१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विदेशकै जस्तो बेलहिया–बुटवल सडक

पहुँच

६ लेनको फराकिलो सडक । दाँयाबाँया सर्भिस लेन । पैदल यात्रुका लागि दुवैतर्फ फुटपाथ । मुख्य र सर्भिस लेनको बिचमा बनाइएको हरियाली फूलबारी । ठाउँठाउँमा बाटो क्रस गर्न बनाइएका अपांगमैत्री आकासे पुल । सडक बिचमा ५० मिटरको दूरीमा राखिएका सडक बत्ती । र साथमा सडक किनारमै अत्याधुनिक सार्वजनिक सौचालय । झट्ट हेर्दा यो विकसित मुलुकको राजमार्गजस्तो देखिन्छ । तर यो हो, हाम्रै व्यापारिका मार्ग बेलहिया–बुटवल सडक ।

नेपाल र भारतबीचको दोस्रो ठूलो व्यापारिक नाका बेलहिया (सुनौली) जोड्ने यो सडकलाई फराकिलो बनाएर व्यापार सहजीकरण गर्ने उद्देश्यले सरकारले यसको निर्माण गरेको हो । भारतसँगको व्यापारसँगै यो सडकले देशकै पुरानो औद्योगिक नगरीमध्येको एक भैरहवा र पश्चिम नेपालकै व्यापारिक केन्द्र बुटवललाई जोडेको छ ।

२०६८/६९ मा निर्माण सुरु भएको बेलहिया–बुटवलको साढे २७ किलोमिटर सडक ६ लेनमा स्तरोन्नति भएपछि दुई सहरमा पुग्ने समयको दूरी कम भएको छ । सवारी आवागमनलाई सहज बनेको छ । देशकै दोस्रो ठूलो व्यापारिक नाका बेलहिया हुँदै भित्रिएका अर्बौंका मालसामान यही सडक हुँदै देशका विभिन्न जिल्लामा पुग्छन् ।

२०२९ सालमा बनेको सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवा–बुटवल सडक सात वर्ष अघिसम्म दुई लेनको थियो । न फुटपाथ थियो न सर्भिस लेन । न सडक वारपार गर्न आकासे पुल । सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना र सडक किनार ओगटेर गरिने व्यापार व्यवसायले पनि बुटवल–भैरहवाको यात्रा बेलाबखत कष्टकर बन्ने गथ्र्यो । सडकमा मालबाहक गाडीको चाँप र धुलोधुवाले सवारी आवागमनसँगै सडक किनारका स्थानीयलाई पनि सास्ती थियो । तर, सोही सडक ६ लेनमा स्तरोन्नति भएपछि अहिले भैरहवा–बुटवल क्षेत्रको स्वरुप बिल्कुल फेरिएको छ । यात्रा आरामदायी त बनेको छ नै बुटवल–भैरहवाको सौदर्यकरणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

२०६८/६९ मा निर्माण सुरु भएको बेलहिया–बुटवलको साढे २७ किलोमिटर सडक ६ लेनमा स्तरोन्नति भएपछि दुई सहरमा पुग्ने समयको दूरी कम भएको छ । सवारी आवागमन सहज बनेको छ ।

सडक विस्तार भएपछि भैरहवा–बुटवलको सडकले सुविधा सम्पन्न सहरको यात्राको झल्को दिने अनुभव सुनाउँछन् सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष अरुण गोयन्का । पहिलेको तुलनामा भैरहवा–बुटवलको यात्रा आरामदायी र छोटो बने पनि औद्योगिक र व्यावसायिक विकासको गति अनुरुप सडकको गुणस्तर र मापदण्ड कायम हुन नसकेकामा भने उनले चिन्ता व्यक्त गरे । ‘तत्कालका लागि यो ठिक छ । तर औद्योगिक व्यावसायिक विकासको गति अनुरुप अहिले निर्माणाधिन सडकले २५ वर्षपछि थेग्दैन,’ उद्योगी गोयन्काले भने । त्यसो त ६ लेन सडकले बुटवल–भैरहवाको दूरी मात्रै छोटाएको छैन, लगानीका ढोकाहरू पनि बिस्तारै खोल्दै लगेको छ । ६ लेन सडकले दुई ठूला सहरको बिचमा रहेको तिलोत्तमामा चौतर्फी सम्भावनाका ढोका खोलिदिने विश्लेषण छ अर्थ विश्लेषक मनिकर कार्कीको ।

‘पर्याप्त खाली जग्गा, खेतीयोग्य उर्बर जमिन, बढ्दो आवादी, भित्री बस्तीहरूमा पुगेका बाटाघाटा, अन्डरग्राउन्ड खानेपानीको पर्याप्त स्रोत आदिका कारण तिलोत्तमामा लगानीका सम्भावना र आकर्षण बढ्दै गएको कार्कीले बताए । सडक सुविधाको पहुँचका आधारमा मात्रै सहर विकास हुने क्रम बढेको भन्दै उनले दिगो सहरी विकासका लागि प्राकृतिक स्रोतसाधनको संरक्षणसहितको उपयोगिता र उचित व्यवस्थापनमा भने विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘अब दुई सहरलाई जोडेर मेघा सिटी या महानगरको अवधारणामा जानुपर्छ भन्ने सन्देश ६ लेन सडकले उजागर गरिदिएको छ,’ कार्कीले भने । त्यसो त धेरै पहिलेदेखि चर्चा चलेपनि राजनीतिक स्वार्थका कारण बन्न नसकेको महानगरको अवधारणालाई साकार पार्न ६ लेन सडकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास धेरैले लिएका छन् ।

६ लेन सडकले सवारी आवागमनमा सहजतासँगै उद्योग व्यापार पनि ह्वात्तै फष्टाएको छ । ठूला होटल रेस्टुरा, व्यापारिक कम्प्लेक्स, ठूला व्यापारिक फर्म तथा उद्योग व्यवसाय तिलोत्तमा क्षेत्रमा विस्तार भइरहेका छन् । ६ लेन सडकको दायाँबायाँ बुटवलदेखि भैरहवासम्मै बजार क्षेत्र विस्तार भएको छ । भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने बेलहिया नाकालाई ६ लेन सडकले जोडेकाले पर्यटन क्षेत्रमा लगानी बढेको छ । सुबिधासम्पन्न सडकसँग जोडिएको शान्त र हरियाली क्षेत्र पर्यटकको रुचिमा पर्ने भएकाले तिलोत्तमा क्षेत्र पर्यटन व्यवसायीको रोजाइमा परेको बताउँछन् तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की ।

देशका मुख्य भन्सार नाकाहरूमा सवारी आवागमन सहज बनाउँदै व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले करिब एक दशकअघि व्यापारिक मार्ग विस्तार योजना ल्याएको थियो । सोही परियोजनअन्तर्गत देशकै दोस्रो ठूलो भैरहवा भन्सार रहेको बेलहिया नाकादेखि बुटवलसम्मको २७.५ किलोमिटर सडकलाई ६ लेन सडकमा स्तरोन्नति गरिएको हो ।

ढिलासुस्ती र लापरबाही उस्तै

पाँच वर्षमा निर्माण सक्ने गरी २०६८÷६९ मा सुरु भएको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको काम आठ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । साढे २७ किलोमिटर सडकमध्ये हालसम्म २०.४५ किलोमिटर सडक निर्माण सकिएको अयोजना प्रमुख जयलाल मरासिनीले बताए । उनका अनुसार बाँकी सडक दुई वर्षमा सक्ने लक्ष्य छ । आयोजनाको समय लम्बिदा सुरुको तीन अर्ब ५० करोड लागत स्टिमेट बढेर अहिले पाँच अर्ब ९२ करोड पुर्‍याइएको छ । त्यसमध्ये पाँच अर्ब ५० करोड खर्च भइसकेको छ । आयोजनाको समय यसअघि नै चार वर्ष लम्बिइसकेको छ । सम्झौता अनुरुप काम नगर्ने ठेकेदारलाई समयमै कारबाही गर्ने परिपाटी कार्यान्वयन नहुँदा परियोजनाको काममा ढिलाइ भएको हो । बहुवर्षे ठेक्का आयोजना अनुरुप पाँचवटा ठेकेदार कम्पनीले सडक र एउटा कम्पनीले आकासे पुलको ठेक्का पाएका थिए ।

बिरुवा श्रेष्ठ एपेक्स जेभी, टि.सि.आइ.एल, कालिका रायमाझी जेभी, द कंचनजंघा बिरुवा जेभी र बिरुवा कन्स्ट्रक्सनले यो सडक निर्माणको ठेक्का लिएका हुन् । यी मध्ये कुनैपनि ठेकेदारले निर्धारित समयमा त काम सकेनन् नै चार पटकसम्म म्याद थपिएको छ । सुरुका दुई वर्ष मुआब्जा बिबादका कारण आयोजनाले गति लिन सकेन । काम सुरु भएपछि पनि ठेकेदारको लापरबाही र ढिलासुस्तीप्रति आयोजनाले आँखा चिम्लिदिँदा आठ वर्षमा जम्मा २०.४५ किलोमिटर सडक बनेको छ । सिमानाका बेलहियामा सात सय ५० मिटर सडक साढे दुई वर्षअघि नै भत्काइएको हो । सो खण्डको ठेक्का लिएको बिरुवा कन्स्ट्रक्सनको दोस्रो पटक थपिएको म्याद यही चैतमा सकिँदैछ । आयोजनाका इन्जिनियर सुवेक्षा सारुले बेलहिया क्षेत्रमा प्राइम सकेर कालोपत्रे गर्ने तयारी रहेको बताइन् ।

अञ्चलपुर–लखनचोकसम्मको २.८ किलोमिटर क्षेत्रमा सर्भिसलेनको काम बाँकी छ । यसको ठेक्का बिरुवा श्रेष्ठ एपेक्स जेभीको हो । निर्माण सकिएको भनिएको क्षेत्रमा पनि नाला र फुटपाथ व्यवस्थापन गरिएको छैन । अधिकांश स्थानमा फुटपाथ बनाइएकै छैन । भैरहवा क्षेत्रमा सडक बनेको दुई वर्ष नबित्दै पोहोर नै भत्किएको हो । कमसल निर्माण सामग्री प्रयोग गरी बनाइएकाले निर्माण सम्पन्न नहुँदै सडक धस्किएको भैरहवाका स्थानीयको दाबी छ । तर, आयोजनाका इन्जिनियर सारुले भने सडक भत्किएका सम्बन्धमा अनुसन्धान भइरहकेको र यसको वास्तविक कारण केलाएर आवश्यक कारबाही अगाडि बढाइने बताइन् ।

अवरोध सर्वोच्चले खोलिदियो

बुटवलको बजार क्षेत्रमा पर्ने ३.५ किलोमिटर सडक स्थानीयको अवरोधकै कारण निर्माण सुरु हुन सकेको थिएन । चार लेन सडक रहेको बजार क्षेत्रका केही स्थानीयले आयोजनाविरुद्ध मुद्दा मामिला गरिदिएपछि दुई वर्षदेखि आयोजनाको काम ठप्प थियो । बुटवल राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर सडक विस्तारबिरुद्ध बुटवलका २४ घरजग्गा धनिले सुरुमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दिएका थिए । उच्च अदालतले २०७६ साउनमा कानुन बमोजिम जग्गाधनिलाई मुआब्जा वितरण गरेर सडक विस्तार गर्नु भन्ने आदेश दियो । त्यसपछि पनि मुआब्जा नपाएको भन्दै जग्गाधनि फेरि सर्वोच्च गए । सर्वोच्चले पनि सो मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासकै आदेशलाई अल्पकालीन आदेशका रुपमा गत असारमा ९ मा सदर गरेपछि बाटो विस्तारको काम पुनः रोकियो । तर यही पुस २० गते मुद्दाको सुनुवाइ गर्दै न्यायाधीसद्वय सपना प्रधान मल्ल र मनोज कुमार शर्माको संयुक्त इजलासले सम्बन्धित जग्गाका सम्बन्धमा निवेदकहरूले हाल साविक गराइ नयाँ जग्गाधनि प्रमाण पूर्जा लिएको भन्ने कुरा उल्लेख भएको देखिँदा २०७७–३–९ को अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्नु परेन’ भन्ने फैसाला गरिदियो ।

सडक क्षेत्र (८२ फुट) भित्र पर्ने घरटहरा भत्काएर बाटो विस्तार गर्ने पक्षमा सर्वोच्चले निर्णय गरिदिएपछि आइतबार बिहानै सडकको क्षेत्राधिकार मिचेर बनाइएका घरहरू भत्काइएको छ । घरधनिलाई सडक मिचेर बनाइएका घर भत्काउन २४ घण्टे अल्टिमेटम दिँदा पनि नमानेपछि कानुन बमोजिम डोजर लगाएर भत्काइएको आयोजना प्रमुख मरासिनीले बताए । आयोजनाले पहिलो चरणमा राजमार्ग चौराहदेखि ट्राफिकचोकसम्मका ९४ घरमा डोजर लगाइसकेको छ । दोस्रो चरणमा गोलपार्क क्षेत्रमा घर भत्काउने तयारी गरेको बुझिएको छ । अझै पनि घर भत्काउन अटेरी गरियो भने पुनः डोजर लगाएर सफा गर्नेछौं,’ आयोजना प्रमुख मरासिनीले भने ।

राजमार्ग चौराहदेखि साढे तीन किलोमिटर सडकको ठेक्का द कञ्चनजंघा बिरुवा जेभीले दुई वर्षअघि नै पाएको हो । स्थानीयको अवरोधका कारण काम गर्नै नपाइ उसको ठेक्का अवधि सकिएको छ । ठेक्का निरन्तरता दिने गरी ठेकेदारसँग आवेदन माग गरिएको र अब छिटै काम सुरु हुने आयोजना प्रमुख मरासिनीले बताए ।

नौ आकासे पुल सम्पन्न, पाँच बन्ने क्रममा

साढे २७ किलोमिटरको ६ लेन सडकमा नौ आकासे पुल निर्माण सम्पन्न भइसकेका छन् । महादेव खिम्ति एसियाटिक महेश जेभीले पुल निर्माण गरेको हो । थप पाँच पुल निर्माण गरिने अयोजनाले जनाएको छ । अब थपिने पाँच आकासे पुल यसअघि बनाइएका पुलको भन्दा फरक डिजाइनका बन्ने भएकाले त्यसको फाइनल डिजाइन स्वीकृत भएपछि निर्माण सुरु गर्ने व्यापारिक मार्ग आयोजना बेलहिया बुटवलका इन्जिनियर सारुले बताइन् ।

प्रकाशित: २९ पुस २०७७ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App