नेपाल राष्ट्र बैंकले कोराना प्रभावित व्यवसायलाई राहतस्वरूप उपलब्ध गराएको पुनर्कर्जा सबभन्दा बढी बागमती प्रदेशका उद्योगी, व्यवसायीले लिएका छन्। राष्ट्र बैंकका अनुसार हालसम्म बागमती प्रदेशका उद्योग, व्यवसायलाई १७ अर्ब ३१ करोड ९० लाख रूपैयाँ पुनर्कर्जा प्रवाह गरिएको छ। पुनर्कर्जाको सुविधा धेरै लिनेमा लुम्बिनी प्रदेश दोस्रो नम्बरमा छ।
पुस मसान्तसम्म लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायीले ६ अर्ब ३९ करोड २० लाख रूपैयाँ पुनर्कर्जा लिएका छन्। प्रदेश नम्बर १ मा तीन अर्ब ४३ करोड ९० लाख, गण्डकी प्रदेशमा तीन अर्ब ४७ करोड ९० लाख, प्रदेश नम्बर २ मा एक अर्ब ८३ करोड १० लाख, सुदूरपश्चिम प्रदेशमा ५२ करोड ४० लाख र कर्णाली प्रदेशमा सात करोड ७० लाख रूपैयाँ पुनर्कर्जा गइसकेको राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाले ऋणीलाई ऋण प्रवाह गरेबापत राष्ट्र बैंकसँग कर्जामा शोधभर्ना लिन पाउँछन्। कर्जामा ग्राहकले तीनदेखि पाँच प्रतिशत ब्याज भुक्तानी गरे पुग्छ। पुनर्कर्जाका लागि राष्ट्र बैंकले विभिन्न वित्तीय संस्थालाई एकदेखि तीन प्रतिशत ब्याजमा रकम दिन्छ। राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई सहुलियत दिन पुनर्कर्जाको व्यवस्था गरेको हो। कोरोना प्रभावित उद्योग, व्यवसायमा बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति बढीमा पाँच करोड रूपैयाँ पुनर्कर्जा प्रवाह गर्न पाउने व्यवस्था मिलाइएको छ।
कोरोनाबाट प्रभावित उद्योग, व्यवसायको सजिलोको लागि राष्ट्र बैंकले पुनर्कर्जा कोषमा रहेको रकमको पाँच गुणासम्म रकम प्रवाह गर्ने घोषणा गरिसकेको छ। हाल सोही नीति कार्यान्वयनको क्रममा रहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन्। पुनर्कर्जा कोषमा करिब ४२ अर्ब रूपैयाँ छ। त्यसको पाँच गुणासम्म कर्जा प्रवाह गर्दा दुई खर्ब १२ अर्ब रूपैयाँ हुन्छ। पुनर्कर्जा प्रवाहका लागि बनाइएको कार्यविधि अनुसार कोषको ७० प्रतिशत अर्थात एक खर्ब ४८ अर्ब रूपैयाँ बैंक तथा वित्तीय संस्थाले एकमुष्ठ पाउँछन् ।
त्यस्तै, २० प्रतिशत (४२ अर्ब ५० करोड रूपैयाँ) सिधै राष्ट्र बैंकमा पुग्ने ग्राहकले पाउँछन्। बाँकी १० प्रतिशत (२१ अर्ब २५ करोड रूपैयाँ) लघुवित्त वित्तीय संस्थामार्फत पुनर्कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ। कार्यविधिअनुसार वार्षिक औसत २० प्रतिशतभन्दा बढी प्रतिफल आर्जन गर्ने उद्योगले पुनर्कर्जा सुविधा पाउँदैनन्।
त्यस्तै, पछिल्लो तीन वर्षको मुनाफा औसत पुँजीमा २० प्रतिशतभन्दा बढी प्रतिफल रहेका उद्योग व्यवसायले पनि पुनर्कर्जा नपाउने व्यवस्था गरिएको छ। चुरोट, बिँडी, सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायमा प्रवाह भएका कर्जामा पनि पुनर्कर्जा सुविधा दिइएको छैन। राष्ट्र बैंकका अनुसार हालसम्म सहुलियत ब्याजदरको पुनर्कर्जा सबैभन्दा धेरै होटल र पर्यटन क्षेत्रमा गएको छ। राष्ट्र बैंकका प्रवक्ता भट्ट अहिलेसम्मका विभिन्न सर्वेक्षणले कोरोनाले सबभन्दा बढी पयर्टन र त्यसपछि शिक्षा क्षेत्र प्रभावित भएको देखिएको बताए।
पुस मसान्तसम्म होटलमा पुनर्कर्जाअन्तर्गत १२ अर्ब ५४ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह भएको छ। त्यस्तै, पर्यटनमा एक अर्ब ५२ करोड रूपैयाँ पुनर्कर्जा गएको छ। पुनर्कर्जा धेरै प्रवाह भएका अन्य क्षेत्रमा शिक्षा (दुई अर्ब ४० करोड), निर्माण क्षेत्र (एक अर्ब ६५ करोड ८० लाख), औषधी (एक अर्ब ३९ करोड ८० लाख), हाइड्रोपावर (एक अर्ब ३९ करोड), सिमेन्ट उद्योग (एक अर्ब ३९ करोड), अस्पताल (एक अर्ब १७ करोड रूपैयाँ) हुन्। हालसम्म राष्ट्र बैंकले करिब ८३ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह भएको जनाएको छ।
पुनर्कर्जाका लागि राष्ट्र बैंकले दुईपटक सूचना प्रकाशित गरिसकेको छ। पहिलो चरणमा पुससम्म आवदेन दिएकालाई पुनर्कर्जा उपलब्ध गराएको राष्ट्र बैंकले दोस्रो चरणमा माघ १५ सम्म पुनः आवेदन दिन सूचना जारी गरेको थियो। राष्ट्र बैंकका अधिकारीहरू दोस्रो चरणमा झनै बढी पुनर्कर्जाको रकम प्रवाह हुन सक्ने अनुमान गर्छन्। कोरोना प्रभावितलाई पुनर्कर्जा दिने व्यवस्था अनुरूप विभिन्न क्षेत्रलाई अति, मध्यम र न्यून प्रभावितमा वर्गीकरण गरिएको छ।
प्रकाशित: २१ माघ २०७७ ०४:३७ बुधबार