८ वैशाख २०८१ शनिबार
अर्थ

माल्दिभ्स जान मरिहत्ते

वास्तविकता नबुझी वैदेशिक रोजगारीमा जाँदा थुप्रै महिला समस्यामा परेको थाहा पाउनुभएको छ? वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल आफ्नो कार्यकक्षमा पुगेका युवतीलाई सम्झाउँदै थिए। १८ देखि २१ वर्षका ती युवतीलाई वैदेशिक रोजगारीको साटो स्वदेशमा कुनै उद्यम गर्न दाहालले पटकपटक सम्झाइबुझाई गरे। 

बुझ्दै नबुझी वैदेशिक रोजगारीमा जान गरेको आग्रहलाई युवतीहरूले बेवास्ता गरेपछि उनले खाडी मुलुकमा अन्य महिलाले भोगेको समस्याबारेको भिडियो पनि देखाए। भिडियोमार्फत ती महिलालाई वास्तविकता नबुझी विदेश पुग्दा पाएका अनेक समस्या सुनाउँदै थिए। त्यति गर्दा पनि काम खोज्न विदेश जान खोजेका युवतीहरू निर्णय बदल्न तयार भएनन्। 

उल्टै ती ६ युवतीले भने– विदेश जान नपाउने हो भने स्वदेशमा रोजगारीको ग्यारेन्टी हुनुपर्छ। रोजगारीका लागि माल्दिभ्स जान भन्दै हातमा भिसा, टिकट र होटलको चिठी लिएर विभाग पुगेका युवतीले सम्झाइबुझाई गर्दा उल्टै स्वदेशमा रोजगारीको ग्यारेन्टी खोजेपछि अन्ततः दाहाल नाजवाफ भए।  

‘सरसर्ती हेर्दा उनीहरूको वैदेशिक रोजगारी जोखिममा देखिन्छ,’ महानिर्देशक दाहालले भने, ‘जोखिम देखिएपछि हाम्रो जिम्मेवारी सम्झाइबुझाई गर्ने हो। अन्य विकल्प सोच्न लगाउने हो। तर कुरा नै नसुनेपछि के लाग्दो रहेनछ ।’ उनका अनुसार दलालको प्रलोभनमा परेका कारण जति सम्झाइबुझाई गरे पनि युवतीहरूले बेवास्ता गरेका हुन् ।

‘हाम्रो सम्झाइबुझाई भन्दा दलालको प्रलोभन बढी प्रभावकारी हुन्छ भन्ने उदाहरण यसलाई मान्न सकिन्छ,’ दाहालले भने, ‘वास्तविकता नबुझी वैदेशिक रोजगारीमा जाने र समस्यामा पर्ने क्रम कसरी कम गर्ने भन्ने अहिलेको मुख्य समस्या हो ।’ रोजगारीका नाममा विदेश जाने र समस्या भोग्ने क्रम केही वर्षयता जारी छ। 

यो रोक्न सरकारले गरेका प्रयास प्रभावकारी हुन सकेका छैनन्। वैदेशिक रोजगारीलाई सूक्ष्म रूपले नियालिरहेका विज्ञहरू समस्या यकिन नगरेसम्म महिलामाथि हुने जोखिम कायमै रहने बताउँछन्। अधिकारवादीहरूले वैदेशिक रोजगारीमा जाने महिलामाथि जोखिम कम गर्ने हो भने सशक्तीकरण र जनचेतना आवश्यक रहेको तर्क गर्छन्। तर महानिर्देशक दाहाल सरकारी निकायबाट हुने जनचेतना र सशक्तीकरणका कार्यक्रमभन्दा दलालको प्रलोभन बढी प्रभावकारी हुँदै गएको अनुभव सुनाउँछन्।  

‘दलालले यतिधेरै ‘माइन्ड वास’ गरेको हुन्छ कि हामीले जति सम्झाइबुझाई गर्दा पनि कुनै नतिजा निस्कँदैन,’ उनले भने, ‘विभिन्न घटना हेर्दा धेरैलाई स्वदेशमा बस्न र काम गर्न चासो नै हुन छाडेको जस्तो लाग्दैछ ।’ हुँदाहुँदा पछिल्लो समयमा नामै नसुनिएका मुलुकमा समेत महिला रोजगारीका नाममा जान थालेको दाहालको भनाइ छ। 

माल्दिभ्सको रोजगारीलाई उनले यसैसँग तुलना गरे। ‘आम्दानीको दृष्टिकोणले माल्दिभ्स त्यति राम्रो गन्तव्य मुलुक होइन तैपनि केही समययता माल्दिभ्सका होटलमा काम गर्न भन्दै २०–२२ वर्षका युवती जाने क्रम बढेको छ,’ उनले भने, ‘उनीहरू माल्दिभ्समै काम गर्ने हुन् वा त्यहाँबाट अन्यत्र जाने हुन् भन्नेमा चाहिँ प्रस्ट छैन ।’ विभागका अधिकारीहरू माल्दिभ्स रोजगारीका लागि भन्दा पनि त्यहाँबाट अन्य मुलुकमा जान पाइने आशाले जाने गरेको अनुमान गर्छन्। यसरी जाँदा कैयौं महिला शारीरिक र आर्थिक र मानसिक शोषणमा पर्ने गरेको उनीहरूको भनाइ छ।  

दलालले महिलालाई माल्दिभ्स पुर्‍याएर द्वन्द्वग्रस्त देशमा लैजाने धन्दा चलाएको हुनसक्ने विभागका अधिकारीहरूको अनुमान छ। केही दिनअघि इराक पुगेका २६ महिलाले विभागका अधिकारीसमक्ष उद्धारका लागि आग्रह गरेका थिए। इराक लगायत द्वन्द्वग्रस्त मुलुकमा महिलालाई पुर्‍याउँदा दलालले माल्दिभ्स, श्रीलंका जस्ता मुलुकको बाटो प्रयोग गरेको हुन सक्ने अनुमान गरिन्छ।  

राहदानी विभागका अनुसार अहिलेसम्म करिब सात लाख महिलाले राहदानी लिएका छन्। तर करिब साढे दुई लाखले मात्र श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा पाइन्छ। राहदानी लिएका तर श्रम स्वीकृति नलिएका ठूलो संख्याका महिला विदेश गएको अनुमान छ। यसरी वैदेशिक रोजगारीमा गएका कैयौं महिला सम्पर्कविहीन भएको बताइन्छ ।

दलालको प्रलोभनमा परी महिला वैदेशिक रोजगारीमा जाने क्रमलाई न्यूनीकरण गर्न नसक्ने हो भने केही समयपछि यो समस्याले विकराल रूप लिन सक्ने विज्ञहरूको धारणा छ। प्रलोभनमा परी वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश जोखिममा पर्ने निश्चित जस्तै हुने भएकाले यसबारे सरोकारवाला निकाय समयमै गम्भीर हुनुपर्ने आवाज उठेको छ। वैदेशिक रोजगारीको क्रममा आर्थिक र शारीरिक शोषणमा परेको भन्दै विभागमा उजुरी पर्ने क्रम निरन्तर बढ्दै गएको अधिकारीहरू बताउँछन्। कोरोना महामारीपछि प्रलोभनमा पार्दै महिलालाई जोखिमयुक्त मुलुकमा पुर्‍याउने गिरोह सल्बलाउन थालेको आभास भएको उनले बताए। २०७२ को शक्तिशाली भूकम्पपछि पनि महिलालाई प्रलोभनमा पारी जोखिमयुक्त मुलुकमा पुर्‍याउने धन्दा चलेको थियो।  

१४ महिलालाई श्रीलंका पुर्‍याउने पक्राउ

यसैबीच, १४ महिलालाई प्रलोभन देखाएर श्रीलंका पठाउने मोरङ, कटहरी गाउँपालिका–४ घर भई हाल काठमाडौं चक्रपथमा डेरा गरी बस्ने रामकुमार चौधरी पक्राउ परेका छन्। मानव बेचबिखन ब्युरोले ३५ वर्षीय चौधरीलाई पक्राउ गरेको हो। 

चौधरीले २०७३ असार ८ मा १२ महिलालाई आकर्षक तलब पाइने भन्दै श्रीलंका पुर्‍याएर करिब साढे दुई महिना बन्धक बनाएका थिए। लामो समयमसम्म रोजगारी पाउन नसकेपछि स्वदेश फर्केर ती महिलाले प्रहरीमा उजुरी गरेका थिए।

सोही उजुरीको आधारमा चौधरीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। चौधरीसँगै ती महिलालाई श्रीलंका पुर्‍याउने कार्यमा संलग्न चन्द्रप्रकाश राई र सविन शाह यसअघि नै पक्राउ परिसकेका छन्।

प्रकाशित: १३ फाल्गुन २०७७ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App