८ वैशाख २०८१ शनिबार
अर्थ

अन्नपूर्ण आधारशिविर क्षेत्रः सहरीया प्रदूषणबाट टाढा (तस्बिरसहित)

दिनमा ५० हाराहारीमा पाहुना अहिले आधारशिविर पुग्छन्ः व्यवसायी

अन्नपूर्ण आधारशिविर क्षेत्रको पदयात्रामा रहेका पदयात्री । तस्बिरः नागरिक

सहरमा वायु प्रदूषणले धुम्म भएको धेरैदिन भइसक्यो । पोखरा सुन्दर सहर भएपनि यहाँबाट तुवाँलोका कारण हिमाली श्रृंखला नदेखिएको दुईसाता पुग्न थाल्यो । सबै डाँडाकाँडा तुवाँलोले ढाक्दा चारैतिर सेतै देखिन्छ । प्रदूषण यतिसम्म बढेको छ की आँखा पिरो हुने समस्या उब्जेको सबैतिर सुन्न पाइन्छ ।  

तर, यही प्रदूषणबाट छलिन यो बेला केही आन्तरिक पाहुना अन्नपूर्ण आधारशिविर (एबिसी)को पदमार्गमा पुग्ने गरेका छन् । सहरमा कोरोना र वायु प्रदूषणको त्रास बढिरहँदा दिनमा ५० जना हाराहारीमा आन्तरिक पाहुना एबिसीसम्म पुग्ने गरेको व्यवससायीको भनाई छ ।  

कोरोना भाइरस संक्रमणको त्रास नहुँदो हो त यो बेला पदयात्रा क्षेत्रमा विदेशीको भीडभाड हुन्थ्यो । विदेशीको भीडभाडमा आन्तरिक पाहुना थपिँदा पदमार्गका होटलमा गास र बास पाउन पनि सकस हुन्थ्यो । तर, अहिले अवस्था फरक छ । कोरोना त्रासले विदेशी आउन नपाउँदा अहिले पदमार्ग उत्तिसारो भीडभाड छैन । केही आन्तरिक पाहुनाको भारमा मात्र पदयात्रा क्षेत्रले चलायमान बन्ने प्रयास थालेको छ ।  

अन्नपूर्ण आधारशिविर (एबिसी) कहलिएको पदमार्ग हो । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको एबिसी क्षेत्रमा आन्तरिक पाहुना पुग्दा अहिले केही चमक देखिएको छ । आन्तरिक पाहुनाकै भरमा त्यहाँका होटल खुलेका छन् भने व्यवसायीले धेरथोर कमाई गर्न पाएका छन् । नाफा कमाउने भन्दा पनि व्यवसाय चलायमान बनाउने प्रयासमा रहेको व्यवसायीले बताएका छन् ।  

आधारशिविर पदमार्गको मुख्य प्रवेशद्वरा पर्यटकीय गाउँ घान्द्रुक गत माघ १ देखि खुल्यो । तर, एबिसी क्षेत्र भने खुलेको थिएन । संक्रमणको त्रासले गर्दा एबिसी क्षेत्र खुल्न सकेको थिएन । घान्द्रुक, घोरेपानी क्षेत्र संचालनमा आएर आन्तरिक पाहुना पुग्न थालेपछि बल्ल फागुन १ देखि एबिसी क्षेत्र खुलेको थियो । अहिले एबिसी पदमार्गका सबै होटल संचालनमा रहेको र आन्तरिक पाहुना पुग्दा ती होटलले राहतको महसुस गरेको व्यवसायीले बताएका छन् । छोमरोङदेखि एबिसीसम्मका ठाउँठाउँमा होटल छन् ।

आधारशिविरको पदमार्ग खण्डमा पर्र्ने छोमरोङ पर्यटन व्यवस्थापनका सचिव दिलीप गुरुङका अनुसार छोमरोङदेखि आधारशिविरसम्मका सबै होटल खुलेका छन् । शुक्रबार मात्र ५० जना आन्तरिक पाहुना आधारशिविर उक्लेका थिए । ‘४० देखि ६० जना आन्तरिक पाहुना आधारशिविर आएका छन् । हुन त आधारशिविरमा एकैरातमा ३५० जना पाहुना अट्छन,’ उनले भने, ‘अनुपातमा दैनिक ५० जना पाहुना आएका छन् । क्षमता अनुसार पाहुना नआएपनि अहिलेको आएका पाहुनाबाट पनि हामी सन्तुष्ट हुनुपरेको छ ।’ उनका अनुसार आन्तरिकसँगै केही भारतीय, बंगलादेशी पाहुना पनि पुगेका छन् । फाट्टफुट्ट तेश्रो मुलुकका विदेशी पनि उक्लेका छन् ।  

आन्तरिक पाहुना आकर्षण गर्नका लागि हामीले ३० प्रतिशतसम्म छुट पनि दिएका छौ । पहिला खाना र बासको मात्र २८ सय रुपैयाँ हाराहारीमा पर्नेमा अहिले २२ सय जति पर्छ,’ उनले भने, ‘पहिला वाइफाइ र तातोपानीको शुल्क तिनुपर्दथ्यो । अहिले त्यो सेवा पनि निशुल्क छ । किनकी आन्तरिक पाहुनाको आगमन बढाउन सकियो भने त्यसको लाभ व्यवसायीले पाउने हो ।’

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सुशीलराज पौडेलका अनुसार पदयात्रा क्षेत्रमा सबैभन्दा राम्रो सिजन सेप्टेम्बर–अक्टोबर–नोभेम्बरलाई मानिन्छ । मार्च देखि मे सम्म दोश्रो सिजन मानिन्छ । यो बेला विदेशीको सिजन भएपनि अहिले कोरोनाले गर्दा विदेशी आउन नपाएको अवस्थामा आन्तरिक पाहुनाले थोरै भएपनि पदयात्रा क्षेत्रका होटल व्यवसायीलाई राहत मिलेको बताए ।  

घान्द्रुक हुँदै पर्यटकहरु अन्नपुर्ण क्षेत्रको टाढापानी, घोरेपानी, छोमरोङ हुँदै अन्नपुर्ण आधारशिविर जाने हुँदा त्यस क्षेत्रका व्यावसायीले समग्र क्षेत्रलाई सेन्चुरी पर्यटन विकास समितिको नाममा बजारीकरण गर्छन । अन्नपुर्णको सेन्चुरी क्षेत्र आन्तरिक पर्यटकका लागि निकै नै चर्चित गन्तव्य हो । यो क्षेत्रमा मात्र साना ठुला गरि करिब ३ सय होटल रहेका छन् । सेन्चुरी क्षेत्रमा मात्र वर्षमा करिब ७० हजार विदेशी पर्यटक पुग्ने गरेका छन् । पोखराबाट नजिकको दूरी र हिमाली श्रृंखलासहित वनजंगलको दृष्यावलोकन तथा अन्नपुर्ण आधारशिविरसम्मको साहसिक पदयात्रा गर्न सकिने भएकोले विदेशी पर्यटक यो रुटको पदयात्रामा जान रुचाउँछन् । आन्तरिक पाहुनाको रोजाइमा पनि यो क्षेत्र पर्छ ।

प्रकाशित: २८ चैत्र २०७७ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App