coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विराटनगरमा सामाजिक सुरक्षा कोषको एकाइ कार्यालय

उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोष सहजीकरण एकाइ सञ्चालनमा ल्याएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा योजना कोषमा सूचीकरण, दाबी भुक्तानी लगायतको जानकारी दिने उद्देश्यले एकाइ सञ्चालनमा ल्याइएको संगठनले जनाएको छ।  

सामाजिक सुरक्षा कोषको कार्यालयको समन्वयमा उपत्यकाबाहिर पहिलोपटक सामाजिक सुरक्षा कोषको सहजीकरण एकाई कार्यालय सञ्चलनमा आएको हो। संगठनको विराटनगरस्थित सचिवालयमा रहेको एकाइले सामाजिक सुरक्षा योजनासम्बन्धी अभिमुखीकरण, उद्योग प्रतिष्ठान र श्रमिकलाई सूचीकरणसम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै रोगजारदाता र योगदानकर्ताको सूचीकरणका लागि प्राविधिक सहयोग गर्नेछ। एकाइले सेवाग्राही र सामाजिक सुरक्षा कोष काठमाडौंबीच समन्वयकारी भूमिका निर्वाह गर्ने संगठनले जनाएको छ।  

सामाजिक सुरक्षा कोषमा आवद्ध उद्योग प्रतिष्ठानका कर्मचारीलाई दाबी भुक्तानीका लागि आवश्यक कागजात र प्रक्रियाको जानकारी एकाइले गराउने छ। यस्तै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजनाको दाबीका लागि आवश्यक कागजातको प्रारम्भिक रुजु, वृद्ध अवस्था सुरक्षा योजना दाबीको प्रक्रियाका साथै योजनाको दाबी भुक्तानीको अवस्थाबारे पनि एकाइले सहजीकरण गर्नेछ। 

एकाइले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउन रोजगारदाता र श्रमिकबीच समन्वय, सुरक्षा योजनाहरूको दाबी भुक्तानीका सम्बन्धमा रहेको अन्यौल हटाई सामाजिक सुरक्षा कोषमा यस क्षेत्रका श्रमिकको पहुँच स्थापित गर्न सहयोग पुग्ने संगठनले जनाएको छ। कार्यालयमा सामाजिक सुरक्षा कोषले प्राविधिक कर्मचारी महेश प्रधानलाई खटाएको छ। उपत्यकाबाहिर सामाजिक सुरक्षा कोषको कार्यालय नहुँदा कोषमा योगदान गर्न चाहने उद्योग प्रतिष्ठानका कर्मचारी र रोजगारदातासमेत अलमलमा थिए। 

प्रकाशित: २२ वैशाख २०७८ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App