोन गर्दै भनिन्, ‘पैसा निकालेर क–कसलाई दिनुपर्छ र यस्तो गुणस्तरहिन काम गरियो । हुन त ठेकेदारलाई गा¥हो छ, त्यो म राम्ररी बुझ्छु । तर त्यस्ता समस्या भए हामीलाई भन्नुस् ।’  

यस्तै, केही समयअघि हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काममा भइरहेको ढिलासुस्तीका विषयमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, एमाले नेता सुरेन्द्र राई, कांग्रेस नेता चक्रकुमार राई, जनता समाजवादीका नेता मबिन्द्र राई लगायतको टोली अनुगमनमा निस्किए । हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको ९६ करोडभन्दा बढिको योजनाको अनुगमनमा हिँडेका अधिकांशले आयोजनाको ट्यांकी छुने, कोट्याउने लगायत गरे ।  

यी त केही उदाहरण हुन् । पछिल्लो समय सिमेन्ट बालुवा प्रयोग गरेर बनाइएका सडक, पुल, भवन, नहर, धारा लगायतका संरचना ‘गुणस्तरको छन् वा छैनन्’ भन्ने बुझ्न जो कोहीले कोट्याउने गरेका छन् । सिमेन्टेड संरचनालाई थोरै कोट्याएर हेर्नु सामान्य जस्तो भइसकेको छ । अहिलेका संरचना कुनै बाँकी छैनन् जसलाई कसैले न कसैले नकोट्याएको वा नचिमोटेको होस् । सिमेन्टेड संरचना कोट्याउँदा कोटियो, चिमोटियो, चोइटियो वा गिटी बालुवा उक्किएर झरे भने गुणस्तरहिन काम भएको अर्थ लगाउने गरिन्छ । यद्यपी, कोतरेर कंक्रिट संरचनाको गुणस्तर पत्ता लाग्दैन । सम्वन्धित विज्ञमार्फत ल्याव परीक्षण गर्दा संक्रिट संरचनाको गुणस्तर बारे थाहा पाउन सकिन्छ । तैपनि किन जो कोहीले कंक्रिट संचरना कोट्याउँछन् वा कोट्याइरहेका छन् त ? 

‘ढिलासुस्ती र गुणस्तरहिन काम भइरहेकै कारण जो कोहीले यसरी कंक्रिट संरचना कोट्याउने गरेको हो । हामी आफै पनि कोट्याउँछौँ । तर हामीले कोट्याएर अर्थ छैन । सम्वन्धित विषयका प्राविधिकले कोट्याए भने मात्र अर्थ राख्छ,’ जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ भन्छन्, ‘हाम्रो संरचना बलियो र दिगो बनिरहेको छ भन्नेमा अधिकांशलाई बिश्वास नभएपछि कोट्याउन पुग्छन् । गुणस्तरिय काम भइरहेका छन् भने पनि नपत्याउने मनोविज्ञानको बिकास भएको छ । यो सबै ढिलासुस्ती र गुणस्तरहिन कामकै परिणाम हो ।’  

हिजोआज कतिपय ठाउँमा आयोजनालाई कमाई खाने भाँडो बनाउने प्रचलन बढ्दो छ । योजना चलाउने भन्दा पनि कति लाभ लिन सकिन्छ भन्नेमा धेरैजसोको नजर पुग्न थालेको छ । कतिपय उपभोक्ता समिति गठनमा हुने झगडाको पछाडि यिनै कारणको हात छ । ‘कमाउ धन्दा’ चलाइएपछि आयोजनाको काम गुणस्तरहिन हुन पुग्छ । यही कारण हालका कंक्रिट संरचनाप्रतिको बिश्वास घटेको राप्रपा नेपाल खोटाङका अध्यक्ष जीवन श्रेष्ठले बताए । गुणस्तरयुक्त काम भइरहेको छ भने पनि पत्याउन छाडिएको छ । ‘पञ्चायत कालमा पञ्चले बनाएको संरचना अहिले पनि जस्ताकोजस्तै छ । त्यो बेला बनाएको शालिक बम पड्काउँदा पनि ढलेन । अहिलेका गणतन्त्रबादीले बनाएको संरचना मुड्कीले हान्दा ढल्न खोज्छ,’ श्रेष्ठले भने, ‘जिविसको भवन बनिरहेकाबेला मैले पत्रकारकै अगाडि बक्सिङले ढालिदिउँ भनेको होईन ! पञ्चेले खाएछन् की गणतन्त्रवादीले खाँदो रछ स्पष्ट भयो नी । वास्तवमा विधि खत्तम भएको छ । उपभोक्तामा चेतना आउन आवश्यक छ ।’  

कतिपय कंक्रित संरचना हातले छुँदा पनि ह्वार–ह्वार बालुवा झर्ने खालका बनेको देखे/सुनेका कारण अधिकांशले यस्ता संरचना कोट्याउने ‘ट्रेण्ड’को विकास भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई बताउँछन् । ‘सार्‍हो भयो, कोट्याउँदा कोटिएन, धुलो झरेन भने क्वालिटीको बनेछ भनेर आत्मसन्तुष्टी लिनु मात्रै हो । छामेर, टकटक्याएर, कोट्याएर, सुँघेर, चाखेर विकास निर्माणको गुणस्तर पत्ता लाग्दैन । ल्याव परिक्षण गर्नुपर्छ । जहाँतहीँ ल्याव नहुनाले समस्या चैं छ,’ मेयर राईले भने, ‘संरचना बन्नु अघि नै निर्माण सामग्री गुणस्तरको काम प्रयोग भए/भएन, आइएसओ मान्यता प्राप्त सामान प्रयोग भए/भएन, गिटीबालुवाको ल्याव परिक्षण भए/भएन, नियमित अनुगमन भएको छ/छैन भनेर हेर्नु पर्छ । बनिसकेको संरचना तत्काल भत्काएर पुःननिर्माण गर्ने अवस्था कमै हुन्छ ।’

प्रकाशित: ३१ वैशाख २०७८ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App