८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

इटहरीमा सवा अर्बको पाँचतारे होटल

अतिथि

डेढ दशकअघिसम्म इटहरी चोकभन्दा उत्तर धरानतर्फ सेनाको पूर्वी पृतना मुख्यालयदेखि माथि सडकछेउमा सामान्य स्तरका घर थिए। सडक दायाँबायाँ खेती गर्न गाडिएका पम्पसेट अहिले पनि कतैकतै भेटिन्छन्। यही सडकआपसासको क्षेत्र हेर्दाहेर्दै अहिले आकाश–जमिनको फरक भएको छ। इटहरी चोकबाट उत्तर लागेपछि तरहरासम्मै सडकआसपासमा अनियन्त्रित घरसँगै ठुल्ठुला होटल, व्यापारिक कम्प्लेक्स निर्माण हुन थालेका छन्। खेतीयोग्य जमिन पुरै घटेको छ।  

विराटनगरबाट २२ किलोमिटर उत्तर र धरानबाट १८ किलोमिटर दक्षिण इटहरी एकातिर बसाइँ सर्नेको मुख्य गन्तव्य बन्दै आएको छ भने अर्कातिर यो ठाउँ पूर्वकै व्यापारिक केन्द्रको रूपमा विकसित हुँदै छ। जसले गर्दा इटहरीको चारैतिर धान खेत मासिँदो छ, बस्ती बाक्लो हुने क्रममा छ। पूर्वका अन्य सहरको तुलनामा इटहरीमा जनसंख्या वृद्धि तीव्र गतिमा हुनुका साथै भौतिक पूर्वाधार विस्तारको गति पनि बढ्न थालेको छ।

सहरीकरणका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सडक, खानेपानी, ढल, बिजुली, सञ्चारलगायत न्यूनतम पूर्वाधारको आवश्यक पर्छ। यही क्रममा इहटरीमा ठुल्ठुला होटल खुल्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। नयाँ होटल खुल्ने क्रममै नयाँ वर्ष २०७८ मा पाँचतारे होटल सञ्चालनमा आउने भएको छ। होटल पूर्ण रूपमा सञ्चालनमा आउँदा १ अर्ब ३० करोड रूपैयाँ लगानी पुग्नेछ। होटलपरिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ। जग्गाको मूल्यांकन पनि सुरुआतमा भन्दा यतिबेला ह्वातै बढेको छ। होटल सुरुवातमा आंशिक मात्र सञ्चालनमा हुनेछ। विस्तारै पूर्ण रूपमा सञ्चालनमा आउनेछ।  

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल र गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीका सञ्चालक बलराम आचार्यको संयुक्त लगानीमा गरिमा होटल तयारीको अन्तिम चरणमा छ। धनकुटाको मारेकटहरेबाट व्यापार गर्न इटहरी झरेका पौडेल दुई दशकदेखि व्यावसायिक कर्ममा क्रियाशील छन्। २१ वर्षको उमेरमा बसन्तपुरमा साझेदारीमा नुनको व्यापार थालेका उनी २०५६ सालदेखि इटहरीमा व्यवसाय गरिरहेका छन्। आफ्नो व्यवसाय बढाउँदै अहिले उनी पूर्वी नेपालमै गनिने उद्यमी भएका हुन्।  

आचार्य पनि दुई दशकअघिसम्म मोरङ कानेपोखरी क्षेत्रको जहदामा किसानको धान खरिदबिक्री गर्ने केन्द्र सञ्चालन गर्थे। व्यापार गर्नकै लागि इटहरी सरेका आचार्यले यहाँ गोरखा डिपार्टमेन्ट खोलेर सफलता हासिल गरेसँगै पूर्वका चारवटा सहरमा थप डिपार्टमेन्ट खोलिसकेका छन्। आफ्नो व्यवसाय बढाउने क्रममा संयुक्त लगानीमा पाँचतारे होटल पनि थप्न लागेका हुन्।  

होटलका निर्देशक विनोद पौडेलले वैशाखमा होटल सञ्चालन गर्ने लक्ष्य राखिएको होटलको फिनिसिङ अहिले युद्धस्तरमा चलिरहेको छ। होटलको ५ वर्षअघि निर्माण थालिएको थियो। तर निर्माण थालेको केही समयपछि २०७२ सालमा भूकम्प आयो। भूूकम्पले केही समय रोकियो। फेरि एक वर्षयता सुरु भएको कोरोना महामारीले गर्दा त झनै निर्माणमा समस्या हुन पुग्यो। कोरोना महामारी मत्थर भएसँगै फिनिसिङको काम चलिरहेको छ। ‘जुन योजना हाम्रो थियो, दुई वर्ष ढिलाइ भएकै हो,’ निर्देशक पौडेलले भने, ‘होटल सञ्चालनमा ढिलाइ हुनुमा भूकम्प, निर्माण चलिरहेकै बेला आधा वर्षसम्म भारतले अघोषित नाकाबन्दी गर्नु र कोरोना महामारीसँगै बैंकिङ तरलताले गर्दा भएको हो।’  

उनले होटललाई पाँचतारे होटलको मान्यता दिन र होटलमा क्यासिनो सञ्चालनका लागि पर्यटन विभागमा आवेदन गरिएको उल्लेख गरे। ‘हाम्रो होटल पूर्वकै ठूलो हुनेछ,’ पौडेलले भने, ‘पाँचतारेका लागि प्रारम्भिक चरणको अनुमति भइसके पनि अब थप लिन बाँकी छ।’ उनकै शब्दमा पूर्वको पहिलो ठूलो होटल भने झापाको मेची क्राउन हो। मेची क्राउन भारत र बंगलादेशी पर्यटकलाईं नेपालसम्म तान्ने योजनाका साथ सञ्चालनमा आइसकेको छ।  

पूर्वमा स्तरीय होटल आवश्यक छ भन्ने सोचका साथ सञ्चालकले योजना बनाए। निर्देशक पौडेलले भने, ‘हाम्रो जग्गा पनि भएकाले होटल खोल्ने योजना बनाइरहेका बेला संयुक्त लगानीमा अघि बढ्ने निर्णय हुन गयो, त्यहीअनुरूप बलराम आचार्यसहित पाँचजना मिलेर सुरुआत गर्‍यौं।’ पछिल्लो समय भने दुईजना लगानीकर्ता मात्र होटलमा रहेका छन्।  

होटल सञ्चालक आचार्यका अनुसार धेरैजना लगानीकर्ता हुँदा आर्थिक भार नपर्ने सोच सुरुआतमा भए पनि विस्तारै अरूले छाड्दै गएपछि दुईजनामा मात्र सीमित भएको हो। ‘होटल निर्माणको सुरुआतमा रहेका साथीले बीचमा छोड्दाछोड्दै अहिले दुई जना मात्र भएका छौं,’ उनले भने।  

होटलमा कुल ७८ वटा कोठा छन्। जसमध्ये प्रेसिडेन्सियल सुइट रुम १, सुइट रुम ८, एक्जुक्युटिभ रुम १२, डिलक्स रुम २० र स्ट्यान्डर्ड रुम ३७ वटा छन्। होटलमा तीनवटा रेस्टुरेन्ट हुनेछन्। जसमध्ये ४० जना अटाउने एक रूफटप रेस्टुरेन्ट छ। अर्को फाइन डाइनिङमा सयजना सजिलै बस्न सक्छन्। तेस्रो ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी छ। यहाँ तीनवटा कन्फ्रेन्स रुम छन्। जसमा एउटामा २५, अर्कामा ५० र तेस्रोमा १ सय ५० जना अटाउने क्षमता छ।  

यसैगरी एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुईवटा बेंक्वेट हल छन्। होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा, पर्याप्त पार्किङलगायत सुविधा रहनेछन्। अहिलेसम्म रुमको न्यूनतम मूल्य ६ हजार ५ सय रहने तोकिएको छ। अरूको पनि मूल्य तय गरिसकिएको छैन। ‘हामी सेवामा भने सम्झौता गर्दैनौं,’ निर्देशक पौडेल भन्छन्, ‘मोफसलबाट पनि अन्तर्राष्ट्रिय स्तरको सेवा दिएर एकपटक आएको ग्राहक अर्कोपटक जसरी पनि आउने वातावरण तय गर्नेछौं।’

इटहरी कुनै पर्यटकीय क्षेत्र होइन, यहाँ घुम्नकै लागि भनेर नगण्य मात्र पर्यटक आउँछन्। तर पूर्वकै व्यापारिक केन्द्र र प्रोजेक्टसँग सम्बन्धित कार्यक्रम, विवाह, मनोरञ्जन, जन्मोत्सव, वैवाहिक वर्षगाँठ, नयाँ वर्षलगायत समारोह मनाउन पूर्वको इटहरीसँगै आसपासका मानिस आउने गर्छन्। अर्कातिर पूर्वी पहाडी जिल्ला र तराईका मानिस इटहरी भएर आवतजावत गर्ने भएकाले गर्दा बासस्थानको उपयुक्त प्वाइन्ट भएकैले गर्दा होटल तथा लज खोल्नेको संख्या ह्वातै बढेका छन्। पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, तेह्रथुम, धनकुटालगायत स्थानबाट र तराईका जिल्लाबाट पनि व्यापारिकसँगै अन्य घरायसी कामका लागि आउजाउ गर्नेको मुख्य मार्ग इटहरी नै हो। जसमा गरिमा होटल सञ्चालनले व्यापार, प्रोजेक्टसँग सम्बन्धित गतिविधि गर्नेको उपयुक्त थलो र यातायात सहजताले इटहरी भएर आउँजाउँ गर्नेका लागि उत्तम हुनेछ।  

त्यस्तै त इटहरीमा बास बसेर पूर्व घुम्ने पर्यटकका लागि पनि यो होटल उपयुक्त हुनेछ। इटहरीबाटै पूर्वको श्रीअन्तु, उत्तरमा भेडेटार, राजारानीसँगै मकालु वरुण क्षेत्र, इलामसम्म आवतजावत गर्न सकिन्छ। पूर्वको व्यापारिक केन्द्रको रूपमा पनि प्रसस्तै सम्भावना बोकेको इटहरीमा गरिमाजस्ता नयाँ सुविधासम्पन्न होटल खुल्नाले पूर्वी नेपाल त छँदै छ, भारतका विभिन्न क्षेत्रका ग्राहकलाई पनि नेपाल तान्ने माध्यम बन्ने निश्चित छ। होटल पूर्ण क्षमतामा चल्दा कुल २ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्। होटलमा शतप्रतिशत नेपाली कर्मचारीलाई रोजगारी दिने लक्ष्य राखिएको छ। तर होटललाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि भने केही एक्सपोटिज भने आवश्यक पर्छ। यसका लागि नेपालका दुई/तीनवटा समूहसँग छलफल चलिरहेको सञ्चालक आचार्यले बताए। ‘नेपालको एक्सपोटिजसँग कुरा नमिलेमा भारतको सिक्किमबाट पनि डाक्ने योजना छ,’ उनले भने।

प्रकाशित: ४ चैत्र २०७७ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App