१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पाँच बर्षमा पनि तयार भएन बेलबास–दोभान बैकल्पिक मार्ग

बुटवल–पाल्पा सडकको सिद्धबाबा–दोभान खण्डको बैकल्पिक मार्गको रुपमा निर्माणाधिन बेलबास–दोभान सडक । तस्विर÷नागरिक

योजना अनुरुप काम भएको भए बुटवल बेलबास–नुवाकोट–दोभान सडक पोहोर देखि नै संचालनमा आइसक्थ्यो । यो सडक पहिरोको उच्च जोखीममा रहेको सिदार्थराजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकको सिद्धबाबा–झुम्सा खण्डको बैकल्पिक मार्ग हो । यो सडक संचालनमा आउदा सिद्धबाबाको पहिरोले घण्टौ बाटो बन्द भएर सवारी साधन बुटवल र पाल्पा तर्फ बाटोमै रोकीनु पर्ने अवस्थाको अन्त्य हुनेछ । 

तर बिडम्बना दुइ बर्षमा निर्माण सक्ने भनिएको सडक पाँच बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।  जसका कारण अहिलेपनि सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा घण्टौ बाटो जाम हुन्छ । बुटवल–पाल्पा हुँदै लुम्बिनी र गण्डकी प्रदेशका करिब एक दर्जन पहाडी जिल्लाको सवारी आवागमनमा त्यसले असर गर्छ । सिद्धबाबा–दोभान खण्डमा बर्षामा मात्रै हैन हिँउदमा समेत धुले पहिरोको जोखीम बढेपछि त्यसको बिकल्पमा बेलबास–नुवाकोट हुँदै पाल्पाको दोभान जोड्ने १७ किलोमिटरको बैकल्पिक सडक पाँच बर्ष अघि निर्माण सुरु गरीएको हो ।  

बेलबास देखि नुवाकोट सम्मको करिब ९ किलोमिटर सडक बुटवलले र नुवाकोट देखि पाल्पा दोभान सम्मको ८ किलोमिटर सडक डिभिजन पाल्पाले हेर्छ । दुइ बर्षमा निर्माण सक्ने योजना अनुरुप दुवै खण्डमा आर्थिक बर्ष २०७२÷०७३ मा पहिलो चरणको ठेक्का सम्झौता भएको थियो । तर अहिले सम्म यो सडकमा सबवेसको काम मात्र सकिएको छ ।  

तुलनात्मक रुपमा  सडक डिभिजन  पाल्पा अन्तर्गतको नुवाकोट–दोभान खण्डको निर्माणको गती तिब्र छ । सो खण्डमा अहिले ग्राभेलको काम सकेर रिटेनिङ वाल, नाली तथा कल्भर्ड निर्माणको काम भइरहेको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताए । रिटेनिङ वाल र कल्भर्ड निर्माण सकेर कालोपत्रेको काम सुरु हुने डिभिजन प्रमुख अधिकारीले बताए । आपतकालिन अवस्थामा सवारी आवागमनकालागि सडक प्रयोग गर्न सकिने गरी ग्राभेलको काम सकिएको उनले बताए । ‘सिद्धबाबा खण्डको पहिरोको जोखीम र जाममा फस्नु भन्दा  साना सवारी साधनले बेलबास–दोभान बैकल्पिक मार्ग प्रयोग गर्दा उचित हुन्छ’ अधिकारीले भने । नुवाकोट–दोभान खण्डको करिब ८ किलोमिटर सडकको सववेस निर्माणकालागि  २०७३ मै ६ करोडमा ठेक्का लागेको हो । २०७६ मा २ किलोमिटर ग्राभेलकालागि १ करोडमा र नाली,कल्भर्ड,रिटेनिङवाल निर्माणकालागि सोही बर्ष २ करोडमा अर्को ठेक्का सम्झौता भयो । जसको काम अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन पाल्पाका इन्जिनीयर शिव खत्रीले बताए ।

बैकल्पिक मार्गको बुटवल खण्डमा भने निर्माणले गती लिन सकेको छैन । यो खण्डमा २०७३  साउन १ मा पहिलो ठेक्का स्वीकृत भएको हो । महालक्ष्मी कन्स्ट्रक्सनले २ बर्षमा सबवेस सम्मको काम १३ करोड ४६ लाखमा ठेक्का पाएको थियो । तर उसले चालु बर्षको माघमा बल्ल काम सकेको छ । निर्माणकै क्रममा ठाँउठाँउमा बाटो भत्कीएपछि अहिले मर्मतको तयारी भइरहेको छ । यो आयोजना अन्तर्गत बेलबास नुवाकोट खण्ड प्रदेशलाइ हस्तान्तरण भइसकेको छ । तर पाल्पा खण्ड भने अहिले पनि संघ अन्तर्गत नै छ ।

प्रदेश अन्तर्गतको सडक डिभिजन शिवपुर कपिलबस्तुका इन्जिनीयर नेत्र देवकोटाले बेलबास–नुवाकोट खण्डमा सववेसको काम सकेपनि मर्मत र वित्तिय भुक्तानीको काम बाँकी रहेको बताए । सडकको डिपिआर नै त्रुटीपूर्ण हुँदा अहिले भुक्तानीमा समस्या भएको जानकारी दिए । उनका अनुसार डिपीआरमा साढे १० किलोमिटर भनिए पनि फिल्डमा जम्मा साढे ७ किलोमिटरमा काम गर्नु पर्ने भएकाले भौतिक प्रगती ९० प्रतिशत देखिएको छ । जसका कारण  भुक्तानीमा समस्या भएको उनले बताए ।

यो खण्डमा तत्कालिन समयमा सडक डिभिजन बुटवलले पहिलो ठेक्काको काम नसकीदै २०७४ मा फेरी पिचकालागि अर्को ठेक्का लगाएको थियो । सववेसको काम सुरु नहुँदै सडकले लुम्बिनी प्राकृतिक जेभिलाइ ९ करोड २५ लाखमा पिचकालागि ठेक्का लगाएको हो ।  

पहिलो ठेक्काको कामै नसकी पिचकालागि अर्को ठेक्का लगाउनु नै मापदण्ड विपरित रहेको सिवपुर सडक डिभिजनका एक जना अधिकारीले बताए । जसका कारण पिचकालागि भनेर  गरीएको ठेक्का सम्झौताको अवधि कामै नगरी सकिएको छ । यो ठेक्का अन्र्तगत २९ प्रतिशत काम भएको इन्जिनीयर देवकोटाले बताए । पहिलो ठेक्काको काम पूरा भएपछि बल्ल वेस र पिचको काम सुरु हुने उनले बताए । त्यसकालागि दोश्रो ठेक्काको म्याद ६ महिना थप्ने तयारी भइरहेको इन्जिनीयर  देवकोटाले जानकारी दिए 

प्रकाशित: २० फाल्गुन २०७७ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App