coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

यसरी हुँदैछ नेपालगन्ज विमानस्थलको स्तरोन्नति

उडान

पश्चिम नेपालको सबैभन्दा व्यस्त रहने विमानस्थल हो, नेपालगन्जस्थित राँझा विमानस्थल। यहाँबाट राजधानी काठमाडौंसहित आधा दर्जन पश्चिमी पहाडी क्षेत्रमा हवाई उडान हुँदै आएको छ। यो विमानस्थल व्यस्त भएकै कारण सरकारले स्तरोन्नतिको काम गरिरहेकोे छ। विमानस्थल स्तरोन्नतिका लागि २० बर्षे गुरुयोजना स्वीकृत गरिसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणले पूर्वाधार निर्माणको काम अगाडि बढाएको हो।  

अन्तर्राष्ट्रिय मापदण्डअनुसारका पूर्वाधार पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा सम्पन्न गर्ने प्राधिकरणको योजना छ। गुरुयोजना अनुसारका सबै पूर्वाधार सम्पन्न गर्न प्राधिकरणले कुल १२ अर्बको लागत स्टिमेट तयार गरेको छ।  

विमानस्थल स्तरोन्नतिअन्तर्गत प्राधिकरणले नेपालगन्जमा एप्रोन (जहाज पार्किङस्थल) निर्माणको काम सम्पन्न गरिसकेको छ। उक्त एप्रोनमा करिव ८ वटा ठूला जहाज एकैपटक पार्किङ गर्न मिल्ने प्राधिकरणका अधिकारी बताउँछन्। विमानस्थलको २ सय मिटर रनवे थप विस्तार गर्ने काम भइरहेको छ। अहिले विमानस्थलमा १ हजार ५ सय मिटर रनवे छ। यसमा २ सय मिटर विस्तार गर्न सुरु गरिएको हो।  

प्राधिकरणका निर्देशक एवम् इन्जिनियर प्रदीप अधिकारीका अनुसार २ सय मिटर रनवे विस्तारको काम आगामी असार मसान्तभित्र पूर्ण रूपले सम्पन्न हुनेछ। ‘दुई सय मिटर रनवे विस्तारको काम अन्तिम चरणमा पुगेको छ, आगामी असार मसान्तभित्रमा सम्पन्न हुनेछ,’ उनले टेलिफोनमा नागरिकसँग भने। गुरुयोजनाअन्तर्गत अहिले विमानस्थल परिसरमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।  

चालु आर्थिक वर्ष २०७७/७८ बाटै काम सुरु गर्नेगरी टर्मिनल भवन निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइसकेको निर्देशक अधिकारीले जानकारी दिए। ‘नेपालगन्ज विमानस्थल स्तरोन्नतिअन्र्तगत एप्रोन तयार भइसक्यो, दुई सय मिटर रनवे पनि लगभग तयारी अवस्थामा छ, अब छिट्टै टर्मिनल भवन निर्माण अगाडि बढाइनेछ,’ उनले भने ‘कोभिडको संक्रमण अलि कम भएपछि टर्मिनल भवन निर्माणको काम अगाडि बढ्छ ।’ प्राधिकरण स्रोतका अनुसार हाल नेपालगन्ज विमानस्थलको टर्मिनल भवन २ हजार स्क्वाएर मिटरको छ।  

नयाँ बन्ने टर्मिनल भवन करिव ८ हजार स्क्वाएर मिटरको हुनेछ। यो तयार भए पछि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ। निर्देशक अधिकारीले करिव २ अर्ब रूपैयाँको लागतमा टर्मिनल भवन निर्माण हुने जानकारी दिए।  

गुरुयोजनाअन्तर्गत बिमानस्थलको जग्गा अधिग्रहणको काम भने तत्कालका लागि स्थगित भएको उनले बताए। सन् २०२३ सम्म विमानस्थल स्तरोन्नतीका मुख्य काम सम्पन्न गरिसक्ने प्राधिकरणको लक्ष्य छ। विमानस्थलसँग हाल १ सय ६६ विघा जग्गा उपलब्ध रहेकामा स्तरोन्नतिका लागि बढाएर २ सय ८८ विघा जग्गा आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ।  

२०३० माघ ३१ मा बाँकेको साविक मनिकापुर गाविसस्थित राँझामा नेपालगन्ज विमानस्थल निर्माण कार्य सुरु गरिएको थियो। बिमानस्थलको अहिले भएको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएपछि २०३७ बाट बिमानस्थलले औपचारिक रूपमा सेवा सुरु गरेको थियो। नेपालगन्ज बिमानस्थलबाट काठमाडौं तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी तथा हिमाली जिल्लामा गरी दैनिक रूपमा २ हजार भन्दा बढी यात्रुले हवाई सेवा लिइरहेका छन्।  

उक्त विमानस्थलबाट हाल नेपालगन्ज–काठमाडौं रुटमा दैनिक १० वटा नियमित उडान भइरहेका छन्। यस्तै लुम्बिनी, कर्णाली र सुुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा दैनिक ४ देखि ८ वटा उडान हुने गर्छन्। यसैगरी विगत एक महिनादेखि नेपालगन्ज–पोखरा रुटमा पनि चार्टर उडान हुन थालेको छ।  

बिमानस्थल कार्यालयका प्रमुख सुवास झा स्तरोन्नती भएपछि नेपालगन्जबाट अन्तर्राष्ट्रिय उडान गर्न पनि सहज हुने बताउँछन्। ‘नागरिक उड्ययन प्राधिकरणको छुट्टै निकायले नेपालगन्ज बिमानस्थल स्तरोन्नतीको काम थालिरहेको छ,’ उनले भने ‘एप्रोन निर्माण भइसक्यो, दुई सय मिटर रनवे पनि निर्माण अन्तिम चरणमा छ, अब टर्मिनल भवन बन्ने हो ।’  

बिमानस्थलको टर्मिनल भवन सानो हुँदा हाल यात्रुको ब्यवस्थापन गर्न समस्या भइरहेको बताउँदै झाले भने, ‘अब नयाँ टर्मिनल भवन बनेपछि उपलब्ध हुने धेरै ठाउँले यात्रुको व्यवस्थापनमा सहयोग पुग्नेछ ।’ बिमानस्थलका लागि रनवे, एप्रोन तथा टर्मिनल भवन मुख्य पूर्वाधार रहेको र यी पूर्वाधार बनिसके पछि अन्र्तराष्ट्रिय उडान गर्न लायक हुने उनको भनाई छ।  

बिमानस्थलको स्तरोन्नति र नेपालगन्ज–दिल्ली उडानका लागि यहाँका सरोकारवालाले पटक–पटक दबाब सिर्जना गर्दै आएका छन्। संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी, व्यापारी, नागरिक समाजलगायतले यसका लागि विभिन्न समिति बनाएका थिए। अहिले बिमानस्थल स्तरोन्नतीको काम हुन थालेपछि यहाँका सरोकारवाला निकाय खुसी छन्।  

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलसम्शेर राणा यात्रुको बढी चाप हुने काठमाडौं पछिको दोस्रो यो विमानस्थल भएको बताउँछन्। यही कारण हामीले लामो समयदेखि नेपालगन्ज बिमानस्थलको स्तरोन्नती गर्न माग गर्दै आएका थियौं। ‘नेपालगन्ज बिमानस्थलको स्तरोन्नति आवश्यक छ, जुन काम अहिले भइरहेको छ,’ उनले भने, ‘विमानस्थललाई आवश्यक पर्ने भौतिक पूर्वाधार बनाइसकेपछि नेपालगन्ज–दिल्ली उडान गर्नुपर्छ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बिमानस्थल स्तरोन्नति भएपछि यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्न सहज हुने बताए। ‘हामीले नेपालगन्जदेखि दिल्ली उडान गर्नुपर्‍यो भनेर पहिल्यैदेखि माग गरिरहेका छौं, अब बिमानस्थलको स्तरोन्नति भएपछि सरकारले उडान गर्नैपर्ने हुन्छ।’

विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज बिमानस्थलको स्तरोन्नति हुनेबित्तिकै यहाँको पर्यटन क्षेत्रको प्रर्बद्धन हुने विश्वास व्यक्त गरे। ‘विमानस्थल स्तरोन्नति हुनेबित्तिकै जहाजको चाप बढ्छ, त्यसपछि पर्यटकहरूको आवत–जावत स्वभाविक रूपले वृद्धि हुन्छ,’ पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजकसमेत रहेका श्रेष्ठले भने। बिमानस्थलको क्षमता बिस्तार भएपछि नेपालगन्जबाट आन्तरिक र बाह्य उडान गर्न सकिने उनको विश्वास छ।

प्रकाशित: १५ वैशाख २०७८ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App