८ वैशाख २०७८ बुधबार
अर्थ

कर्मचारी मोटाउने, किसान दुब्लाउने लगानी कहिलेसम्म?

सिँचाइमा लगानी बालुवामा पानी

बालुवाले पुरिएको कमला नहर । तस्बिरः मिथिलेश/नागरिक

बिल्टु दाश (५० ) बि सं.२०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाई सरेर सिरहाको कर्जन्हा गाउँ आए। उनी धनुषाबाट कर्जन्हा बसाई सर्नुको एउटै स्वार्थ थियो– कमला नदीको पानीको प्रयाप्त सुविस्ता। त्यो बेला कमला नदीको पानीले मनग्य उत्पादन हुन्थ्यो। तीन चार फलस (बाली) उत्पादन हुन्थ्यो।  

विगत सम्झँदै दाशले भने,‘आफैले खनेको नहरमार्फत त्यो बेला बहुबाली हुन्थ्यो।’ पछिल्लो समय करौंडौ लगानीमा निर्माण भएको र भैरहेको कमला सिँचाइ नहर प्रणालीले बहुबाली साँघुरिएको र साँघुरिँदै गएको उनले भने।

कर्जन्हाका मुक्तिलाल सिंह (५५) लाई प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन। कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ त्यो हो– कमला नदीको जल। जल अर्थात कमला नदीको पानी खेतसम्म पुग्नेगरि भरपर्दो सिँचाइको व्यवस्था।

गहुँमा लगाउन पानी चाहिएको बेला कमला सिँचाइ नहर प्रणाली मार्फत उनको खेतसम्म पानी पुग्दैन। पोटिलो गहुँका लागि कम्तीमा तीन पटक पानी लगाउनुपर्छ। यो सुख्खा भेगमा त चार पटक पानी लगाउनुपर्छ उनले भने,‘ यस पटक जम्मा दुई पटक मात्र पानी लगाउन पाए।’ कारण कमला सिँचाइ नहरमा पानी थिएन,छैन। तीन पटक चाहिने पानी एकपटकलाई पनि पुग्दैन उनले भने,‘कमल सिँचाइ नहरको पानी यस क्षेत्रका किसानलाई धानबाली बाहेकलाई प्रयाप्त छैन।’ जेठ असारमा अकाशे पानीले रोपाई धानिहाल्छ। ‘हामीलाई नहरको पानी प्रयाप्त आवश्यक पर्ने भनेको गहुँको सिजनमा हो’ उनले भने ‘तर यो बेला नहर सुख्खा हुन्छ, पानीका लागि हामी लालायीत हुन्छौ।’

कमला सिँचाइ नहरमा पानी पर्याप्त नहुँदा यस क्षेत्रका किसानको खेतमा गहुँ, खेसारी, मसुर बाली जलिरहेको छ। गहुँ र दलहन खेतीलाई यो सिँचाइ नहरको पानीले कहिल्यै भरथेग नगरेको स्थानीय किसानहरुको गुनासो छ। गहुँलाई चाहिने पर्याप्त पानी हो तर कमला सिँचाइ नहर यस बेला सुख्खा हुन्छ कर्जन्हा नगरपालिका बडहरामालका रामदेव ठाकुरले भने,‘किसानलाई आवश्यक परेको बखत नहरमा पानी नै हुदैन।’

सिँहले बताए अनुसार दुई दशक पहिलासम्म आफ्नै बाहुबलले कमलाबाट खेतसम्म खनेको नहरमार्फत प्रयाप्त सिँचाइ गरी बहुअन्न उब्जिन्थ्यो। धानको सिजनमा माथीबाट पनि वार्षा हुन्छ (अकासे पानी) तर, गहुँ, दलहन सिजनमा यस क्षेत्रका किसानको  एकमात्र सहारा कमला पूर्वी सिँचाइ नहर हो। नहर मार्फत खेतसम्म पानी भइदिए मनग्य गहुँ र दलहन फलाएर आर्थिक अवस्था ‘गुल्जार’ बनाउने यस क्षेत्रका किसानको धोको छ। तर, कमला सिँचाइ नहरमा पर्याप्त पानी नहुँदा यस क्षेत्रका किसान निर्विकल्प बनेका छन्। पहिला धान, गहुँ, दलहन, र तेलहन घरमा भित्रिन्थ्यो। पछि तेलहन(तोरी) खेती गर्ने परम्परा पनि सुक्यो। अब केवल धान र गहुँ खेती गरिन्छ। त्यो पनि वर्षभरी खान पुग्दैन। धान र गहुँ खेती गर्ने परम्परा पनि बिस्तारै सुक्दै गएको बडहरामालका किसान सुरेन्द्र महतो बताउँछन्। अर्थात, पछिल्लो केही दशकभित्रै बहुबालीको परम्परा सुक्यो। खानाको लागि पनि अन्न किन्नुपर्ने भयो। धानबाली बाहेकको बाली लगाएपनि लगानी उठ्दैन महतोले भने,‘पानी अभावले लगानी डुब्छ।’

कमला सिँचाइ नहरमा जसरी लगानी बढ्दैछ त्यसैगरी यस भेगमा खेती गर्ने परम्परा पनि सुक्दै गएको छ। लगानी बढेको बढ्यै छ तर  प्रतिफल भने कागजमै सीमिति बनेको कर्जन्हाका स्थानीय प्रकाश कोइराला बताउँछन्।  

यस वर्ष मात्र कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा धनुषाले नहर सफाई, समृद्धि तराई मधेस कार्यक्रम र बृहत गरी करिब ५० करोड खर्च गर्दैछ। नहर सफाई अर्थात नहरबाट बालुवा भिक्न ज्यालादारी मजदुरमा मात्र ४५ लाख खर्च गर्दैछ। यस भेगमा किसानीप्रति किसानको आकर्षण बढाउन सिँचाइ सहुलियतका लागि वर्षेनी करोडौं रकम खर्च भैरहेको छ। तर, खर्चअनुसारको उपलब्धि किसानको दैलोमा पुग्न सकेको छैन। सिँचाइका लागि खर्चिएको रकमबाट किसानको खेच भिज्दैन। सरकारको लगानीलाई किसानहरुले बालुवामा खन्याएको पानी भनिरहेका छन। यद्यपी कार्यालयका प्रमुख विजयकुमार गामीले सिरहा र धनुषाका २५ हजार हेक्टर खेतमा सिँचाइ सुविधा पुर्याउँदै आएको दाबी गर्छन। यी दुई जिल्लाका आठआठ हजार हेक्टर गहुँ खेत पनि यसै कमला नहर प्रणालीमार्फत सिँचाइ भैरहेको उनको भनाई छ।

कमला नदीमा जति पानी हुन्छ त्यहीँ पानीलाई हामीले नहरमा पठाउने हो प्रमुख गामीले नागरिकसँग भने,‘वर्खामा समस्या हुँदैन तर हिउँदमा समस्या हुन्छ। सिरहा र धनुषाका किसानलाई पालो लगाएर पानी वितरण गर्छौं। हिउँदमा कमला नदीमा अधिकत्तम ६ क्युमेक मात्र पानी हुन्छ। त्यही भएर किसानहरुको माग पूर्ती गर्न नसकिएको हो।’

प्रदेश २ को कुल खेतीयोग्य जग्गाको ८९.९ प्रतिशत जग्गामा मात्रै खेती हुने गरेको तथ्यांक छ। प्रदेश सरकारको आधिकारिक तथ्यांक अनुसार यहाँको कुल पाँच लाख ३५ हजार दुई सय १८ हेक्टर खेतीयोग्य जग्गामध्ये चार लाख ८१ हजार दुई सय १४ हेक्टरमा मात्रै खेती हुन्छ। कुल खेतीयोग्य जग्गाको ६६.३ प्रतिशत अर्थात तीन लाख १८ हजार आठ  सय ६९ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको प्रदेश सरकारको तथ्यांकले देखाउछ। यो कहालीलाग्दो अवस्था हो।

प्रभाव
कर्जन्हा नगरपालिकामा सदाय समुदायको (मुसहर) को बाक्लो बस्ती छ। यही बस्तीका रामफल सदाय(५०) वर्षमा १० महिना बेरोजगार बस्नुपर्ने पीडा सुनाउँछन्। उनको पीडाको अर्थ छ– पहिला बहुअन्नको खेती हुँदा वर्षभरि नै रोजगारी पाइन्थ्यो। ‘अहिले त धान रोप्ने र छोप्ने (काट्ने) बाहेक १० महिना बेरोजगार बस्नुपर्छ,’ उनले सुनाए। उनको रोजगारी धान खेतीसँगै साँघुरिएको छ। मधेसको कृषि परम्परा बहुबालीबाट एकल बालीमा साँघुरिन पुग्दा किसानीमा आश्रित रामकरण सदाय(मुसहर) बेरोजगारप्रायः भएका छन्। कृषि मजदुर उनी खेती साँघुरिएसँगै बेरोजगार प्रायः भएको सुनाउँछन्। कतिपय पुरुष मजदुर कामको खोजीमा खाडी र  भारततर्फ गएका छन्, जाँदैछन्। यसै बस्तीका प्रायः युवाहरु कामको खोजीमा खाडी जानेको लर्को छ, रामकरणले भने।

सिरहा नगरपालिका–१४ नवटोलीका मोहम्मद सरिफ लामो समय खैरटोका मुल भन्सारमा जागीर खाएर अवकास पाएका छन्। जागीरे अनुभूती सम्झँदै उनले भने, ‘दुई दशक अघिसम्म भारततर्फ धान बोकेर जाने बैलगाडाको लस्कर हुन्थ्यो।’ खैरटोका नाकाबाट जयनगर, दरभँगासम्म बैलगाडामा नेपाली धान पुग्थ्यो। ‘हेर्दा हेर्दै समय उल्टियो,’ उनले भने, ‘अन्न बेच्नेहरु अन्न किन्न थाले।’ उनको बिचारमा समय उल्टिनुको कारण –सरकारी नीति किसानमैत्री हुननसक्नु अर्थात सिँचाइको सहुलियत नहुनु नै हो।’

कर्मचारी मोटाउने किसान दुब्लाउने लगानी कहिलेसम्म ? सिँचाइको प्रयाप्तता भईदिए किसानीप्रती जनआकर्षण स्वाभाविक रुपमा बढ्दै जाने बरियारपट्टी–४ तेनुवापट्टीका किसान रामबाबु यादव बताउँछन्। यो गाउँको बीच भागबाट कटनीया खोला बग्छ। कमलाको नदिको पानीलाई कटनीयामार्फत प्रवाह गरेर यस भेगका किसानको खेत सिँचाइ गर्न कटनीयामा ब्यारेज निर्माण हुँदै छ। ब्यारेज निर्माण सुरु हुँदा यस भेगका किसानमा खुशीको सञ्चार भएको थियो। तर, चार वर्षभन्दा बढी भइसक्दा पनि यो योजना आधामै झुन्डिँदा किसानमा निरासा छाएको छ। ‘कटानियाको सिँचाइ प्रणालीमार्फत कमलाको पानी हाम्रो खेतसम्म पुगे यस भेगका किसानको दुःख दूर हुन्छ,’ सिँचाइ असुविधासँग मधेसको मरुभूमीकरणलाई जोड्दै किसान रामबाबु भन्छन्, ‘सरकारको लगानी बालुवामा पानी खन्याए सरह भयो, हाम्रो पेटको समस्या सामाधान भएन।’ कमला सिँचाइमा करोडौं लगानी भएको सुन्छु तर, किसानको समस्या ज्यूँका त्यूँ छ उनले प्रश्न गरे,‘कर्मचारी मोटाउने किसान दुब्लाउने लगानी कहिलेसम्म ?’ सिँचाइ अभावमा जतिसुकै मिहिनेत गरेर बाली लगाए पनि खडेरी हुने पीडाले यहाँका किसान पिरोलिएका छन्। सिँचाइको असुविधाले यस भेगका किसान किसानीतर्फ लगानी गर्न(बाली लगाउन) हच्किँदै छन्।

‘प्रदेश सभासदस्यहरु, मुख्यमन्त्री र प्रदेश प्रमूखले प्रदेश–२ मा समृद्धिको आधार कृषि रहेको भनिरहेका छन्,’ किसान यादवले भने, ‘ग्रामीण मधेसको बन्जर जमिनमा जलसञ्चार नगरेसम्म ओठे भनाईको औचित्य प्रमाणीत हुन्न।’ प्रदेश समृद्धिका लागि कृषिमा जोड दिनुपर्ने बोलेर मात्र नपुग्ने उनको भनाइ छ। प्रदेश सभाको पहिलो बैठकदेखि नै सदस्यहरुले प्रदेश समृद्ध बनाउन कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। समृद्ध प्रदेश बनाउने सपना कृषिबाट मात्र सम्भव रहेको उनीहरुले बताएपनि जलको समुचित व्यवस्थापनतर्फ कार्य प्रारम्भ नहुँदा किसानहरु शंकीत छन्।

मधेसमा जमिन जोतेर अन्न उत्पादन गर्ने समुदायको पीडालाई सरकारले सम्बोधन गर्न नसक्दा अन्न निर्यात गर्ने मधेस अहिले अन्न किनेर खानुपर्ने अत्यासलाग्दो अवस्थामा पुगेको प्रदेश सभासदस्य जगत प्रसाद यादव बताउँछन्। ‘मधेसको भूमिमा अन्न उत्पादन गर्न चाहिने उत्पादन सामग्री जुटाइदिने प्रबन्ध गर्न सरकार उदासीन रहेको उनको गुनासो छ। अब यो चुनौती प्रदेश सरकार समक्ष तेर्सिएको उनको भनाइ छ।

प्रकाशित: २६ चैत्र २०७७ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?