१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आजदेखि सुरुङमा पानी छिराएर परीक्षण थालिने

फाइल तस्बिर

काकाकुल काठमाडौँ उपत्यकावासीको साढे दुई दशक लामो बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना लगभग पूरा हुने चरणमा पुगेको छ।  

आयोजनाको सबैभन्दा जटिल मानिएको संरचना सुरुङमार्गमा पानी छिराएर परीक्षण गर्ने प्राविधिक तयारी पूरा गरेसँगै मेलम्ची सपना छिट्टै पूरा हुने संघारमा पुगेको हो। आयोजनाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा पानी छिराएर परीक्षण गर्दै छ। योसँगै आगामी चैत अन्तिम सातादेखि वैशाखसम्ममा मेलम्ची पानी उपत्यकावासीको घर–घरमा बितरण हुनेमा अब धेरै द्धिविधा राखिरहनु पर्ने देखिँदैन।  

‘आयोजना अब लगभग पूरा हुन लागेको छ,’ आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले नागरिकसँग भने, ‘सोमबारदेखि सुरुङ परीक्षण थाल्दै छौँ।’ सुरुङ परीक्षण पूरा गर्न दुई महिना समय लाग्ने भए पनि अबको १५–१६ दिनमा मेलम्ची पानी सुन्दरीजलमा झर्ने उनले बताए। खत्रीका अनुसार सुरुङसँगै, सुन्दरीजलमा रहेका प्रशोधन केन्द्र र वितरण पाइप लाइनसमेत परीक्षण गर्नुपर्ने भएकाले चैत अन्तिमदेखि वैशाखसम्ममा उपत्यकावासीले मेलम्ची पानी उपभोग गर्न पाउने छन्।  

‘सुरुङ परीक्षणको सबै प्राविधिक तयारी पूरा भइसकेको छ,’ उनले भने। पानी पथान्तरण (सुरुङ परीक्षण) सुरु गर्न खानेपानीमन्त्री मणि थापा सोमबार मुहानस्थल हेलम्बु आउने उनले जानकारी दिए। आयोजनाले गत असारमै सुरुङ परीक्षण गर्न खोजेको थियो। तर प्राविधिक दुर्घटना निम्तिएपछि त्यतिबेला परीक्षण सफल हुन सकेको थिएन।  

असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएपछि गेटको डिजाइन र जडानमै त्रुटी भएको फेला परेको थियो। गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो। दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिए पनि दुईको ज्यान गएको थियो।  

घटनापछि खानेपानी मन्त्रालयद्धारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित बिज्ञ सम्मिलित छानविन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटी रहेको औँल्याएको थियो। समितिकै छानविन प्रतिवेदनको सिफारिसअनुसार असोजदेखि नयाँ डिजाइनमा गेट जडान गर्ने कार्य थालिएको थियो। पहिला बाहिरबाटै बाहिरै खोल्न मिल्ने गरी गेट जडान गरिएको थियो। अहिले भने बाहिरबाट भित्र खोल्न मिल्ने गरी गेट जडान गरिएको हो।  

आयोजना र दातृ निकायको समन्वयमा जर्मनीबाट झिकाइएको बिज्ञ टोलीले समग्र सुरुङको अवस्था र गेट जडान कार्यको प्रत्यक्ष सुपरीवेक्षण र प्राविधिक अध्ययन पूरा गरेपछि परीक्षण मिति तय गरिएको कार्यकारी निर्देशक खत्रीले बताए। उनका अनुसार सुरुङ भरिन १५–१६ दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन भित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी छ।

सुरुङपछि सुन्दरीजलमा रहेका पानी प्रशोधन केन्द्र परीक्षण थालिने छ। त्यहाँ साढे आठ करोड लिटर क्षमताका दुईवटा केन्द्र छन्। प्रशोधन केन्द्र परीक्षण २४ घण्टामै पूरा हुने आयोजनाले जनाएको छ। तर केन्द्र निर्माणमा संलग्न व्यवसायीलाई तीन महिनाको परीक्षण अवधि रहने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जनाए। ‘परीक्षणमा प्राविधिक समस्या नआए आयोजना सम्पन्न हुन बिलम्ब हुने छैन,’ उनले भने। पूरानो गल्तिबाट सिकेर पुनः गेड जडान लगायत प्राविधिक तयारी पूरा गरिएकाले कुनै समस्या नआउनेमा आयोजना विश्वस्त रहेको उनको भनाईँ छ।  

प्रशोधन केन्द्रमा पानी संकलन भएपछि एक साथ पाइपलाईन परीक्षण र बितरणको काम सुरु गर्ने आयोजनाको तयारी छ। ‘उपत्यकामा धेरै ठाउँमा नयाँ पाइपलाइन बिछ्याइएको छ। कतिपय ठाउँमा पूरानै लाइन छन्। दुबैखाले लाइनको परीक्षण र पानी वितरण सँगसँगै हुन्छ,’ उनले भने। पाइपलाइन परीक्षण गर्दै बितरण गर्दै अघि बढ्नु पर्ने भएकाले सबै उपभोक्ताको घरमा पानी पुग्न एक वर्षसम्म पनि लाग्न सक्ने खत्रीले बताए।  

मेलम्ची सुरुङ दैनिक ५१ करोड लिटर पानी लैजान सकिने गरी बनाइएको छ। पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड लिटर पानी उपत्यका लैजाने तयारी छ। तर परीक्षण चरणमा क्षमताको तीन प्रतिशत अर्थात प्रतिसेकेण्ड तीन सय लिटर पानी सुरुङमा हालिने खत्रीले जनाए। ‘यसले पु¥याउन सक्ने असर अध्ययन गर्न थोरै मात्र पानी छिराउनु परेको हो,’ उनले प्रस्टाए।  

यही सुरुङमार्फत सिन्धुपाल्चोककै लार्के र यांग्री खोलासमेत मिसाएर थप १७÷१७ करोड लिटर पानी लैजाने आयोजनाको तयारी छ। यसका लागि मेलम्ची मुहानसम्म थप नौ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ। यसका लागि प्रारम्भिक कामसमेत सुरु भइसकेको आयोजनाले जनाएको छ। सुरुङ परीक्षणको क्रममा यसअघिको जस्तो दुर्घटना नहोस् भनेर विषेश सावधानी अपनाउँदै उद्धार योजना पनि बनाएको कार्यकारी निर्देशक खत्रीले बताए। 

प्रकाशित: १० फाल्गुन २०७७ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App