२३ फाल्गुन २०७७ आइतबार
अर्थ

क्षेत्रीय विमानस्थल, पोखराको पौरख

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर : उमेश पुन/नागरिक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई निर्माण सक्न दिइएको ‘डेटलाइन’ आगामी जुलाई १० हो। बाहिरबाट झट्ट हेर्दा आयोजनाको गति तीव्र नै देखिन्छ। गौरवका भनिएका अन्यत्रका ठूला आयोजनाको भौतिक प्रगतिमा निकै ढिलाइ भइरहँदा निर्माण थालेको झन्डै ३ वर्षको अवधिमा यो विमानस्थल निर्माणमा भएको प्रगतिलाई पोखरेलीले सन्तोषजनक रूपमै लिएका पनि छन्। किनकि समष्टिगत भौतिक प्रगति पनि करिब ७० प्रतिशत भइसकेको छ।  

कोरोना भाइरस संक्रमणको कहरबीच पनि यो आयोजनाको काम निरन्तर भइरहेको थियो। कोरोनाले पनि नरोकिएको भनेर यो आयोजनाले पहिचान बनाएको पनि हो। यति धेरै काम भइसके पनि तोकिएको समयभित्र विमानस्थल सञ्चालनमा आउन भने मुस्किल छ। कोरोनाकै कारण ठेकेदार कम्पनीका कतिपय चिनियाँ प्राविधिक काममा फर्किन सकेका छैनन् भने केही उपकरण ल्याउनै सकिएको छैन। छिटो गरी उपकरण र प्राविधिक भित्रिए पनि काम सकेर परीक्षण गर्दा उडान सुरु हुन थप समय लाग्नेछ।  

विमानस्थल बनाउन खटिएका चिनियाँ प्राविधिक कोरोनाविरुद्धको खोप नलगाई आउन मानेका छैनन्। त्यस्तै धेरै उपकरण पनि अझै आउनै बाँकी छन्। ती प्राविधिक र उपकरण आउन ढिलाइ हुँदै गएर अरू भौतिक प्रगति सकिए पनि विमानस्थल सञ्चालनको मिति झनै पछाडि धकेलिने आयोजनाका पदाधिकारीको भनाइ छ। भौतिक पूर्वाधार तयार भए पनि आन्तरिक तयारी भने झनै अपुरो छ। त्यसैले पनि तोकिएको समयमा विमानस्थल सञ्चालनमा आउन थप केही समय लाग्ने आँकलन आयोजनाको छ।  

आयोजनाप्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको रन–वे, ट्याक्सी–वे, एप्रोन, ह्यांगरलगायत पूर्वाधार निर्माण भइसकेका छन्। विमानस्थल घेर्ने फेन्सिङ (बार)को काम सुरु भएको छ। त्यस्तै टर्मिनलसहित सबै १४ वटै भवन निर्माण सकिएर अहिले आन्तरिक डेकोरेसनको काम भइरहेको छ। ती भवनमा उपकरण जडानको काम भइरहेको छ। कतिपय उपकरण भने अझै आइपुगेका छैनन्।

‘भौतिक पूर्वाधारका धेरैजसो काम अन्तिम चरणमा छन्,’ मुनकर्मी भन्छन्, ‘तापनि तोकिएको समयमा विमानस्थल सञ्चालनमा आउन भने कठिन छ। किनकि भौतिक पूर्वाधारको तयारीले मात्र पुग्दैन। हाम्रो आन्तरिक तयारी पनि कमजोर छ। आन्तरिक रूपमा हुनुपर्ने केही काम बाँकी नै छन्।’ कोरोनाबीच पनि विमानस्थल बन्ने कामले निरन्तरता पाएको भए पनि कतिपय बाह्य रूपमा हुनुपर्ने काममा भने ढिलाइ भएको उनले बताए। उनका अनुसार विमानस्थलनजिकै रहेको ल्यान्डफिल साइट सार्न बाँकी नै छ। ल्यान्डफिल साइटका कारण विमानस्थल क्षेत्रमा चराको बथान आउने गरेको छ।  

त्यसैले चराको जोखिमबाट जोगाउन पनि ल्यान्डफिल साइट सार्नुपर्छ। पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट सार्न उत्तिसारो हतारो गरेको नदेखिँदा विमानस्थल तयार भए पनि सुचारु हुन थप समय लाग्ने अनुमान उनको छ।  

त्यस्तै विमानस्थलको धावनमार्ग नै डुबाउने गरी वर्षामा पस्ने ढल व्यवस्थापनको काम पनि भएको छैन। विमानस्थल बाहिरबाट पसेको भेलले विमानस्थल क्षेत्र नै डुबाउने गरेको छ। विमानको उडान र अवतरणलाई सुरक्षित बनाउन लेखनाथको रिट्टेपानीस्थित डाँडाको ४० मिटर उचाइ काट्नुपर्छ। डाँडाको कटान गर्न मात्र कम्तीमा ६ महिना लाग्छ। डाँडा कटानको अनुमति प्रक्रिया अझै पूरा भएको छैन। डाँडा कटानका लागि इआइएको काम भइरहेको छ।  

‘हेर्दा विमानस्थलको भौतिक प्रगति राम्रो भएको छ। तर सञ्चालनमा आउँदाको दिनका लागि अरू तयारी भएको छैन। सम्बन्धित निकायले नाला व्यवस्थापन, ल्यान्डफिल साइट सार्नेलगायत काममा सघाउनुपर्छ,’ मुनकर्मी भन्छन्, ‘विमानस्थल तयार भएर मात्र पुग्दैन। सधैंका लागि सुरक्षित उडान र अवतरण हुनुपर्छ। उपकरण जडान गरेपछि पनि परीक्षणका लागि केही समय लाग्छ। त्यसैले विमानस्थल सञ्चालनमा आउँदा २०२२ जनवरी लाग्ने आँकलन छ।’

अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ वैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए। शिलान्यासको डेढ वर्षपछि बल्ल विमानस्थलको पूर्वाधार बनाउन थालिएको थियो। विमानस्थल चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले बनाइरहेको छ। विमानस्थल बनाउने जिम्मा पाएको चिनियाँ कम्पनीले अहिलेसम्म तोकिएको समयमा काम नसकिने भनेर म्याद थप्नसमेत भनेको छैन। आवश्यक जनशक्ति र उपकरण आउने हो भने अहिलेको गति झनै बढेर ६ महिनाभित्र निर्माणका काम सक्न कुनै कठिन पनि होइन तर त्यहीअनुसार जनशक्ति र उपकरण आइपुग्ने अवस्था भने छैन। ‘केही गरी निर्माण कम्पनीले विमानस्थल बनाएर हस्तान्तरण गरेको खण्डमा पनि उडान सुरु गर्न अर्काे ६ महिना लाग्छ,’ उनले भने, ‘ठेकेदार कम्पनीले काम सकिसक्दा हाम्रो आन्तरिक तयारीले पनि तीव्रता पाउनुपर्ने हो।’  

आयोजनाप्रमुख मुनकर्मीका अनुसार अहिलेसम्म २५ सय मिटर लम्बाइ, ४५ मिटर चौडाइ र ३४ सेन्टिमिटर बाक्लो धावनमार्ग तयार भएको छ। त्यस्तै प्रतिघण्टा ६ सय १० जना यात्रु आउजाउ गर्नसक्ने क्षमताको टर्मिनल भवन बनिसकेको छ। विमानको पार्किङ स्थल (एप्रोन) पनि तयार भइसकेको छ। पार्किङ स्थलमा ३ ठूला र ८ (चारवटा एटिआर–७२ र ४ साना) आन्तरिक उडानका गरी ११ वटा विमान पार्किङ गर्न सकिने ठाउँ छ। विमानस्थलले २ लाख ८० हजार विदेशी र ५ लाख २० हजार स्वदेशी गरी वर्षमा ८ लाख यात्रुलाई सेवा दिने आयोजनाको प्रक्षेपण छ। पोखराबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ वटा आन्तरिक उडान हुने पनि आयोजनाको अनुमान छ। खासमा यो विमानस्थलमा १ सय ६० यात्रु क्षमताको विमानले उडान र अवतरण गर्न सक्छन् भन्ने अनुमान सुरुमा थियो। तर, एयरलाइन्सले बजार खोज्ने क्रममा उपयुक्त देखेमा विमानमा केही प्रविधि थपेर २ सय यात्रुसम्म बोकेर पोखराबाट उडान र अवतरण गर्न सक्नेछन्।  

वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र विमान अवतरण गर्न सक्छन्। पूर्वतिरै फर्केर टेकअफ गर्नेगरी विमानस्थल बन्दै छ। विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो। विमानस्थल बनाउन झन्डै २२ अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ। यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रूपमा लिने सहमति भएपछि विमानस्थलले गति लिएको थियो।

प्राधिकरण र सिएएमसिईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन) को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ। चार दशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो। त्यसले नपुगेपछि थप जग्गा अधिग्रहण गरेर अहिले ३ हजार ८ सय ९९ रोपनी जग्गा पुगेको छ।  

पोखरेलीको आशाको केन्द्र

पोखरामा निर्माणाधीन यो विमानस्थलप्रति यहाँका पर्यटन व्यवसायीको ठूलो भरोसा छ। विमानस्थल बनाउन दबाब दिन पोखरेलीले यहाँ लामो समय अनशन पनि बसेका थिए। व्यवसायीले विमानस्थल निर्माणले पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म सिधा तरिकाले जोड्ने भएकाले त्यहीअनुसार पाहुना आउने अपेक्षा पनि गरेका छन्। ‘पोखराले विमानस्थल बनाएर गजबको गहना तयार पारेको छ। विमानस्थलले हामी सबैलाई आशावादी बनाएको छ,’ पर्यटन व्यवसायी दीपकराज अधिकारी भन्छन्, ‘पोखराको यो विमानस्थल साँच्चैको गहना हो। विमानस्थल सञ्चालन भएर अन्तर्राष्ट्रिय उडान थालेको दिन पोखराको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण हुनेछ।’ केही दिनअघि मात्र विमानस्थलको भौतिक संरचना अवलोकन गर्न पाएका अधिकारीले भने, ‘विमानस्थल बन्दैन कि भनेर लामो संघर्ष गरेको कथा पोखरासँग छ। पोखराको यो विमानस्थलप्रति पोखरेलीले मात्र नभई समग्र मुलुकको पर्यटन क्षेत्रले आस गर्ने ठाउँ राख्ने उनले बताए। विमानबाट ओर्लेर उत्तरतिर फर्केर खुलेको हिमाली शृंखला देख्न पाउँदा लामो उडानपछि पोखरा आएका पाहुनाले गज्जब अनुभूति गर्न पाउने अधिकारीको भनाइ छ।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका उपाध्यक्ष धर्मराज पन्थी पनि पोखराले अन्तर्राष्ट्रिय विमानस्थल बनाएर ठूलो उपलब्धि कमाएको बताउँछन्। ‘विमानस्थल त बनेको छ तर अब विमानस्थलसम्मको पहुँचलाई सहज हुनेगरी पूर्वाधार तयार पार्नुपर्छ,’ पन्थीले भने, ‘कोरोना कहर सकिने बेलासम्म विमानस्थल सञ्चालनमा आए पक्कै विदेशी पाहुनलाई पोखरा भित्र्याउन सकिनेछ।’ विमानस्थल तयार भइसक्नुपर्ने बेलामा पनि पहुँचका अरू पूर्वाधारको भने बन्ने तरखर अझै सुरु नभएकामा पन्थीले चिन्ता जनाए। ‘पोखरा निकै नै साँघुरो भइसकेको छ। हिजोसम्म विमानस्थल बन्दैन कि भनेर चिन्ता थियो। अब विमानस्थल तयार हुनै लागेको छ,’ उनले भने, ‘अब भने विमानस्थलसम्म सहज पहुँचका लागि फराकिलो सडक, पुलजस्ता पूर्वाधार आवश्यक पर्छ।’

पोखरामा अहिले धेरै व्यवसायीले होटल बनाइरहेका छन्। ती व्यवसायीको लक्ष्य पनि विमानस्थल तयार हुन्जेल होटल सञ्चालन गर्ने छ। कोरोनाका कारण मारमा परेको पर्यटन क्षेत्र उकासिन केही समय लाग्ने भएकाले त्यो बेलासम्म विमानस्थल तयार भएर सञ्चालनमा आउनसक्ने अवस्था भएमा लाभ पाउन सकिने पर्यटन व्यवसायी बताउँछन्। ‘अहिले कोरोनाको त्रास छ। तापनि यो बेला व्यवसायीले होटलमै लगानी गरेका छन्। ती व्यवसायीको लगानी पनि त्यही विमानस्थल सञ्चालनमा आउँदाको दिनको पर्खाइमा हो,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘कोरोना सकिने, विमानस्थल सञ्चालनमा आउने र होटल पनि तयार गर्ने लक्ष्यका साथ व्यवसायी लगानीमा जुटेका छन्।’ उनका अनुसार अहिले पोखराका धेरै व्यवसायीले होटल क्षेत्रमा लगानी विस्तार गर्न थालेका छन्। नयाँ पूर्वाधार थप्नेदेखि क्षमता विस्तारमा जुटेका व्यवसायी विमानस्थल सञ्चालनको दिनको सुखद पर्खाइमा रहेको उनले बताए। 

सो विमानस्थलमा रात्रिकालीन उडान हुने भएकाले त्यसको लाभ पनि व्यवसायीले देखेका छन्। हाल सेवा दिइरहेको विमानस्थलबाट रात्रिकालीन उडान हुँदैन। रात्रिकालीन उडान सुरु हुँदा पोखरामा आन्तरिक पाहुनाको आगमन बढ्ने अपेक्षा पनि व्यवसायीको छ। ‘नेपालका सीमावर्ती क्षेत्रबाट पोखरासम्म सिधा उडान गर्न सकिने भएकाले पनि विमानस्थलको पर्खाइ हाम्रा लागि महत्वपूर्ण छ,’ पराजुली भन्छन्, ‘अन्तर्राष्ट्रिय उडान सानो आकारमा हुनसक्छ। तर आन्तरिक उडानको दायरा फराकिलो हुँदा पाहुनालाई भने पोखरा आउन सहज बनाउनेछ। नयाँ विमानथस्थल तयार भएपछि विराटनगर, नेपालगन्ज, भैरहवासम्म रात्रिकालीन उडान हुँदा फाइदा व्यवसायीलाई नै हुनेछ।’  

अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक गन्तव्यसँगै छिमेकी मुलुक चीन र भारतसम्मका केही गन्तव्यलाई पनि जोड्नसक्ने भएकाले पर्यटनमै लाभ पुग्ने व्यवसायीको भनाइ छ। संघका केन्द्रीय सदस्य पराजुलीले विमानस्थलले भौतिक पूर्वाधारमा गति लिएको भए पनि अब आन्तरिक पूर्वाधारमा सरकारको ध्यान पुग्नुपर्ने बताए। ‘पहुँचमा समस्या छ। अब ढिलाइ नगरी विमानस्थलसम्मको पहुँचको काम बढाउन थाल्नुपर्छ,’ उनले भने, ‘त्यसबाहेक विमानस्थललाई तोकिएको समयभित्र सञ्चालनमा ल्याउनका लागि आवश्यक पूर्वाधार बनाउका लागि स्थानीय र प्रदेश सरकारले पनि चासो लिन जरुरी छ।’

प्रकाशित: ७ माघ २०७७ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App