१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

घरेलु रक्सीलाई ब्राण्डिङ गरेर निर्यात गर्ने योजना

प्रतिबन्धित कोदोको घरेलु रक्सीलाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने  प्रदेश १ को समाजिक विकास मन्त्रालयले योजना अघि सारेको छ । बुधबार  सामाजिक विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री उषकला राईले कोदोको घरेलु मदिरालाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने योजना सार्वजनिक गरेकी हुन् ।  

राईले कोदोको रक्सीलाई ब्राण्डिङ गरी बिक्री वितरण गर्न कानुनी र व्यवहारिक पक्षको अध्ययन थाल्ने बताइन् । राईले स्वदेशी मदिरालाई प्रतिबन्ध लगाएर विदेशी मदिरालाई प्रोत्साहन गर्न नहुने धारणा राखिन् । राईले स्वदेशी घरेलु  मदिराको उत्पादन र बिक्री वितरणलाई प्रोत्साहन गर्न कानुनी आधारहरू तयार पार्ने काम पनि गरिने जानकारी दिइन् । जसका लागि प्रदेश सरकारले ब्याण्ड भर्सेस ब्राण्डको अवधारणा अघि बढाइएको मन्त्री राईले बताइन् । उनले भनिन्‘ पहिलो चरणमा स्वदेशी घरेलु कोदोको मदिराको बिक्री वितरण खुल्ला गर्न‘ब्याण्ड भर्सेस ब्राण्ड’को अवधारणा अघि बढाइएको छ ।’ प्रदेश १ का सबै जिल्लामा लोकल रक्सी स्थानीय आदिवासी जनजाती समुदायले उत्पादन गर्ने गरेको उनले बताइन् । स्वदेशी उत्पादनको उपेक्षा गरेर विदेशी मदिरा आयात गर्ने नीतिले समृद्धि नआउने उनको भनाइ छ । मन्त्री राईले भनिन्, ‘गाउँमा उत्पादन गरेको रक्सी सानु मात्रामा बेच्दा समेत हामी प्रहरीलाई ड्रम र बोतलमा लात्ती हान्न पठाउँछौँ, यसो गर्दा समृद्धि सम्भव छैन ।’  

लोकल मदिरा मात्रै हौ गाँजाको बिक्री वितरणमा लगाइएको प्रतिबन्ध पनि हटाउनु पर्ने उनले बताइन् । ‘धेरै देशले गाँजाको उत्पादन र बिक्री वितरण गरेर ठूलो आर्थिक लाभ लिइरहेका छन्’ उनले भनिन्, ‘हाम्रो देशमा भने प्रतिबन्ध लगाएर रोजगारीको अवसर र समृद्धिको आधार गुमाइरहेका छौं ।’ मन्त्री राईले स्वास्थ्य, शिक्षा, खेलकुद, श्रमरोजगार र महिला तथा बालबालिकाको क्षेत्रमा रोकिएका कामलाई निरन्तरता दिँदै नयाँ काम गर्ने बताइन् । उनले अहिले कोरोना भाइरसको दोस्रो चरण सुरु भएकाले यसको रोकथाम र अस्पताल सुधार तथा व्यवस्थापनलाई प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको जानकारी दिइन् । उनले कोशी कोभिड अस्पताललगायतका अस्पतालहरूलाई पुनः सञ्चालन गरिने बताइन् ।

प्रकाशित: १८ चैत्र २०७७ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App