१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

म्याग्दीका किसानलाई सुन्तलामा घाटा

किसानले करिब ३ करोड गुमाए

म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनामा उत्पादित सुन्तला । तस्बिरः हरिकृष्ण गौतम÷नागरिक

म्याग्दीमा यो वर्ष सुन्तला उत्पादनमा भारी गिरावट आएको छ । टिप्ने बेला भएको सुन्तलाको दानामा सिट्रस फुडफ्लाई (औंसा) नामक किराको प्रकोपले नोक्सानी गर्दा  जिल्लाभर सुन्तलाको उत्पादनमा कमी आएको किसानले बताएका छन् ।  

यो पटक किराकै कारण करिब ७ सय २० टन सुन्तलाका दाना खेर गएको कृषि ज्ञान केन्द्रको अनुमान छ । किराको प्रकोपका कारण ३ करोड रुपैयाँ भन्दा बढी नोक्सानी भएको केन्द्रले बताएको छ । सुन्तलाको पकेट क्षेत्र मानिने जिल्लाका करिब एकदर्जन गाउँमा सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेँलो हुँदै झर्न थालेपछि स्वाद र फलको आकारमा समेत असर गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।  

‘सुन्तलाको दाना टिप्ने बेलामा किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ, उनले भने, ‘प्रकोपले बाहिरी बजारमा जाने सुन्तलाको मुल्यमा पनि असर गरेको छ ।’ जिल्लाको ६ वटै स्थानीय तहको ३ हजार ४५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा २६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष करिब ९ करोड १० लाख रुपैयाँ मुल्य बराबरको सुन्तला उत्पादन भएकोमा ६० देखि ७० प्रतिशत सुन्तला बाहिरी जिल्लामा निर्यात भएको उनले बताए । ‘किराको प्रकोपले सबैतिरका सुन्तलाबारीमा असर गरेको छ, हामीले क्षतीको विवरण संकलन गरी पठाएका छौ,’ पाण्डेले भने ।  

यो पटक म्याग्दीका एकैजना किसानले दुईलाख रुपैयाँसम्मको आम्दानी गुमाएका छन् । म्याग्दीको बेनी नगरपालिकाको भकिम्ली, राखु, मरेक, सिंगाको बास्कुना, सुर्केमेला, थामडाँडा, मंगला गाउँपालिकाको बरंजा, अर्मन, मालिका गाउँपालिकाको ओखरबोट, देविस्थान, बिम र रघुगंगा गाउँपालिकाको बेगखोला, राखु, अन्नपूर्ण गाउँपालिकाको दानाबाट गतबर्ष करिब ११ करोड रुपैयाँको सुन्तला जिल्ला बाहिर निर्यात भएको थियो ।

सुन्तलामा किराको प्रकोपले बाहिरी जिल्लाबाट आउने ब्यापारीले समेत कम मुल्य दिएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले बताए । सुन्तलाको बोटमा औंसा किरा लागेर पाक्न लागेको सुन्तला झरेपछि स्वाद समेत गुमेको भन्दै कम मुल्यमा बिक्री गर्नुपरेको उनले बताए ।  

‘एकदशक यता कृषकले धेरै क्षती बेर्होनुपरेको अवस्था छ,’ उनले भने, ‘क्षती बराबरको राहतको माग समेत माग गरेका छौ ।’ बगैचामा झरेको सुन्तलाको दानालाई संकलनको आधारमा क्षतिपुर्ती दिनुपर्ने किसानको माग छ । म्याग्दीमा एउटै किसानले ८ लाख रुपैयँसम्मको सुन्तला बिक्री गर्ने गरेका छन् । गतवर्ष बास्कुना–सुर्केमेला र थामडाँडा क्षेत्रबाट मात्रै ४० लाख रुपैयाँको सुन्तला बिक्री भएको थियो ।  

‘ए’ र ‘बि’ ग्रेडको सुन्तलाको मुल्यमा समेत ठेकेदारले किराको प्रकापको बाहनामा कम गरको किसानको गुनासो छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ । यसवर्षको क्षतीलाई मध्यनजर गरी पकेट क्षेत्रमा बगैचा विस्तार, सुधार, पुराना बोटको मर्मत, अनुदानलाई प्राथमिकता दिने ज्ञानकेन्द्रले जनाएको छ । 

प्रकाशित: ८ माघ २०७७ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App