coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गरे बापत दिएको कमिसन अपुग भएको भन्दै लिटरमा ५० रुपैयाँ थप गरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने घोषणा गरेका पेट्रोलियम व्यवसायीले तत्कालका लागि आन्दोनलको कार्यक्रम स्थगित गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले माघ १ गतेबाट डिजेल र पेट्रोलको बिक्री मूल्य लिटरमा ५० पैसा थप गरेर बिक्री गर्ने घोषणा गरेको थियो ।

कमिसन वृद्धिका लागि सरोकारवाला निकायसँग छलफल भैरहेको भन्दै  एसोसिएसनले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी थप मूल्य लिने कार्यक्रम स्थगित गरेको जनाएको छ । एसोसिएनले आगामि माघ ७ गते केन्दीय समितिको बैठक बसेर थप निर्णय गर्ने महासचिव विश्व अर्यालले प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

कमिसन चार वर्षदेखि नबढाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको व्यवसायीको गुनासो छ । एसोसिएसनले पेट्रोल, डिजेल बिक्री गर्दाको कमिसन बढाउनुपर्ने माग राख्दै आएका छ । अहिलेसम्म निगम पम्प सञ्चालकलाई पेट्रोलमा ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन दिँदै आएको छ । व्यवसायीले डिजेलमा ४ प्रतिशत र पेट्रोलमा ४.५ प्रतिशत कमिसन बढाउन माग गरेका छन् ।

व्यवसाय घाटामा गएपछि पटक–पटक निगमको ध्यानाकर्षण गराउँदा पनि मागको सुनुवाई नभएको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । आयल निगमले तोकेको मूल्यका आधारमा पेट्रोलियम पदार्थको बिक्री गर्दै आएका थिए । मुलुकभर करिब १५ सय पम्प रहेका छन् । निगमले तोकेको सञ्चालन खर्चबाट व्यवसाय सञ्चालन गर्न नसकेको उनीहरुको दाबी छ ।

कारोबारको अवस्थाको आधारमा विज्ञ समूहले कमिसन बढाउन प्रतिवेदन पेस गरे पनि निगमले बेवास्ता गरेको व्यवसायीको आरोप छ । विज्ञ समूहले बिक्रेताको दुई  तहमा बर्गिकरण गरेर कमिसन बढाउन सिफारिस गरेको थियो । मासिक न्यूनतम ६१देखि एक सय २० किलोलिटर बिक्री गर्ने पम्पलाई डिजेलमा ३.१२ प्रतिशत र पेट्रोलमा ३.३९ प्रतिशत कमिसन दिन सुझाव दिएको थियो । त्यसैगरी, मध्यमस्तर एक सय २१ किलोलिटरदेखि एक सय ८० किलोलिटर मासिक  डिजेल बिक्री गर्नेलाई ३.१२ प्रतिशत र पेट्रोलमा ३.४० प्रतिशत कमिसन दिन सुझाएको थियो ।

विज्ञ समूहले सिफारिस गरेको कमिसनबाट उपभोक्तालाई भार नपर्ने एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालको तर्क छ । ‘विज्ञ समूहले सिफारिस गरेको कमिसन निगमले कार्यान्वयनमा ल्याउनु पर्छ, उनले भने, ‘सुनुवाई नए अन्य आन्दोलनका कार्यक्रम सार्वजनकि गर्छौं ।’

‘पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५’ अनुसार व्यवसायीले आफू खुशी मूल्य निर्धारण गर्न पाइँदैन । निगमको तोकेको भन्दा बढी मूल्य लिए निगमले नियम अनुसार कारबाही गर्ने बताएको छ ।

सञ्चालनमा रहेका पम्प मध्ये ३५ प्रतिशत पम्प मात्रै नाफामा रहेको व्यवसायी बताउँछन् । मुलुकभरका पेट्रोलपम्पले दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल खपत हुन्छ । विदेशको तुलनामा नेपालमा कमिसन दर न्यून रहेकाले पनि बढाउनु पर्ने तर्क छ । भारतमा पेट्रोलमा ४.१ प्रतिशत र डिजेलमा ३.१३ देखि ३.४ प्रतिशतसम्म कमिसन दिँदै आएको एसोसिसनको दाबी छ । पेट्रोलियम कारोबार गरे बापत पाकिस्तान र चीनमा ४–४ प्रतिशत, श्रीलंका र अमेरिकामा ५–५ प्रतिशत कमिसन पाउने गरेको बताउँछन् ।

निगम र एसोसिएसनले मुलुकभरका पम्पको अध्ययन गरेर बिक्रीको आधारमा बर्गिकरण गरेका छन् । पेट्रोल पम्पलाई क, ख, ग, घ र ङ गरी पाँच वर्गमा विभाजन गरिएको छ । दैनिक चार हजार लिटर पेट्रोल र चार हजार दुई सय लिटर डिजेल बिक्री गर्ने दुई सय पम्पलाई ‘क’ वर्गमा वर्गीकरण गरिएको छ । ‘क’ वर्गका पम्प नाफामा रहे पनि अन्य पम्प घाटामा रहेको एसोसिएसनको तर्क छ ।

दैनिक एक हजार चार सय लिटर पेट्रोल र चार हजार पाँच सय लिटर डिजेल बिक्री गर्ने पाँच सय नौ पम्प ‘ख’ वर्गमा रहेका छन् । त्यसैगरी, पेट्रोल बिक्री नगर्ने, तर दैनिक ६ हजार लिटर डिजेल बिक्री गर्ने एक सय ४१ पम्प ‘ग’ वर्गमा, दैनिक पाँ सय लिटर पेट्रोल र दुई सय लिटर डिजेल बिक्री गर्ने तीन सय १० पम्प ‘घ’ वर्गमा रहेका छन् । त्यसैगरी, दैनिक दुई हजार पाँच सय लिटर डिजेल बिक्री गर्ने ती सय पम्प ‘ङ’ वर्गमा वर्गीकरण गरिएको छ ।  

प्रकाशित: १ माघ २०७७ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App