१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खानेतेलमा ४५ र गेडागुडीमा ४० रूपैयाँसम्म महँगी

गत साउनमा तोरी तेलको मूल्य प्रतिलिटर २२५ रूपैयाँ थियो। अहिले २० रूपैयाँ २४५ रूपैयाँ पुगेको छ। त्यस्तै सनफ्लावर तेलको मूल्य प्रतिलिटर १६५ रूपैयाँबाट बढेर २१० पुगेको छ। सनफ्लावर तेलमा लिटरको ४५ रूपैयाँ मूल्य बढेको छ। भटमास तेलको मूल्य पनि ४५ रूपैयाँ बढेको छ। साउनमा पोखरामा भटमास तेलको मूल्य लिटरको १५५ रूपैयाँ रहेकोमा अहिले २०० छ।  

तेलमा मात्र होइन, गेडागुडी र दालको मूल्य पनि उत्तिकै अकासिएको छ। सात महिना अवधिमा मासको दाल किलोमा १० रूपैयाँ महँगिएको छ। मुसुरो दालको भाउ पनि किलोमा १५ रूपैयाँ बढेको छ। चनाको किलोमा १० रूपैयाँ बढेको छ। सबैभन्दा बढी सेतो केराउ किलोमै ४० रूपैयाँ बढेर ७० बाट ११० पुगेको छ।  

एक लिटर तेलमै ४५ र एक किलो गेडागुडीमा ४० रूपैयाँसम्म मूल्य बढ्दा भान्छा महँगो भएको गुनासो उपभोक्ताको छ। कोरोना महामारीले आम्दानी घटेको बेला दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि घरखर्च धान्न मुस्किल भएको उपभोक्ताको गुनासो छ। ‘एक किलो केराउमा ४० रूपैयाँ बढेको छ। आम्दानी घटेको बेला बढेको यो मूल्यले हामीलाई खर्च थेग्नै सकस भयो,’ गैह्रापाटनका राजु भुजेलले भने, ‘किलोमा २–४ रूपैयाँ तलमाथि हुनु स्वाभाविक हो। तर ४०–४५ रूपैयाँसम्म मूल्य बढेपछि खर्च धान्नै सकिन्न।’

तेल, गेडागुडी र दालको मूल्य बढ्दा सबैभन्दा सकस भएको उनले बताए। ‘तरकारी, तेल, गेडागुडी, दाल भान्छामा दिनहुँ नभई नहुने उपभोग्य वस्तु हुन्। तर तिनै उपभोग्य वस्तुको मूल्य अकासिएको छ,’ भुजेलले भने, ‘आम्दानी घटेको बेला उपभोक्ताको ढाडै सेक्ने गरी महँगी बढ्दा पनि सरकारले ध्यान दिन सकेन। पछिल्लो सात महिनाको अवधिमा उपभोग्य वस्तुको मूल्य छोइनसक्नु भएको छ।’ कोरोना भाइरस संक्रमणको कारण थलिएको व्यवसाय उकासिन नपाउँदै उपभोक्ता महँगीको मारमा परेको उनले बताए।

व्यवसायी पनि कच्चा पदार्थ आयातमै मूल्य बढेकोले खुद्रा मूल्यमा चाप परेको बताउँछन्। चिप्लेढुंगाको मुनाल स्टोरका सञ्चालक मोति भुजेल भन्छन्, ‘साँच्चै यो बेला उपभोक्ताको ढाडै सेकिने गरी मूल्य बढेको छ। तेल, गेडागुडी र दालको मूल्य ह्वात्तै अकासिएको छ।’ सबै वर्गका उपभोक्तामाथि महँगीको भार थपिएको छ। उनका अनुसार तेलको कच्चा पदार्थ आयातमै मूल्य बढेको हो।  

खानेतेलको मूल्य बढ्नुमा कच्चा पदार्थको महँगीको कारक रहेको उनले बताए। ‘तेलको कन्टेनर बाहिरबाट आउने हो। यहाँ रिफिल र फिल्टरिङ मात्र गर्ने हो। यहाँ आफैंले तेल उत्पादन गर्ने होइन,’ उनले भने, ‘कोरोनाका कारण अहिले तेल आयात गर्दा कन्टेनरलाई बढी समय लाग्ने गरेको छ। पहिला एक महिनामै भित्रिने कच्चा पदार्थ आउन अहिले दुई महिना लाग्छ। कोभिडका कारणले तेलका कन्टेनरलाई समय लाग्ने गरेको छ, त्यसले पनि महँगी बढाउन सघाएको हो।’ खानेतेल मलेसिया लगायतका मुलुकबाट आउँछ।  

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला अधिक उपभोग्य वस्तु बाहिरबाट आउने भएको मूल्य बढेको टुलुटुलु हेर्नेबाहेक विकल्प नभएको बताउँछन्। मूल्य बढ्नुको कारण भन्न सकिने अवस्था नरहेको र सरकारले मूल्य नियन्त्रण गर्न नसकेको उनले बताए।  

‘एक लिटर तेलमै ५० रूपैयाँभन्दा बढी मूल्य बढेको छ। मूल्यवृद्धिबारे वाणिज्य विभागमा हामीले पनि उजुरी गरेका छौं,’ उनले भने। जबर्जस्ती मूल्य बढाएको भनेर दुईवटा तेल उद्योगलाई कारवाही स्वरूप तीन लाख रूपैयाँ जरिवाना तिराए पनि मूल्य नियन्त्रणमा आउन नसकेको उनले बताए।  

‘खानेतेलको कच्चापदार्थ विदेशबाट आउने हो,’ उनले भने, ‘कच्चा पदार्थ ल्याउँदा नै केही मूल्य बढेको छ। त्यसमा व्यवसायीले पनि थपेका छन्।’ दैनिक उपभोग्य वस्तुमा चलखेल भएको उनले बताए। ‘मूल्य नियन्त्रण गर्ने निकायले नै हलो अड्काएर गोरु चुटेको जस्तो गरेका छन्। कच्चा पदार्थमा केही बढेको छ, त्योभन्दा धेरै व्यवसायीले बढाएका छन,’ उनले भने, ‘कच्चा पदार्थको बहानामा मूल्य बढाएका छन्।’

गेडागुडीको मूल्य बढ्नुमा भारतमा किसान आन्दोलनको पनि कारण रहेको उनले बताए। ‘भारतमा किसान आन्दोलन डेढ महिना चल्यो। त्यसले गर्दा उत्पादित वस्तु बाहिर जान पाएन। उत्पादिन वस्तु बजारमा आएन, स्टक सामानको मूल्य बढाएर चलखेल गराइयो,’ उनले भने, ‘कच्चा पदार्थको मूल्य बढ्दा मारमा उपभोक्ता छन्। तर सरकारले नियन्त्रणको प्रयास गरेन।’

प्रकाशित: १४ फाल्गुन २०७७ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App