१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कम्पोस्ट मल तथा बायोग्यास प्लान्ट सुरु

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२, सोल्मामा निर्माण गरिएको कम्पोस्ट मल र बायोग्यास प्लान्ट उद्घाटन गरिएको छ। अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले संघीय अर्थ मन्त्रालयको विशेष अनुदान र प्रदेश सरकारको गरी करिब दुई करोड ७० लाख खर्चमा निर्माण गरिएको दिक्तेल कम्पोस्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र शनिबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्।  

उक्त नगरपालिकाले दिक्तेल बजार, सोल्मा लगायत ठाउँबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तु प्रशोधन गरेर कम्पोस्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट बायोग्यास उत्पादन गर्ने लक्ष्यसाथ यो प्लान्ट निर्माण गरेको मेयर दिपनारायण रिजालले बताए।प्लान्टका लागि स्थानीय किसान एवं नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। कम्पोस्ट मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकेजी डेढदेखि दुई रूपैयाँका दरले किन्ने तयारी छ।  

उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाईमा डिलरमार्फत बिक्री गर्ने व्यवस्था मिलाइने छ। यहाँबाट उत्पादन भएको कम्पोस्ट मल प्रतिकेजी २० देखि ३० रूपैयाँ पर्ने अनुमान छ। प्लान्टबाट उत्पादित गोबरग्यासलाई सिएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिण्डर भर्न मिल्ने नगर कार्यपालिका सदस्य विश्वकर्माले बताए। दिक्तेल बजारका शौचालयको ट्यांकीको दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्यास प्लान्टमा लैजाने तयारी छ।

प्रकाशित: २४ चैत्र २०७७ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App