१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गोरखा–फिनाम सडकमा ठेकेदारको लापरबाही

गोरखा सदरमुकाम भएर ग्रामीण भेग जाने अस्पताल मार्ग–बराह–फिनाम सडक खण्डमा निर्माण व्यवसायीको लापरवाहीले पैदलयात्रीले सास्ती खेप्नुपरेको छ। २०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको बानियाँ निर्माण सेवाले सडक निर्माण ढिला गर्दा समस्या भएको हो।

अत्यधिक धुलोले उक्त सडक भएर दिनहुँ आउजाउ गर्ने सरस्वती मावि आहाले, वल्र्ड क्यापिटल लगायत विद्यालयका विद्यार्थीले निकै सास्ती भोगेका छन्। ४.६ किलोमिटर सडक दुई वर्षभित्र निर्माण सक्ने गरी आठ करोड ४७ लाखमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो। 

सडकमा अहिले काम गर्ने मान्छे खासै देखिँदैनन्। ‘कामको गति सन्तोष मान्ने खालको छैन,’ पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर गणेश सुवेदीले भने, ‘हामीले पटकपटक निर्माण व्यवसायीलाई काम छिटो गर्न भनेका छौं।’ निर्माण जिम्मा लिने कम्पनीले काम गर्दा अरूलाई बाधा नपर्ने, असर नहुने गरी धुलो मारेर काम गर्नुपर्छ। पानी बारम्बार राख्नुपर्छ। तर उक्त सडक खण्डमा पानी बोक्ने ट्यांकर नै देखिँदैन।

 सडक भएर यात्रा गर्नेहरू एउटा गाडी आएपछि टाढा दौडनुपर्ने, पर्खिएर बस्नुपर्ने बाध्यता छ। एक दिन लगाएको विद्यालय पोसाक अर्को दिन लगाउन नमिल्ने गरी धुलाम्ये हुने गरेको भन्दै विद्यार्थीले बारम्बार शिक्षकसँग गुनासो गर्ने गरेका छन्। ‘दिनदिनै विद्यालयबाट फोन आउँछ, अविभावकले पनि गुनासो गर्नुहुन्छ,’ वडा नम्बर ८ का अध्यक्ष कृष्ण केसीले भने, ‘हामीले पूर्वाधार कार्यालयलाई बारम्बार भनिरहेका छौं, एक दिन पानी हालेको जस्तो गर्छन्, फेरि उस्तै हुन्छ। 

नियमित पानी नहाल्दा समस्या भएको छ।’ बिहान विद्यालय आउने र बेलुकी फर्कने समयमा र पैदल यात्री दिनभरी उक्त सडकमा हिँड्दा धुलो खान बाध्य छन्। सडक वरपर घर भएकाहरूले पनि गुनासो गर्ने गरेको वडा अध्यक्ष खत्रीले बताए। ‘निर्माण व्यवसायीले हामीलाई टेरेन,’ उनले भने। गोरखा सदरमुकाम भएर आरुघाट, घ्याम्पेसाल, बुङ्कोट, बोर्लाङ, सोती, माछाखोला, ताकुकोट लगायत ठाउँमा सवारी साधन आउजाउ गर्छन।

ग्रामीण भेगको मुख्य व्यापारिक केन्द्र आरुघाट जाने उक्त सडक खण्डमा निरन्तर सवारी चलिरहन्छ। सडकमा अत्यधिक धुलोका कारण पैदलयात्रीलाई सास्ती भएको गुनासो आइरहेको बताउँदै इन्जिनियर सुवेदीले निर्माण व्यवसायीलाई आग्रह गरेको बताए। सडक निर्माणको कामले सन्तोषजनक गति लिन नसकेको भन्दै उनले अहिलेसम्म करिब २० प्रतिशत काम भएको अनुमान गरे। दुई वर्षभित्र निर्माण गर्ने सम्झौता गरेको कम्पनीले करिब एक करोड रूपैयाँ भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।  

निर्माण कम्पनीका इन्जिनियर गौतम गुरुङले दैनिक दुई सयभन्दा बढी गाडी उक्त सडक भएर ओहोरदोहोर गर्ने हुँदा पानी राख्दा पनि निरन्तर धुलो उड्ने गरेको बताए। ‘हामीले हाम्रो क्षमता अनुसार पानी राखेका छौं, तर अझै पुगेको छैन,’ उनले भने। कामदार थोरै हुँदा सडक निर्माणको कामले गति लिन नसकेको स्वीकार्दै केही दिनमा कामदार थप गर्ने उनले बताए।

प्रकाशित: २५ फाल्गुन २०७७ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App