१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

अर्थतन्त्र पुरानै लयमा : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको बताएका छन्। उद्योग संगठन मोरङको ४८औं साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कोरोनाले थला परेको अर्थतन्त्र पुरानै अवस्थामा फर्कन थालेको बताएका हुन्।  

अर्थतन्त्रको आधारशिलाका रूपमा रहेको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएका कारण नेपालको अर्थतन्त्र छोटो सयममै पुरानै अवस्थामा फर्किएको दाबी गरे। ‘विश्वका अन्य देशहरूभन्दा नेपालको अर्थतन्त्र चाँडै रिकभर भएको छ,’ गभर्नर अधिकारीले भने। उनले होटल र पर्यटन क्षेत्र भने अझै तंग्रिन नसकेको बताए।  

उनले होटल र पर्यटन क्षेत्र पनि केही समयपछि क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गरे। अधिकारीले बैंकको ब्याजदर घटेको, सरकारले दिएको पुनर्कर्जा लगायत प्याकेजले उद्योगीलाई राहत मिलेका कारण चाँडै अर्थतन्त्रले पुरानो लय समाउन सफल भएको बताए। उनका अनुसार सरकारले हालसम्म एक खर्ब पुनर्कर्जा वितरण गरिसकेको छ। साउनयता मात्रै एक खर्बभन्दा बढी सहुलियत कर्जा बैंकमार्फत प्रवाह भएको छ। कोरोनाले समस्या मात्रै नभई अवसर पनि सिर्जना गरेको उनले बताए।  

कोरोनाकै कारण डिजिटल कारोबारलाई व्यापक बनाउन सहयोग मिलेको उनको भनाइ छ। ‘घरबाटै पनि अफिसको काम गर्न सकिने अवस्था सिर्जना भएको र देश डिजिटल युगतर्फ प्रवेश गरेको छ,’ उनले भने। साउनयता बैंक निक्षेपभन्दा कर्जा प्रवाह बढी भएको छ। ‘साउनयता पाँच खर्ब निक्षेप संकलन भएकोमा बैंकहरूले पाँच खर्ब ७७ अर्ब रूपैयाँ ऋण प्रवाह गरेका छन्,’ गभर्नर अधिकारीले भने। कोरोना साम्य भएसँगै व्यापार बढेपछि अर्थतन्त्र चलायमान भएको अधिकारीको भनाइ छ।  

कार्यक्रममा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोति दुगडले नयाँ नेपालको सपना निजी क्षेत्रको सहयोगबिना पूरा नहुने बताए। दुगडले एउटा पक्षले मात्रै परिवर्तन गर्न सम्भव नहुने भन्दै निजी क्षेत्र र कर्मचारी प्रशासनको सहयोग पाए देशले आर्थिक विकासको बाटोमा गति लिने बताए। अझै पनि सानातिना काममा निजी क्षेत्रलाई कर्मचारीले अल्झाउने गरेको दुगडको गुनासो छ। कर्मचारी प्रशासनको असहयोगले सरकारले गर्न चाहेजस्तो सेवा प्रवाहमा सुधार आउन नसकेको उनको भनाइ छ। दुगडले भने, ‘स्थायी सरकारका रूपमा रहेका कर्मचारीले छिटोछरितो सेवा प्रवाह गर्न जाँगर नचलाएसम्म एउटै कामका लागि महिनौं धाउनुपर्ने, हैरानी खेप्नुपर्ने समस्या समाधान हुँदैन।’ सरकारी सेवामा हुने ढिलाइले व्यावसायिक वातावरणसमेत प्रभावित हुने उनको धारणा छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनापछि राष्ट्र बैंक र सरकारले लिएको नीति सफल भएको बताए। ‘राष्ट्र बैंक र सरकारको नीतिकै कारण छोटो अवधिमै नेपालको अर्थतन्त्र लयमा आएकाले सरकारको प्रशंसा गर्नै पर्छ,’ उनले भने।  

ठूला उद्योग, व्यवसायले पुनर्कर्जा पाए पनि सानाले पाउन नसकेको गुनासो गर्दै गोल्छाले साना उद्योगी, व्यवसायीलाई पनि पुनर्कर्जा सजिलै पाउन सक्ने व्यवस्था गर्न सरकारसँग माग गरे। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले स्थानीय तहहरूमा पनि बैंकहरूले केही रकम योगदान गर्ने व्यवस्था मिलाउन गभर्नर अधिकारीलाई आग्रह गरे। पराजुलीले विराटनगर महानगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सधैं तत्पर रहेको बताए। उनले विराटनगर प्रवेशद्वार निर्माण गर्न, फ्लाई ओभरको, औद्योगिक प्रदर्शनीस्थल निर्माण लगायतका काममा महानगरपालिका निजी क्षेत्रसँगै हातेमालो गरेर अघि बढेको स्पष्ट पारे।  

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले विराटनगरका उद्योगी, व्यवसायीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले क्रस बोर्डर इकोनोमिक जोन, औद्योगिक प्रदर्शनी केन्द्र, रेलमार्ग लगायत पूर्वाधारको निर्माण चाँडो सम्पन्न गर्न सरकारलाई आग्रह गरे। घिमिरेले बैंकको ब्याजदर एक अंकभन्दा बढी नहुने व्यवस्था मिलाउन गभर्नर अधिकारीलाई आग्रह पनि गरे।  

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले नेपालमा उत्पादन लागत बढी भएका करण भारतीय वस्तुसँग प्रतिश्पर्धा गर्न गाह्रो भइरहेको बताए। उनले सरकारको अव्यवहारिक कर नीतिले समस्या पारिरहेको धारणा राखे। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुशील धनावत लगायतले निजी क्षेत्रको समस्या समाधानमा सरकार सकारात्मक हुनुपर्ने धारणा राखे।

प्रकाशित: १ चैत्र २०७७ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App