१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धार्चेमा ढुंगामाटोको ‘कोल्डस्टोर’

आलु भण्डार केन्द्र ।

गाउँको रैथाने आलु नासिँदै गएपछि धार्चे गाउँपालिका–७ गुम्दाका किसान चिन्तित थिए । हरेक सिजनमा अन्यत्रबाट आलुको बिउ किनेर ल्याएर रोप्नुपर्ने बाध्यता किसानलाई छ । स्वादिलो आलु लोप हुने अवस्थामा पुगेपछि अहिले गाउँकै आलु बिउको रुपमा जोगाउन ‘कोल्ड स्टोर’ निर्माण गरिएपछि किसान खुसी भएका छन् ।  

स्थानीय हावापानी सुहाउँदो ढुंगामाटोबाट लापुमा आलु संकलन केन्द्र निर्माण गरिएको हो । गोरखा भूकम्प पुनःनिर्माण तथा पुर्नउत्थान परियोजना अन्र्तगत भूकम्प प्रतिरोधी आलु भण्डार केन्द्र निर्माण भएको छ ।

आलुको लागि प्रख्यात रहेको लापुमा १० टन क्षमताको भण्डार केन्द्र निर्माण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । किसानलाई व्यवसायिक बनाउन र त्यहाँको उत्पादनलाई लामो समय सम्म प्रयोग गर्न भण्डार केन्द्र निर्माण गरिएको उनले बताए ।  

स्वाँरा सघन गाउँ विकास केन्द्रको सहयोगमा करिब २० लाख रुपैयाँ लागतमा उक्त भण्डार घर निर्माण भएको स्वाँरा सघन गाउँ विकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले बताए ।  

उक्त भण्डार केन्द्रको गोरखा– १ का सांसद हरिराज अधिकारीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले भण्डार केन्द्रमा राखेको आलु सर्वसाधारण किसानले बिउका लागि अर्को सिजनमा पनि प्रयोग गर्न सक्ने बताए ।  

यस अघि त्यहाँका किसानले आलुको बिउ हरेक सिजनमा अन्यत्रबाट महँगोमा खरिद गर्नुपर्ने बाध्यता थियो । भण्डार केन्द्र बनेसँगै आफ्नो बारीमा उत्पादन भएको आलु त्यहाँ स्टोर गरेर पुन बिउको रुपमा प्रयोग गर्न पाउनेछन् । यसले स्थानीय रैथाने बालीको उत्पादन समेत बढाउने नमुना कृषक समुहका अध्यक्ष सुर्यबहादुर गुरुङले जानकारी दिए ।  

उक्त समुहले संकलन केन्द्र निर्माणको जिम्मा लिएको थियो ।  केन्द्र निर्माण भएसँगै आलु उत्पादन गर्ने ८० घरधुरी लाभान्वित भएका छन् । केन्द्रको घरमा एक कोठा सहित आलु भण्डारका लागि दराजको ब्यवस्था गरिएको छ । उक्त घर ढुंगामाटोबाट स्थानीय सामग्री प्रयोग गरी निर्माण गरिएको स्वाँरा सघन गाउँविकास केन्द्रका इन्जिनियर रविन कट्टेलले बताए ।  

भूकम्पमा घर भत्किएकालाई प्रतिरोधी बनाउन सिकाउने उद्देश्यले भण्डार केन्द्रको घर बनाइएको स्वाँरा सघन गाउँ बिकास केन्द्रले जनाएको छ । यस अघि भण्डार केन्द्रबाट करिब दुईहजार पाँच सय किलो बिउ बिक्री भईसकेको छ । धार्चे गाउँपालिका रैथाने आलु उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ । त्यहाँ उत्पादन भएको आलु स्वादिलो हुने भन्दै जिल्ला भित्र र बाहिर पनि माग धेरै हुने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित: ३ वैशाख २०७८ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App