४ वैशाख २०८१ मंगलबार
अर्थ

बोर्डर नखुल्दा रोकिए भारतीय पाहुना

नेपाल आउन चाहेका भारतीय पाहुनालाई नाकामा झमेला

पाहुना लिएर पोखरा भित्रिएका भारतीय पर्यटक बस । अहिले आफ्नै सवारी चढेर भारतीय पाहुना नेपाल आउन पाएका छैनन । फाइल तस्बिरः सन्तोष÷नागरिक

केहीदिन अघि होटल व्यवसायीको छाता संस्था पश्चिमाञ्चल होटल संघ पश्चिम नेपालका ठुला सहरमा ‘जाउँ है पोखरा’ अभियान लिएर पुग्यो । नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र बर्दियामा अभियान चलाउँदै आन्तरिक पर्यटकलाई पोखरा घुम्न बोलाउने खास उद्देश्य संघको थियो । तर, त्यो अभियानका क्रममा आन्तरिक पर्यटक प्रवद्र्धनको भन्दा पनि बढी चर्चा भारतीय पर्यटक नेपाल आउन नपाएकोमा केन्द्रीत रह्यो ।  

कोरोनो भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र एकवर्षदेखि पाहुनाविहीन छ । पाहुनाविहीन अवस्थामा पनि होटलको ढोका खोेलेका व्यवसायीले यो बेला भारतीय पाहुना भित्रिने आँकलन गरेका थिए । व्यवसायीको आँकलन मात्र नभई भारतीय पाहुना यतिखेर नेपाल आउन चाहेका पनि छन, तर उनीहरुलाई निर्धक्क नेपाल भित्रिन दिनेगरि बोर्डर नखुल्दा आउन नसकेको व्यवसायीको गुनासो छ ।  

यतिबेला भारतीय पाहुनाको लागि नेपाल आउने मुख्य सिजन मानिन्छ । भारतीय सहरमा अधिक गर्मि हुने हुँदा पनि भारतीयको ठुलो समुह सितल अनुभव लिन पोखरा, चितवन, काठमाडौं सहितका सहरमा घुमघामका लागि आउने गर्छन । घुमघामका बाहेक धार्मिक तीर्थयात्री पनि यो बेला नेपाल आउन खोज्छन् । यो बेला मुक्तिनाथ दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको अघिल्ला वर्ष भीडभाड नै हुन्थ्यो । तर नाका नखुल्दा भारतीय पाहुना आउन नसकेको व्यवसायीले बताए ।

व्यवसायीका अनुसार कोरोनाको त्रास घट्दै जान थालेपछि भारतीय पाहुना नेपाल भित्रिन चाहेका थिए । हुन त भारतीय पाहुनाका लागि नेपाल घुमघामको सिजन बाह्ैमास भएपनि मार्चदेखि भारतीयको आगमन अधिक हुने गरेको छ । गर्मी बढ्न थालेसँगै मार्चदेखि भित्रिने भारतीयको आगमन जुलाईसम्म हुने गरेको व्यवसायी बताउँछन् । ‘यतिबेला प्रयाप्त भारतीय पाहुना नेपाल आउन चाहेका छन् । तर, नेपालले नाका खुलाएर भारतीय पाहुनालाई प्रवेश दिएन,’ पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष हरि शर्मा भन्छन, ‘बोर्डर खोल्न नेपालले नमानेको हो । नेपालले सिमा नाका खुला गरिदिने हो भने यो बेला भारतीय पाहुना आउनेछन् । भारतीय पाहुना आउन तयार छन, तर, आउनै दिइएन ।’ पश्चिम क्षेत्रका व्यवसायीले पनि बोर्डर नखोल्दा भारतीय पाहुना आउन नपाउँदा व्यवसाय चौपटक भएको गुनासो सुनाएको शर्माले बताए ।  

शर्माका अनुसार यो बेला नेपाल भित्रिएका सिमित पाहुना नाकासम्म आफ्नै सवारीमा आउने गरेका छन् । त्यसपछि पैदलै नाका पार गरेपछि नेपाल छिरेर नेपाली सवारीमा गन्तव्यसम्म पुग्ने गरेका छन् । ‘अहिले भारतीहरु हिडेर नाका पार गरेका छन, तर उनीहरुलाई गाडीबाट आउन रोक लगाइएको छ,’ उनले भने, ‘गाडीबाटै आउजाउ गर्न दिने हो भने कोरोनाले थलिएको पर्यटन व्यवसायमा राहत थपिन्थ्यो ।’ भारतीयहरु सकेसम्म आफ्नै गाडीमा नेपाल आउन चाहने पनि उनले बताए । ‘बारम्बार गाडी बदल्नु झन्झट हो । आफ्ना गाडी हुनेले पनि लिएर आउन पाएका छैनन्,’ उनले भने, ‘नाका नखुल्दा झमेला भएको छ ।’  

उनका अनुसार धेरै भारतीय पाहुनाले यो बेला घुम्न आउनका लागि सोधखोज पनि गरेका छन् । अहिले नेपाल आउन चाहनेमा अधिकांश धार्मिक पर्यटक त्यो बाहेक गर्मि छल्नका लागि पनि आउन खोजेका पाहुना पनि छन् । पोखरा, काठमाडौं, चितवन घुम्नेगरि आउन चाहेका थुप्रै पाहुना भएपनि उनीहरुलाई सहजै आउजाउ गर्न नदिँदा समस्या परेको शर्माले बताए । पोखरा आउने अधिकांश भारतीयले सुनौली र वीरगञ्ज नाका प्रयोग गर्छन । महाराष्ट्र भेगका भारतीय सुनौली र बंगाल, विहारतिरबाट आउनेले वीरगञ्ज नाका बढी प्रयोग गर्दथे ।  

‘सरकारले भारतीय पाहुना भिœयाउनेगरि सकारात्मक संकेत देखाएन । यो बेला भारतीय भिœयाउन दिने हो भने पर्यटन क्षेत्र थोरै भएपनि रिकभर हुन्थ्यो,’ शर्माले भने, ‘मान्छे हिडेर आउन पाउने तर गाडी ल्याउन नपाउँदा पर्यटक आउन चाहेनन् ।’ आउनै चाहेका पाहुनालाई हिडेर नाका पार गर्न भनेपनि उनीहरुले झन्झट मानेको शर्माले बताए ।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले सहज रुपमा भारतीयलाई आउन नदिँदा पर्यटन व्यवसायीले लाभ पाउन नसकेको बताए । ‘गाडीमा आउन चाहेकालाई आउन दिइएन । बोर्डर खुलेको छ तर आफ्ना गाडी लिएर घुम्न आउन दिइएन,’ पोखरेलले भने, ‘हिडडुलका लागि बोर्डर खुलेको छ, तर, गाडीका लागि बन्द छ । त्यही भएर भारतीय पर्यटन बजारबाट अपेक्षा गरे अनुरुप लाभ लिन सकिएको छैन ।’ अहिले भारतीय पाहुना फाट्टफुट्ट आएपनि खुलमखुला रुपमा भित्रिन नपाएको उनले बताए ।

‘नेपाल सरकारले बोर्डर खुलाउने भनेपनि यातायाताका साधन लिएर आउने गरि माहोल बनाउन सकेन,’ उनले भने, ‘यो बेला प्रयाप्त भारतीय आउन चाहेका छ्न् । सहज रुपमा भित्रिन दिने हो भने यो बेला पोखरामा धेरै भारतीय भित्रिन्छन ।’ आफ्ना गाडीमा आउन नदिने र पैदल हिडेर वारपार गर्दा पनि सहज नहुँदा पनि भारतीय पाहुना आउन नचाहेको पोखरेलले बताए । ‘सरकारले नै नीतिगत रुपमा भारतीय पाहुना आउन पाउने गरि माहोल बनाउने हो भने पर्यटन आशालाग्दो अवस्थामा उकासिन्थ्यो तर, ढोका खोल्न दिइएन,’ उनले भने, ‘सकेसम्म पाहुना नै नआओस भन्ने चाहना सरकारले राख्यो ।’ 

राजनीतिक दलले हजारौ कार्यकर्ता भेला गराएर कार्यक्रम गर्न हुने, तर, भारतीय पाहुनालाई आउन नदिँदा व्यवसायीले समस्या भोगेको उनले बताए । ‘अरु सबै क्षेत्र करिब लिकमा आइसके, तर, पर्यटन क्षेत्र जोखिममुक्त हुन सकेन,’ होटल लेकसोरका संचालक समेत रहेका पोखरेलले भने ।

संघका अध्यक्ष विकल तुलाचन पनि नेपालीलाई भारत प्रवेशमा अवरोध नभएको तर, भारतीयलाई नेपाल प्रवेशमा सहजता नहुँदा पर्यटक भित्रिन नपाएको बताउँछन् । ‘फाट्टफुट्ट भारतीय भित्रिएका छन, तर, सहज छैन । स्थलमार्ग सहज हुन सकेन,’ तुलाचन भन्छन, ‘यो बेला निजी वा रिर्जभ गरेर भारतीय पाहुना समुहमा घुम्न आउने गरेका थिए, तर, यात्रु बोकेर भारतीय सवारीलाई नेपाल प्रवेश दिइएको छैन । समुहगत रुपमा आउने पाहुना आउन पाएनन् ।’ अहिलेको बोर्डर समस्या भारतमा नभई नेपालमा रहेको उनले बताए । ‘भारतमा समस्या छैन । नेपालीलाई भारत प्रवेशमा सहज छ, तर, भारतीयलाई नेपाल प्रवेशमा सहजता दिइएन,’ उनले भने ।  

सिमित आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय चलायमान बनाउन सकिने अवस्था नरहेकोले पनि यो बेला भारतीय पाहुनाको आगमन जरुरी परेको तुलाचनले बताए । ‘भारतीय आउन पाउने हो भने व्यवसायीलाई राहत मिल्थ्यो । मुल बाटोमा पाहुना रोकिएपछि चलायमान हुनै सकेन,’ उनले भने, ‘आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय धान्न सकिने अवस्था छैन ।’

प्रकाशित: २७ फाल्गुन २०७७ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App