६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

बहराइनका राजपरिवारका सदस्यसहितको टोली ८० दिन नेपालमा रहने

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली सोमबार नेपाल आइपुगेको छ।

बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत सोमबनर काठमाडौँ आइपुगेको आरोहण व्यवस्थापन गरिरहेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए। उक्त टोली साँझ ७ः३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेको थियो। काठमाडौँको मेरियट होटलमा पाँच दिन क्वारेन्टिन बसेपछि गोरखा गएर त्यहाँ पनि पाँच दिनको बसाइपछि काठमाडौँ फर्कने छ। त्यसपछि आरोहणको प्रक्रिया सकेर आरोही टोली सगरमाथा आधारशिविर जाने कार्यतालिका छ।

यसअघि आज बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै उक्त टोली त्यहाँको समयानुसार बिहान सवा ९ बजे बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानमार्फत नेपाल प्रस्थान गरेको जनाएको थियो। आरोही टोलीमा बहराइन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद, मोहम्मद अल खालिफासहित बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी र तीन जना बेलायती नागरिक पनि छन्। यो टोली करिब ८० दिन नेपालमा रहनेछ।

सो टोलीले गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्ध लगाइने दुई हजार डोज अस्ट्राजेनेका खोप समेत सहयोगस्वरुप प्रदान गर्नेछ। टोलीलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरुणा घिसिङलगायत राजदूतावास परिवारले भेटेर सफलताको शुभकामना दिएका थिए। त्यस्तै बहराइनी पक्षबाट कमान्डिङ अफिसर अफ द रोयल गार्ड ट्रेनिङ स्कुल, ब्रिगेडियर साद घार्ली मुबारकले पनि शुभकामनासहित विदाइ गरेको जनाइएको छ।  

टाेलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले पर्वतारोहण सम्बन्धमा बहराइनबाट भैरहेका पछिल्ला प्रयासबाट नेपाल र बहराइनबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएकोमा खुशी व्यक्त गरे।

प्रकाशित: ३ चैत्र २०७७ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App