९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

बढ्न थाल्यो निक्षेपको ब्याज

तरलता घटेसँगै निक्षेप तान्न वाणिज्य बैंकहरूले ब्याजदर बढाउन थालेका छन्। नेपाल बैंकर्स संघले सोमबार प्रकाशित गरेको विवरण अनुसार पछिल्लो एक सातामा (चैत ६–१३ सम्म) २७ वाणिज्य बैंकहरूले १० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दा २८ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्।  

दिनप्रतिदिन कर्जा लगानी बढ्दै गएपछि यतिखेर बैैंकिङ च्यालनमा करिब ४० अर्ब रूपैयाँ छ। जबकि दुई महिनाअघिसम्म बैंकिङ च्यानलमा करिब दुई सय अर्ब रूपैयाँसम्म तरलता थियो। संघका अनुसार पछिल्लो एक सातामा १० अर्ब रूपैयाँ थपिँदा कुल निक्षेप ३८ खर्ब ५० अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै पछिल्लो एक सातामा २८ अर्ब रूपैयाँले कर्जा प्रवाह थपिएपछि बैंकहरूको लगानी ३४ खर्ब ६३ अर्ब रूपैयाँ पुगेको छ।  

पछिल्लो समयमा बढ्दो आयातका कारण बैंकमा कर्जाको माग बढेको बैंकरहरूको भनाइ छ। कर्जाको माग बढ्दै जाँदा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदरमा वृद्धि गरेपछि निक्षेपकर्तालाई भने राहत पुग्न थालेको छ। कोरोना महामारीपछि बैंकिङ च्यानलमा अधिक तरलता हुँदा बैंकहरूले निक्षेप र कर्जाको ब्याज घटाएका थिए। जसले गर्दा कर्जा लिनेलाई सहज हुँदै आएको छ भने निक्षेपकर्ताको आम्दानी घटेको छ। घर तथा सवारी कर्जा लिनेले एकल अंकको ब्याजमै कर्जा लिन थालेका थिए।

केही सातायता नबिल, सिटिजन्स, ग्लोबल आइएमई, एनआइसी एसिया, मेगा, सिभिल, कुमारीलगायतले बैंकले मुद्दतीको ब्याजदर बढाएका छन्। दुई सातादेखि नबिल बैंकले तीन महिनाभन्दा बढीको मुद्दती निक्षेपको ब्याजदर ७.५१ प्रतिशत ब्याजदर दिन थालेको छ। नबिलले फागुन महिनासम्म यस्तो मुद्दतीमा ६.५० प्रतिशत ब्याजदर दिँदै आएको थियो।  

नबिल बैंकका डिजिएम मनोज ज्ञवाली भने आन्तरिक व्यवस्थापनका लागि निक्षेपको ब्याजदर बढाइएको बताउँछन्। ‘तरलता अभावले भन्दा पनि आन्तरिक व्यवस्थापनका लागि निक्षेपको ब्याजदरमा सामान्य वृद्धि गरिएको हो,’ उनले भने। सरसर्ती हेर्दा ती बैंकहरूले सामान्य ब्याज वृद्धि गरे पनि त्यसको अर्थ तरलताको दबाब बढेको छ भन्ने रूपमा बुझ्नुपर्ने कतिपय बैंकरको भनाइ छ। निक्षेपको ब्याजदर बढ्दा निक्षेपकर्ताको आकर्षण बढ्ने बैंकरहरूको अपेक्षा छ।  

२०७५ मा मुद्दती निक्षेपको ब्याजदर १३–१४ प्रतिशतसम्म पुगेको थियो। तर कोरोनापछि अधिकांश बैंकले दिने निक्षेपको ब्याजदर ५–६ प्रतिशतमा झारिएको थियो। निक्षेपमा दिइने ब्याजदर घटेपछि लगानीकर्ता सेयर लगायतका अन्य कारोबारमा केन्द्रित भएको अनुमान गएिको छ। यतिखेर एनआइसी एसियाले तीन महिनादेखि एक वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर ६.५० बाट बढाएर ७.१० प्रतिशत पुर्‍याएको छ। त्यस्तै ग्लोबल आइएमईले ७ प्रतिशत पुर्‍याएको छ। उक्त बैंकले फागुनसम्म मुद्दती निक्षेपमा ६.५० प्रतिशत ब्याजदर दिने गरेको थियो।  

मेगा बैंकले पनि तीन महिनादेखि एक वर्षसम्मको ब्याजदर ५ प्रतिशतबाट बढाएर ६.५० प्रतिशत पुर्‍याएको छ। तीन महिनाभन्दा बढीको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिने गरेको सिटिजन्स बैंकले केही दिनदेखि त्यस्तो ब्याजदर ६.५० प्रतिशत पुर्‍याएको छ। नेपाल राष्ट्र बैंकका अधिकारीहरू मौद्रिक नीतिमार्फत पुनर्कर्जा दिने व्यवस्था गरिएकाले तरलता अभाव हुनबाट बचाएको दाबी गर्छन्।

 कोरोना महामारीबाट प्रभावित उद्योगी, व्यवसायीलाई राहत दिन केन्द्रीय बैंकले पुनर्कर्जा कोषमा रहेका ४२ अर्बको पाँच गुनासम्म पुनर्कर्जा दिने घोषणा गरेको छ। जसमध्ये अहिलेसम्म करिब एक सय अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह भइसकेको छ। राष्ट्र बैंकका अधिकारीहरू घोषित पुनर्कर्जा प्रवाह हुने क्रम जारी रहेको बताउँछन्। कोरोना महामारी नियन्त्रणतिर गइसकेपछि धेरै कर्जा माग हुनसक्ने अनुमान गरिएको छ। 

प्रकाशित: १७ चैत्र २०७७ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App