६ वैशाख २०८१ बिहीबार
अर्थ

पर्यटक तान्दै सप्तकोसीको स्टिमर

सप्तकोसीमा सञ्चालित स्टिमर(मोटरबोट) आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। शनिबार र विदाका दिनमा यहाँ स्टिमर चढेर रमाउन आउने पर्यटकको लर्को नै लाग्ने गरेको छ।  

विदाका दिन यहाँ घुम्न आउने आगन्तुकले स्टिमरको टिकट पाउन निक्कै हम्मे हुने गरेको छ। विदाको दिन विहानैदेखि मोटरबोट चढ्न लाइनै लाग्नु पर्नेहुन्छ। कहिले काँही त पर्यटहकहरूले स्टिमरको टिकट नपाई त्यसै फर्कनुसमेत पर्ने गरेको छ। सुनसरीको चतरादेखि भोजपुरको सिम्लेसम्म चल्ने मोटरबोटमा यात्रा गर्दा सप्तकोसीको किनारका क्षेत्रहरूको अबलोकन गर्न पाइन्छ। यति मात्रै हैन देशकै ठूलो नदिमा चल्ने स्टिमरबाट देखिने भीर, जंगल र हरिया डाँडाहरूले पर्यटकलाई थप उत्साहित र आनन्दित  बनाउने गर्दछ मोटरबोटमा यात्रा गर्दा ठाउँ ठाउँमा खोलाका भंगालो माथिबाट मोटरबोट उफ्रेर वेला वेला त्रसित पनि पार्ने गर्दछ। थोरै पानी भएको स्थानमा मोटरबोटको यात्रा जोखिम पूर्ण पनि हुने गरेको छ। तर, मोटरबोट पानिको भंगालो पार गर्नेक्रममा उफ्रँदा बेग्लै किसिमको रमाइलो पनि यात्रुहरूलाई लाग्ने गर्दछ। 

कोरोना कहरका कारण करिब ९ महिना बन्द भएर खुलेको मोटरबोटले यतिवेला आन्तरिक पर्यटकलाई आकर्षण गरिरहेको छ। चतरा पौराणीक धार्मिक स्थल पनि हो। योसँगै बराह क्षेत्र धाम पनि जोडिएको छ। चतरा आउने पर्यटकहरूले मोटरबोटको रोमाञ्चक यात्रासँगै चतराधाम घुम्न र बराहक्षेत्र पुगेर बराह भगवानको दर्शन पनि गर्न पाउँछन्। एक काम दो पन्थ हुने भएकाले धार्मिक पर्यटकहरूसमेत मोटरर्वोट हेर्ने चढेर रमाइलो गर्न पछि पर्दैनन्। चतरामा सञ्चालनमा आएको मोटरबोटले बराह क्षेत्रधामको पर्यटन प्रबर्धनमासमेत महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।  

अन्य पर्यटकीय क्षत्रमा कोरोनाका कारण अझैसम्म पनि प्रभाव परिरहे पनि सप्तकोसीमा सञ्चालित मोटरबोटमा यतिवेला आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ। सप्तकोसीको मोटरर्वोटमा यात्रा गर्न देशभरबाटै पर्यटकहरू आउन थालेका छन्। कोरोना महामारीका कारण भारतसँगको सीमा बन्द भएकाले भारतीय पर्यटकहरू भने न्यून मात्रै आउने गरेको व्यवसायीहरू बताउँछन्। उनिहरूका अनुसार मोटरबोट चढेर रमाउन आउने अधिकाँश पर्यटक नेपाली छन्। भारतबाट छिटफुट मात्रै पर्यटक आउने गरेका छन्। अन्य दिन न्यून मात्रै पर्यटक आए पनि शनिबार र विदाको दिन यहाँका मोटरबोटले आन्तरिक पर्यटकलाई नै धान्न मुस्किल हुने गरेको छ। ‘विदाका दिन भ्याइ नभ्याइ हुन्छ ’ एक व्यवसायीले भने‘अन्य दिन भने पर्यटक न्यून मात्रै हुन्छन्।’ कतिपय त दिनभर मोटरबोटको पालो कुरेर पनि बाेट नचढी फर्कन बाध्यछन्। 

गत शनिबार  मोटरबोट चढ्न धनकुटाबाट आएको कमल श्रेष्ठको टोली घण्टौं पालो पर्खदा पनि पालो नआएपछि मोटरबोट नचढी फर्कियो। मोटरबाेट चढ्न धेरै समय पर्खिंदा पनि टिकटै नपाएपछि कमल र उनका साथिहरू त्यसै फर्कनुपर्‍यो। यो टोली मात्रै हैन शनिबार धेरै पर्यटकहरू स्टिमरको टिकट नपाउँदा त्यसै फर्कन बाध्य भए। विदाका दिन धेरै मानिस आउने र अन्य दिन त्यसै बस्नुपर्ने समस्या रहेको व्यवसायी तथा बराहक्षेत्र जलयातायात तथा पर्यटन प्रालिका अध्यक्ष  विमलमान श्रेष्ठले बताए। उनले भने,‘विदाका दिन भीड लाग्ने र अन्य दिन खाली बस्नुपर्ने अवस्था छ।’ बराहक्षेत्र म्यारीन एण्ड रिसोर्ट प्रालि, सप्तकोशी एड्भेन्चर्स प्रालि, बराहक्षेत्र जलयातायात तथा पर्यटन प्रालिलगायत ५ वटा कम्पनीले हाल कोसीमा स्टिमर सञ्चालन गरिरहेका छन्।  

जल यातायात व्यवस्थित गर्न चुनौति  

नेताहरूले चुनावका वेला पानीजहाजको हुँइया चलाए। प्रधानमन्त्रीले नै पानी जहाज चलाएर सस्तो यातायातको व्यवस्था गर्ने घोषणा गरे। तर, पानी जहाज सञ्चालनका लागि हालसम्म देशका  कुनै नदिमा संभाव्यता अध्ययनसमेत भएको छैन। न त डिपीआर तयार भएको छ। न त सरकारले पानीजहाजका लागि पूर्वाधार नै बनाएको छ। प्रदेश सांसद विमल बस्नेतले भने, ‘पानी जहाजमा चढे पछि थाहा भयो जहाज कसरी सञ्चालन भइरहेको छ।’ उनले  नेपालको पानीजहाज त सडकमा गुडेको गाडी जस्तो भीरबाट हात हल्लाउनेहरूलाई ठाउँ ठाउँमा रोक्दै चढाउँदै उतार्दै पो सञ्चालन गरिँदो रहेछ।’ मोटरबाेटमा लगानी गर्न लगानीकर्ता आकर्षित भइरहे पनि बोट तथा साना पानीजहाज सञ्चालनका लागि कोसीमा पूर्वाधार निर्माण भएको छैन। कोसीका ठाउँ ठाउँमा ठूला ढुंगाहरू, भंगालो आदिको व्यवस्थापन नहुँदा यात्रुहरू जोखिममा छन्। यतिमात्रै हैन कोसीमा बाँस ढुवानी हुँदा पानीजहाज ठोकिने र दुर्घटनामा पर्ने खतरा पनि छ। 

हाल चतरास्थित कोसी पुलदेखि बराह क्षेत्रधाम सम्मको प्रतिव्यक्ति ५ सय रुपैयाँ र भोजपुरको सिम्लेसम्मको प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएर पानीजहाजहरूले यात्रुहरू ओसार पसार गरिरहेका छन्। जल यातायात महँगो भएको गुनासो आइरहे पनि व्यवसायीहरू भने जल यातायात सस्तो भएको दाबी गर्छन्। अन्तर्राष्ट्रिय स्तरमा पनि स्टिमरको भाडा न्यूनतम ४ सय डलर रहेको उनको दाबी छ।‘अन्तर्राष्ट्रिय स्तरमा स्टिमरको भाडा ४ सय डलर छ’ श्रेष्ठले भने,‘हामी ५ सय रुपैयाँमा यात्रु ओसार पसार गरिरहेका छौं।’ 

सडक यातायताबाट भोजपुरको सिम्ले पुग्न एक दिन लाग्ने र भाडा पनि १ हजार २ सय रुपैयाँ पर्ने गर्दछ। तर, मोटरबोटबाट आधा घण्टामै पुगिने र भाडा पनि आधा भन्दा कम पर्ने गरेको श्रेष्ठ बताउँछन्। उनले भने, ‘सप्तकोसीमा स्टिमर चल्न थालेपछि स्थानियको समय र खर्च दुबैको बचत भएको छ।’ कोसीमा सञ्चालित स्टिमरमा बराह क्षेत्र नगरपालिका र निजी कम्पनीहरूको २० करोड रुपैयाँ भन्दा बढी लगानी रहेको श्रेष्ठले बताए। कोसीमा स्टिमर सञ्चालनमा आएपछि चतरा पूर्वाञ्चलकै भेडेटार पछिको  दोस्रो गन्तव्यस्थल बनेको व्यवसायीहरू बताउँछन्।  

खुवालुङ् हेर्ने बढे  

किराँतहरूको आस्था खुवालुङ् (पानी ढुंगा) स्टिमर चढ्ने पर्यटकले चासो देखाउन थालेका छन्। सप्तकोसीको खुवालुङ्ले स्टिमर सञ्चालनमा अबरोध पुर्‍याएकाले फुटाउनुपर्ने प्रधानमनत्री केपी शर्मा ओलीको धारणा पछि खुवालुङ् चर्चा र चासोको विषय बनेकोछ। प्रधानमन्त्रीले किंरातको आस्थाको केन्द्रका रुपमा रहेको ढुंगा फुटाउने अभिव्यक्ति दिएको भन्दै किराँत धर्मावलम्वीहरू बिरोधमा उत्रिए। किराँतहरूको बिरोधका कारण खुवालुङ्बारे चर्चा र चासो सुरू भयो। खुवालुङका विषयमा विभिन्न खोज तथा अनुसन्धानहरूसमेत सुरु भएको छ। एकाएक खुवालुङ चर्चामा आएपछि यतिवेला खुवालुङ् हेर्नसमेत पर्यटक चतरा आउन थालेका छन्। सप्तकोसी नदीभित्रको खुवालुङ् किराँतहरूको सभ्यताको प्रतिकका रुपमा लिने गरिन्छ। यसैबीच प्रदेश सरकारले खुवालुङ्को संरक्षण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्ने जनाएको छ।

गत चैत १८ गते खुवालुङ्को अवलोकनमा पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  खुवालुङ फुटाउने नभई  पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताए। खुवालुङ्को संरक्षण गर्दै प्रदेशको समृद्धिमा, देशको समृद्धिमा यसलाई जोड्ने र यस ठाउँलाई धार्मिक सांस्कृतिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने राईले बताएका थिए। धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरू अरुण, तमोर र दूध कोसीको संगमस्थल त्रिवेणीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेतर्फ छलफल केन्द्रित हुने उनले बताए। 

प्रधानमन्त्रीले स्टिमर चलाउनका लागि ढुङ्गो भत्काउने बताएपछि किराँत समुदायले विरोध गरेको थियो। किराँत समुदायको विरोधपछि चर्चामा रहेको खुवालुङ हेर्न पर्यटकहरु त्रिवेणीसम्म पुग्ने गरेका छन्। दैनिक एक सय हाराहारी खुवालुङ हेर्नका लागि पर्यटकहरु आउने गरेको पर्यटन व्यवसायी राजेन्द्र कार्कीले बताए।

प्रकाशित: २३ चैत्र २०७७ १३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App