२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

काेराेना कहरमा इन्टरनेट सेवा: बढे ग्राहक, फस्टायो व्यापार

भनिन्छ, महामारी र विपत्तिले सधैं नराम्रो परिणाम मात्रै निम्त्याउँदैनन्, नयाँ सम्भावना पनि ल्याउँछन् र अवसरका ढोका उघार्छन्। एक वर्षयता संसारभर देखिएको कोभिड–१९ को महामारीले धेरै क्षेत्रलाई ठप्प बनाए पनि केही क्षेत्रका लागि यही महामारी अवसर बनेको छ। कोभिडले ल्याएका अवसरका उदाहरण धेरै छन्। 

यसअघि ‘वर्क फ्रम होम’ भन्ने विषय सायद अंग्रेजी शब्दमै सीमित थियो। कुनै पनि व्यक्तिलाई महिनौं दिन कार्यालयमा नगए काम गर्न सकिन्छ भन्ने आत्मविश्वास थिएन। तर तीनचार महिना घरमै बसेर पनि कार्यालयको काम गर्न सकिन्छ भन्ने आत्मविश्वास यही महामारीले गराएको छ। विश्वमै अहिले ‘वर्क फ्रम होम’ संस्कारको विकास महामारीकै उपज बनेको छ।

पछिल्लो समय सूचना प्रविधिमा आएका नयाँनयाँ प्रविधिका कारण ‘वर्क फ्रम होम’ सम्भव भएको हो। अहिले जस्तोसुकै सामान्य कामका लागि कार्यालय पुग्नुपर्ने बाध्यता टरेको छ। कार्यालयको काम घरबाटै गर्न सकिने मात्रै होइन, प्रविधिको विकासले विद्यालय तथा कलेजका अध्ययन–अध्यापन पनि अनलाइनबाटै सञ्चालन गर्न सम्भव बनेको छ। सहरमा रहेका अधिकांश विद्यालयले पहिलोपटक अनलाइन कक्षाको सुरुवात गरे।

कोभिडका कारण स्कुल कलेज बन्द भएपछि सुरु भएका अनलाइन कक्षाका कारण इन्टरनेटको खपत अत्यधिक मात्रामा हुन पायो। विगतमा घरमा इन्टरनेट जडान गरे छोराछोरी बिग्रन्छन् भन्ने मानसिकता बोकेका कतिपय आमाबाबु कोभिडको समयमा पठनपाठन सुचारु गर्न प्रविधिसँग जोडिन बाध्य भए। यही कारण गत वर्ष इन्टरनेट, ल्यापटप, मोबाइलजस्ता प्रविधिका उपकरणहरूको व्यापार उकालो लाग्यो। प्रविधिको व्यापार उकास्न महामारी सहायक बन्न पुग्यो।  

स्कुल र कलेज मात्र होइन, घरबाटै जुम मिटिङ, गुगल मिट, टिम्सलगायत भिडियो कन्फ्रेरेन्समा संलग्न हुनुपर्ने बाध्यताले पनि इन्टरनेटको खपत ह्वातै बढायो। घरबाटै अफिसको काम गर्दा इन्टरनेटसँग जोडिएकाहरूले क्षमता बढाउन बाध्य भए। त्यति मात्रै होइन, लकडाउनकै कारणले घरमा बस्नेहरूले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटरजस्ता प्रविधिको प्रयोग गरेपछि इन्टरनेटको ब्यान्डविथ खपत पनि ह्वातै बढ्यो।

स्कुल र कलेज मात्र होइन, घरबाटै जुम मिटिङ, गुगल मिट, टिम्सलगायत भिडियो कन्फ्रेरेन्समा संलग्न हुनुपर्ने बाध्यताले पनि इन्टरनेटको खपत ह्वातै बढायो। घरबाटै अफिसको काम गर्दा इन्टरनेटसँग जोडिएकाहरूले क्षमता बढाउन बाध्य भए। त्यति मात्रै होइन, लकडाउनकै कारणले घरमा बस्नेहरूले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटरजस्ता प्रविधिको प्रयोग गरेपछि इन्टरनेटको ब्यान्डविथ खपत पनि ह्वातै बढ्यो।

सरकारी तथ्यांकले पनि गत वर्ष प्रविधिको व्यापार मनग्यै उकालो लागेको देखाउँछ। भन्सार विभागका अनुसार गत साउनयता मोबाइल खरिद गर्नेको संख्या अत्यधिक मात्रामा बढेको छ। चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा २६ अर्ब ३० करोड रूपैयाँ बराबरको मोबाइल फोन आयात गरिएको छ। यो तथ्यांक गत साउनदेखि फागुन मसान्तसम्मको हो। विभागले आठ महिनाको अवधिमा ४९ लाख ९३ हजार थान मोबाइल भित्रिएको तथ्यांक सार्वजनिक गरेको छ। यो अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो। मोबाइल फोन बढी आयात हुनुको कारण कोभिडका बेला विद्यालयले सुचारु गरेको अनलाइन कक्षा हो। आफ्ना छोराछोरीलाई अनलाइन कक्षासँग जोड्न धेरैले मोबाइल फोन प्रयोग गरेका थिए। सहरमा भन्दा पनि इन्टरनेट सेवा उपलब्ध भएका गाउँमा मोबाइल फोनबाट विद्यार्थीहरू कक्षासँग जोडिएका थिए।  

व्यापारीहरू पनि कोभिड–१९ को कारणले अधिकांश शिक्षण संस्थाले अनलाइन कक्षा सञ्चालन गरेकाले मोबाइल फोनको बिक्री गत आर्थिक वषर्कको सोही अवधिको तुलनामा झन्डै दोब्बर भएकामा सहमत छन्। विभागका अनुसार गत आर्थिक वर्षको आठ महिनाको अवधिमा १४ अर्ब ३७ करोड रूपैयाँ बराबरका ३८ हजार थान मोबाइल सेट नेपाल भित्रिएको थियो। यस्तै चालु आर्थिक वर्षको आठ महिनामा ५ लाख ८ हजार थान राउटर खरिद गर्न व्यापारीले १ अर्ब ३३ करोड ७० लाख रूपैयाँ विदेश पठाएका थिए।  नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा इन्टरनेट सेवाप्रदायक कम्पनी ४० वटा पुगिसकेका छन्। 

तर नेपालमा वल्र्ड लिंक, भायोनेटलगायत केही प्रदायक कम्पनीको सञ्जाल ठूलो छ। इन्टरनेट सेवा प्रदायक संघ (आइएसपिएन) का अध्यक्ष सुधीर पराजुली नेपालमा लकडाउन भएसँगै फिक्स्ड खालको इन्टरनेटका ग्राहक र प्रयोग दुवैमा करिब ३० प्रतिशतभन्दा धेरै वृद्धि भएको बताउँछन्। ‘लकडाउनका कारण अधिकांश कार्यालयको काम घरबाटै र स्कुल/कलेजको काम पनि घरबाटै भएसँगै इन्टरनेटको प्रयोग र खपत दुवै अत्यधिक बढ्यो,’ उनले भने, ‘गत चैतदेखि कात्तिकसम्म इन्टरनेट प्रयोगकर्ताको संख्या ३० प्रतिशतभन्दा धेरै बढेको थियो।’ उनका अनुसार अहिले कक्षामै उपस्थित भएर पठनपाठन कार्य सुरु भएपछि भने इन्टरनेटका ग्राहक र प्रयोग दुवैमा १० प्रतिशतले कमी आएको छ।

कोभिड–१९ ले मुलुकको अर्थतन्त्र तहसनहस बनाए पनि इन्टरनेट, मोबाइल तथा ल्यापटपजस्ता प्रविधिको व्यापारमा भने गुल्जार ल्यायो। कोभिड–१९ ले पर्यटन, सार्वजनिक यातायातलगायत क्षेत्रलाई थला पारेको छ। तर केही व्यवसायले यहीबेला निकै फस्टाउने अवसर पाए। कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अधिकांश मान्छे घरभित्रै थुनिएर बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो। बाहिर निस्कँदा कोभिड–१९ संक्रमण र प्रहरीको हप्कीदप्की खानुभन्दा घरभित्रै इन्टरनेटमा झुम्मिएर रमाउनेको संख्या बढ्यो।

वल्र्डलिंकका म्यानेजिङ डाइरेक्टर दिलीप अग्रवाल कोभिडको समयमा इन्टरनेटको प्रयोगकर्ताभन्दा पनि प्रयोग बढेको भन्न रुचाउँछन्। ‘कोभिडको समयमा बजारमा रहेका अधिकांश सेवाग्राही गाउगाउँमा फर्किए। जसका कारण केही प्रयोगकर्ता घटेका थिए। तर अहिले भने  बढिरहेका छन्।’

वल्र्डलिंकका सिनियर जनसम्पर्क अधिकृत पूर्णिमानन्द झा कोभिड–१९ को नियन्त्रणका लागि गरिएको लकडाउनको सुरुवाती चरणमा वल्र्डलिंकका ग्राहक घटेको बताउँछन्। ‘अघिल्लो वर्षको लकडाउनअघि वल्र्डलिंकका ग्राहक ४ लाख ३ हजार थिए,’ उनले भने, ‘लकडाउन कारणले गत असारको सुरुवाती दिनमा भने ग्राहक संख्या केही मात्रामा घटेर ३ लाख ९३ हजारमा खुम्चिएको थियो।’उनका अनुसार कोभिड–१९ को प्रभावमा केही कमी आएसँगै गत पुसमा भने ग्राहक संख्या ४ लाख ५१ हजार ३ सय ४७ पुगेको छ। झाले कोभिडको सुरुवाती चरणमा लकडाउन अत्याधिक मात्रामा कडा भएको र धेरैको संख्यामा मानिसहरू राजधानीबाट बाहिर गएकाले यस्तो भएको हो। लकडाउनका सुरुका दिनमा स्कुल र विद्यालयहरूले अनलाइन कक्षा पनि सुरु गरेका थिएनन्। यिनै कारण सुरुवाती दिनमा ग्राहक र इन्टरनेटको प्रयोग दुवै घटेको उनी बताउँछन्। ‘जब लकडाउन अलि खुकुलो हुँदै गयो, इन्टरनेटको ग्राहक र प्रयोग दुवै ह्वातै बढ्यो,’ उनले भने।  

अर्कातिर लकडाउनको समयमा इन्टरनेट सेवा प्रदायक (आइएसपी) को ब्यान्डविथ पनि ३० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको संघले जनाएको छ। कोरोनाकै डरले अधिकांश कार्यालयको काम ‘वर्क फ्रम होम’ को सुरुवातसँगै इन्टरनेटको खपत तथा प्रयोगकर्ताहरू ह्वातै बढेका हुन्। घरबाटै कार्यालयको काम गर्दा र अनलाइन तथा भिडियो बैठकको कारणले पनि इन्टरनेटको माग ह्वातै बढेको थियो। ‘कोभिडको डरले घरभित्रै थुनिएकालाई इन्टरनेटजस्तो समय कटाउने अरू माध्यम नै भएन,’ अध्यक्ष पराजुलीले भने, ‘त्यसैले पनि इन्टरनेटको ब्यान्डविथको खपत अत्यधिक मात्रामा बढेको हो।’ घरमै बसेर अधिकांश इन्टरनेट सेवाग्राहीले फेसबुक, टिकटक, युट्युबको अत्यधिक मात्रामा प्रयोग गरेका थिए। नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस प्रतिवेदनअनुसार २०७७ माघ मसान्तसम्म मोबाइल ब्रोडब्यान्डमार्फत इन्टरनेट प्रयोग गर्ने ६१.४७ प्रतिशत रहेका छन्। त्यसैगरी फिक्स्ड ब्रोडब्यान्डमार्फत प्रयोग गर्नेको प्रतिशत २१.८५ प्रतिशत छन्। वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्नेको प्रतिशत ०.७७ प्रतिशत रहेको छ।

प्रकाशित: ११ वैशाख २०७८ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App