coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवागढी नाका जोड्ने सडक खण्डको पोल सार्ने काम अन्तिम चरणमा

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड । तस्बिरः हिमनाथ/नागरिक

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको लागि पोल सार्ने काम अन्तिम चरणमा पुगेको छ। चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको स्याफ्रु–रसुवागढी सडकखण्डमा पर्ने विजुलीको पोल सार्ने काम अन्तिम चरणमा पुगेको हो। सडक खण्डमा पर्ने ३ सय २५ वटा पोल हटाउनुपर्नेमा अब केही मात्र बाँकी रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।  

नेपाली पक्षले समयमा नै काम गर्न नसकेका कारण सडकको स्तरोन्नति सुरु हुन अझै केही समय लाग्ने देखिएको छ। २०७७ चैतबाट चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। नेपाली पक्षले गर्नुपर्ने काम समयमा नै नसकिएको र कोभिड–१९ को दोस्रो लहरका कारण काम पछि धकेलिएको छ।  

२०७६ चैतदेखि पोल सार्ने काम सुरु भएको थियो। विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण काममा ढिलाइ भएको र टेलिफोनको तार तथा फाइबर नेटवर्कको तार समयमा नसारिँदा पनि थप ढिलाइ भएको हो। यसैगरी तातोपानी क्षेत्रमा मुआब्जा वितरण नभएका कारण स्थानीयको अवरोध र भौगोलिक विकटता लगायतका कारण काममा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।  

गएको पुस महिनाभित्र पोल सार्ने काम सकाउनुपर्ने भएपनि विविध कारणले चैत महिनासम्मको म्याद थप गरिएको थियो। साइड क्लियर भएर कोरोनाको जोखिम घटेपछि चिनियाँ टोलीले आएर कम सुरु गर्ने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। सडक खण्डमा रहेका विद्युत्का पोल सार्ने, सडक क्षेत्रमा पर्ने घर टहरा हटाउने र तातोपानी क्षेत्रका प्रभावितलाई मुआब्जा दिने काम नेपाली पक्षले गर्नुपर्ने छ। यी तीनवटै काम सकिएपछि चिनियाँ पक्षले काम अघि बढाउने छ।

रसुवागढी नाका जोड्ने यो सडकको स्तरोन्नति १७ महिना अघि सुरु गरिएको थियो। चिनियाँ टोली आएर २०७६ असोजमा नै स्तरोन्नति सुरु भएको घोषणा गरेको थियो। नेपाली पक्षले साइड क्लियर गरेपछि स्तरोन्नति अघि बढाउने बताएर टोली चीन फर्किएको थियो। त्यसको केही महिनापछि विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण काम प्रभावित भयो।

३९ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी चिनियाँ टोलीले काम अघि बढाएको भएपनि कोभिड–१९ ले पनि यसलाई प्रत्यक्ष असर गर्‍यो। स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ। यो अहिले एक लेनको कच्ची सडक हो। चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउने छ।  

यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो। योजनाका अनुसार टिबेट थियानलु कम्पनी लिमिटेडले सडकको स्तरोन्नति गर्ने छ। स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ।

तर निर्माण गरिएको डिपिआरले स्याफ्रुका बासिन्दालाई असर गर्ने देखिएपछि संशोधनको लागि प्रस्ताव गरिएको योजना प्रमुख भण्डारीले बताए। ‘सडक सिधा बनाउनका लागि छेउपटिका घर मात्र भत्काउने गरी डिपिआर तयार भएको रहेछ’, उनले भने, ‘हाल कायम भएको सडकको केन्द्रलाई राखेर डिपिआर संशोधन गर्न भनेका हौं।’  

उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । यो सडक निर्माण भएपछि नेपाल–चीनबीच हुने व्यापारमा सहज हुने छ। गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम गरिँदै छ। गल्छी–मैलुङ पहिलो खण्ड, मैलुङ–स्याफ्रु दोस्रो खण्ड र स्याफ्रु रसुवागढी सडक तेस्रो खण्ड हो। गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर दूरी रहेको छ।

प्रकाशित: २५ वैशाख २०७८ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App